PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

जिम्मेवारी बाँडफाँडप्रति अष्टलक्ष्मीको असन्तुष्टि, सचिवालयका नौ जना बसेर जे-जे निर्णय गरे पनि हुने?



पहिलोपोस्ट

जिम्मेवारी बाँडफाँडप्रति अष्टलक्ष्मीको असन्तुष्टि, सचिवालयका नौ जना बसेर जे-जे निर्णय गरे पनि हुने?

  • अष्टलक्ष्मी शाक्य-

नेकपा (माओवादी)सँग पार्टी एकीकरण गरिएपछि जसरी जिम्मेवारीको बाँडफाँड गरिएको छ त्यो पार्टी विधानसम्मत देखिएको छैन। पार्टी ठूलो भयो, नेताहरू धेरै भए, सबैलाई मिलाएर लानुपर्ने आवश्यकता भयो भन्ने बुझ्न सकिने कुरा हो। तर, त्यसको लागि पनि विधि र प्रक्रिया हुन्छन्।

पहिलो कुरा त पार्टीको विधानमा नै नभएको पद सिर्जना गरेर सचिवालय बैठकले नै सबै निर्णय गर्नु अराजकता निम्त्याउनु हो। यो गलत हो। विधानमा नभएका कुरा राख्नलाई त पहिला स्थायी कमिटी र केन्द्रीय कमिटीमा यस विषयमा छलफल गर्नुपर्छ। जुन छलफल नै भएको छैन।

यदि हामीले आफूलाई कम्युनिस्ट पार्टी मान्ने हो भने त विधिसंगत ढंगबाट अघि बढ्नुपर्‍यो नि। सचिवालयमा नौ जना बसेर जे-जे निर्णय गरे पनि हुने? अनि पार्टीका अरू मान्छेको धारणा चाहिँ सुन्नुपर्दैन?

पार्टी विधानमै नभएको पद ल्याएर बामदेव कमरेडलाई उपाध्यक्ष सिफारिस गरिएको छ। उहाँलाई के कारणले हो उपाध्यक्ष बनाउनुपर्ने? पद सिर्जना गर्न त त्यसको कारण चाहिन्छ। मैले यो कुरा बुझ्न सकेको छैन। पूर्व एमालेमा युवराज ज्ञवाली, भीम रावल र म पनि महाधिवेशनबाट जितेर आएका उपाध्यक्ष हौँ।

बामदेव कमरेडलाई व्यवस्थापन गर्दा अरू तीनजनालाई चाहिँ सिधै अपमान गर्ने? तपाईँ महत्त्वपूर्ण हो, अरू तीन जना पार्टीका कोही पनि हैनन् भन्ने ढङ्गले पार्टी अघि बढेको देखियो।

विधान विपरीत उपाध्यक्ष पद ल्याइएपछि यी तीन जनालाई पनि सचिवालयमा ल्याऊँ न त भन्ने प्रस्ताव समेत गर्नुहुन्न उहाँहरु। अझ सचिवालय सदस्य बनाउनका लागि त विधान पनि संशोधन गर्नुपर्दैन। तर त्यसो गरिँदैन। आफ्नै सोच, आफ्नै मनले काम गरिन्छ। न त विधानको कुनै मतलब छ, न त आफूइतरका नेताहरुका कुरा नै सुनिन्छ।

माधव कमरेडले चाहिँ यस विषयमा प्रस्ताव राख्नुभएको छ। उहाँले राख्नु भएको प्रस्ताव मलाई ठीक लागेको छ। उहाँले यो कुरा ‘नोट अफ डिसन्ट’मा पनि राख्नुभएको छ।

ल भइहाल्यो, भीम रावल र मलाई त प्रदेश इञ्चार्ज बनाइएको छ। तर युवराज ज्ञवालीलाई त पुरै बेवास्ता नै गरिएको छ। कसैलाई जिम्मेवारी माथि जिम्मेवारी अनि कसैलाई चाहिँ बेवास्ता। पार्टी अध्यक्ष कसैलाई काखा कसैलाई पाखा लगाउने गलत भावका साथ अघि बढिरहनु भएको छ। जुन पार्टीका लागि राम्रो उदाहरण हैन।

पार्टीमा हुने हरेक निर्णय विधि विधानसम्मत गर्नुपर्ने हो। विधान विपरीत, बिना सल्लाह, छलफल नै नचलाई गरिनु गलत हो। यसले पार्टीमा राम्रो सन्देश जाँदैन।

अहिलेसम्म पार्टीमा सबै भने जस्तो हुँदैन भनेर चित्त बुझाउँदै आएँ। अहिले विभिन्न ठाउँमा बेवास्ता गर्दै मलाई पछाडि पारिएको छ। यसले मलाई होइन पार्टीलाई नै नोक्सान पुर्‍याउँछ।

म त सानैदेखि पार्टीमा आएकी हुँ। सधैँ पार्टीप्रति बफादार रहेर काम गर्दै आएकी मान्छे हुँ म। भूमिगत, जेलनेल खाएर आएको व्यक्तिमाथि अपमान भयो। त्यसको उचित मूल्याङ्कन भएन। जब पार्टीले आफ्नो योगदानको सही मूल्याङ्कन गर्दैन, त्यसले दु:खी बनाउँछ। चित्त दुख्छ।

एउटा सफल पार्टीभित्र त्यो पार्टीका लागि काम गरेका मान्छेको र उनीहरूको कामको सही मूल्याङ्कन हुनुपर्छ। त्यो जिम्मेवारी पार्टी नेतृत्वको हो। तर, यहाँ त पार्टी नेतृत्वलाई जो मन परेन उसलाई पछारेको छ। राम्रो भन्दा पनि हाम्रोलाई प्राथमिकता दिइएको छ।

जनताको म्यान्डेट अनुसार सरकार चल्न सकेन

यत्रो दुईतिहाई बहुमत प्राप्त गरेको सरकारको काम जुन मात्रामा लोकप्रिय हुनुपर्थ्यो त्यसअनुसार पटक्कै भएको छैन। जनताले साथ, समर्थन र सहयोग गरेको बेलामा पनि भिजन अनुसार सरकार चल्न सकेन। म्यान्डेट अनुसारको काम गर्न नसकेकाले जनतालाई खुसी पार्न सकेको देखिँदैन। जनता सरकारसँग जति खुसी हुनुपर्ने हो त्यो भएको देखिएको छैन।

एक व्यक्ति एक पद कडाइका साथ लागू गर्नुपर्छ

पार्टीभित्र एक व्यक्ति एक पदलाई कडाइका साथ लागू गरिनुपर्छ। पार्टी र सरकार दुबैको प्रमुख एकै व्यक्ति हुँदा दुबैतिर असर परिरहेको छ। प्रदेशका मुख्यमन्त्रीलाई प्रदेशको जिम्मेवारी दिइएको छ, जिम्मेवारी दिनु हुँदैनथ्यो। केन्द्र र प्रदेशका मन्त्रीहरूलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको छ। उहाँहरूले पार्टीको काम गर्न कसरी भ्याउनुहुन्छ?

चार सय ४१ जना केन्द्रीय सदस्य छन्। क्षमता अनुसार सबै केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिइएको भए राम्रो हुन्थ्यो। काम गर्न पनि सहज हुन्थ्यो।

गुट हाबी

गुट कम्युनिस्ट पार्टीका लागि हानिकारक छ। कम्युनिस्ट पार्टीका लागि गुट महारोग हो भनेर पुष्पलाल कमरेडले भन्नु भएकै हो। गुटले गर्दा पार्टीमा कसैको पनि उचित मूल्याङ्कन हुन सकेन। सबैको उचित मूल्याङ्कन गर्नु नेतृत्वको खुबी हो। तर नेतृत्वमा त्यो खुबी देखिएन।

पार्टी नेतृत्व त अभिभावक हो नि। सबैलाई मिलाएर लैजान सक्नुपर्‍यो। विभेद घरभित्र त सह्य हुँदैन भने पार्टीभित्र त सबैलाई बराबरी हुनुपर्‍यो। तर, यहाँ त सरासर अन्याय भइरहेको छ।

प्रधानमन्त्री ओली दुर्गत मानसिकताका साथ अघि बढ्नुभएको छ। मन नपरेपछि निषेध नै गर्ने। आँखाले नै नहेर्ने। जुन कुरा असह्य हुन्छ।

सचिवालयमा छैनन् महिला

सचिवालयमा एक जना पनि महिला छैनन्। सबै क्षेत्र पनि समेटिएको छैन। सचिवालय सदस्य बनाउँदा महिलाको प्रतिनिधित्व हुन्थ्यो। भीम रावललाई लैजाँदा क्षेत्र पनि समेटिने थियो।

मैले चित्त नबुझेका कुरा मिडियामा पनि भन्दै आएको छु। म कसैको आशीर्वादले आएको होइन। दु:ख, त्याग गरेर आएकी हुँ। क्षमता र योग्यताकै आधारमा आएकी मान्छे। तर, हाम्रो योगदानको पार्टीभित्र उचित कदर भएन। यसमा मेरो असन्तुष्टि छ।

कुञ्जरमणि भट्टराईसँगको कुराकानीमा आधारित



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell