
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको ३९ वर्ष पुरानो बास्केटबल जर्सी १२ लाख डलरमा बिक्री भएको छ। उक्त जर्सी ओबामाले सन् १९७८/७९ तिर १८ वर्षको उमेरमा लगाउने गर्थे। २३ नम्बरको उक्त जर्सीलाई स्कुलमा ओबामाभन्दा जुनियर विद्यार्थी ५५ वर्षीय पिटर नोवलले लिलाममा राखेका थिए।
सुरुमा जर्सीको मूल्य १ लाख डलर राखिएको थियो, जसमा २७ जनाले बढाबढ गरेका थिए। सो जर्सीलाई अमेरिकी खेल कलाकृतिका सङ्ग्रहकर्ताले किनेको बताइए पनि खरिदकर्ताको नाम सार्वजनिक गरिएको छैन। ओबामाले पुनाहौको हाइस्कुलमा पढ्दाताका लगाउने गरेका थिए।
बास्केटबल अमेरिकी पूर्व राष्ट्रपति ओबामाको प्रिय खेल भएको बताइन्छ। उनको राष्ट्रपति कार्यकालमा पनि उनले व्हाइट हाउसमा आफ्ना स्टाफ, सेलिब्रेटी तथा आफन्तहरुसँग बास्केटबल खेल्ने गरेको बताइन्छ।
पिटर नोवेल पुनाहौ हाइस्कुलमा ओबामाभन्दा ३ वर्ष जुनियर थिए। लिलामबाट उठेको रकमको केही हिस्सा उनले आफू पढेको स्कुललाई नै दिने बताइएको छ।