PahiloPost

May 15, 2024 | २ जेठ २०८१

साग तयारीको चटारोः करातेको पदक संख्या बढाउनेमा प्रशिक्षक आशावादी

साग तयारीको चटारोः करातेको पदक संख्या बढाउनेमा प्रशिक्षक आशावादी

मुकुन्द घिमिरे/पहिलोपोस्ट


काठमाडौं: दक्षिण एसियाली खेलकुद (साग) नजिकिँदै गर्दा खेलाडीहरुको प्रशिक्षण पनि धमाधम चलिरहेको छ। सातदोबाटोस्थित खेलकुद कभर्ड हलमा बिहान ७ बजेदेखि कराते खेलाडीहरुको प्रशिक्षण सुरु हुन्छ। नयाँ बनेको कभर्ड हलमा खेलाडीहरु अभ्यासमा व्यस्त छन्। बन्द प्रशिक्षणका क्रममा बिहान ७ बजेदेखि ९ बजेसम्म फाइट र ९ बजेदेखि ११ बजेसम्म काटा प्रशिक्षण हुन्छ। त्यस्तै बेलुकी पनि ३ बजेदेखि ५ बजेसम्म फाइट तथा ५ बजेदेखि ७ बजे काटा प्रशिक्षण हुने गर्छ।

अन्तर्राष्ट्रिय खेलकुदमा पदकको खडेरी लागेका बेला करातेले दक्षिण एसियाली खेलकुदमा पदक ल्याउन सक्ने करातेका मुख्य प्रशिक्षक मदन उप्रेतीको विश्वास छ। करातेले आठौं सागमा १४, नवौंमा १, दशौंमा २ तथा एघारौंमा ३ स्वर्ण पदक जितेको थियो। ‘तयारी आठौं पछिकै राम्रो छ, उत्कृस्ट खेलाडीहरु क्याम्पमा भएकाले पनि तयारी राम्रो छ,’ करातेका मुख्य प्रशिक्षक मदन उप्रेतीले भने, ‘हाम्रा खेलाडी राम्रा छन, तयारी राम्रो छ, यद्यपि समय कम भएकै हो।’

अहिले क्याम्पमा एक सय आठजना खेलाडी छन्। आठौं राष्ट्रिय खेलकुदका पहिलो, दोश्रो र तेस्रो भएका खेलाडीलगायत साफबाट पदक हासिल गरेका खेलाडी, राखेप च्याम्पियनसिपमा उत्कृष्ट भएका खेलाडीहरु तथा कराते संघले छानेका उत्कृस्ट खेलाडीहरु अहिले क्याम्पमा छन्। यिनै एक सय आठ उत्कृष्ट खेलाडीहरुबाट ३२ जना खेलाडीहरु दक्षिण एसियाली खेलकुदका लागि छनोट हुने मुख्य प्रशिक्षक उप्रेतीले बताए।

करातेका मुख्य प्रशिक्षक मदन उप्रेती

मार्सल आर्ट, कराते, फुटबल लगायतका खेलहरु मानसिकमात्र नभइ शारीरिक परिश्रम पनि पर्ने खेलहरु हुन्। त्यसैले यी खेलहरुमा जति कौशल र प्रशिक्षणको आवश्यकता पर्छ, त्यति नै पोषण र स्वास्थ्यको पनि। विगतमा बन्द सत्र चल्दै गर्दा खेलाडीको खान्कीलाई लिएर असन्तुष्टिहरु बाहिरिने गर्थे। यसपटक भने पोषणमा परिषदले ध्यान पुर्‍याएको प्रशिक्षक उप्रेतीले बताए। ‘पोषणमा यसपटक खेलकुद परिषदले शोषण गरेको छैन, यसपटक ब्यालेन्स डाइट र होटलमा समस्या छैन,’ प्रशिक्षक उप्रेतीले भने, ‘क्याम्पमा राख्नु अगाडिभन्दा अहिले खेलाडीहरुको स्वास्थ्य पनि राम्रो छ।’

त्यसो त खेलकुद आफैंमा प्रतिस्पर्धा हो। अर्को टीमलाई पछि पार्नु नै कुनै टीम वा खेलाडीको लक्ष हुने गर्छ। दक्षिण एसियाली खेलकुदमा केही देश करातेमा अगाडि रहेका छन्। ‘भारत, पाकिस्तान र श्रीलंकाले लामो तयारी गरिरहेका छन्,’ उप्रेतीले भने, ‘भुटान र बंगलादेश पनि राम्रै छन्, माल्दिभ्स पनि सहभागी हुने तयारी गरिरहेको छ भन्ने सुनेको छु।’ करातेमा भारत एसियामै उत्कृष्टहरु मध्येमा पर्ने गरेको छ।

यसरी हेर्दा भारतसँगको प्रतिस्पर्धा नेपाललाई चुनौतीपूर्ण भने हुने नै छ। अन्य केही देशका खेलाडीहरुमा नेपाली खेलाडीको तुलनामा अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो अनुभव रहेको छ। खेलको प्रशिक्षणदेखि नै नेपालले यस विषयलाई मनन् गर्न आवश्यक छ।

त्यस्तै महिला समूहमा भारत, श्रीलंका तथा बंगलादेशको टोली राम्रो भएको उप्रेतीको बुझाइ छ।

त्यसो त करातेको दक्षिण एसियाली खेलकुदमा प्रदर्शन नराम्रो छैन। नेपालले करातेमा पछिल्ला सागमा पदक हात पार्दै आएको छ। पाकिस्तानको इस्लामाबादमा भएको नवौं सागमा करातेले १ स्वर्णसहित २ रजत तथा ३ काँस्य हात पारेको थियो। त्यस्तै श्रीलंकाको कोलम्बोमा भएको १० औं सागमा २ स्वर्णसहित ३ रजत र ५ काँस्य हात पारेको थियो। बंगलादेशको ढाकामा भएको सागको पछिल्लो संस्करणमा नेपालले ३ स्वर्णसहित २ रजत र २ काँस्य हात पारेको थियो।

खेल मनोरञ्जनमात्र नभएर आत्मसम्मान र प्रतिस्ठाको समेत विषय हो। त्यसैले पनि दक्षिण एसियाली खेलकुदका लागि खेलाडीहरु प्रशिक्षणमा मिहेनत गरिरहेका छन्। 

पटकपटक पछाडि सारिँदै आएको साग यही मंसिर १५ गतेबाट सुरु हुने भनिएको छ। पूर्वाधार निर्माण एकापट्टि छ, अर्कोतर्फ खेलाडीको घरेलु मैदानको फाइदा उठाउन तत्पर देखिन्छन्। नेपालमा आयोजना हुने १३ औं सागमा २७ खेल समावेश हुनेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell