PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः आज सेमिफाइनलका खेल हुने



पहिलोपोस्ट

एभिसी सेन्ट्रल जोन पुरुष भलिबलः आज सेमिफाइनलका खेल हुने

काठमाडौँः एभिसी सेन्ट्रलजोन पुरुष भलिबलमा आज सेमिफाइनलका २ खेल हुने छ। आज हुने पहिलो खेलमा समूह 'ए'को विजेता कीर्गिस्तान र समूह 'बी' उपविजेता तुर्कमेनिस्तान दिउँसो २ः३० मा भिड्नेछन्।

कीर्गिस्तानले समूह चरणमा नेपाल र माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो। यता तुर्कमेनिस्तानले अफगानिस्तान र बंगलादेशलाई पराजित गरेको थियो भने उज्बेकिस्तानसँग पराजित हुँदै समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो।

त्यस्तै दोस्रो खेलमा समूह 'बी'को उपविजेता माल्दिभ्स र समूह 'ए' को विजेता उज्वेकिस्तान दिउँसो ४ः३० मा प्रतिस्पर्धा गर्नेछन्। उज्वेकिस्तानले समूह चरणका सबै खेल जित्दै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो। यता पहिलो खेलमा कीर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको माल्दिभ्स दोश्रो खेल सुधार गर्दै नेपाललाई ३–०को सोझो सेटमा पराजित गर्दै समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो।

दुबै खेलहरु लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्ड हलमा हुनेछ। यता समूह ए मा रहेको नेपाल भने समूह चरणमा लगातार दुई हार व्यहोरेसँगै उपाधि होडबाट बाहिरिसकेको छ। नेपालले पहिलो खेलमा कीर्गिस्तान र दोस्रो खेलमा माल्दिभ्ससँग ३-० को सोझो सेटमा पराजित भएको थियो।

भदौ ७ गतेसम्म हुने च्याम्पियनसिपमा नेपाललगायत कीर्गिस्तान, माल्दिभ्स, तुर्कमेनिस्तान, बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तानको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell