PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

१० दिन नेपाल बसेर प्रधानमन्त्री ओली उपचारका लागि पुन: सिंगापुरतिर

१० दिन नेपाल बसेर प्रधानमन्त्री ओली उपचारका लागि पुन: सिंगापुरतिर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर प्रस्थान गरेका छन्। बिहीवार मध्यान्ह साढे एक बजे ओली स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री ओली चिकित्सकको सुझावअनुसार स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका हुन्। १० दिन अघिमात्र उनी सिंगापुरबाटै स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएका थिए। उपचारपछि पूर्ण रुपमा निको भएर स्वदेश फर्किएका भनिएका ओलीको स्वास्थ्यमा समस्या आएका समाचार प्रकाशित भएपछि उनका सल्लाहकार तथा प्रधानमन्त्री आफैले पनि आफू स्वस्थ्य रहेको भन्दै समाचारको खण्डन गरेका थिए।

तर, त्यसको दुई दिनमै उनी फेरि सिंगापुर उडेका छन्। यसअघि प्रधानमन्त्री ओली साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते देश फर्किएका थिए।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्या सिंहले जनाए अनुसार  अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो। एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री सिंगापुर गएका हुन्। सिंगापुरमा रहँदा नेशनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उनको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत हुनेछ।

सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अवस्थाको उल्लेखनीय जानकारी भएमा सञ्चार माध्यमलाई जानकारी गराउने प्रधानमन्त्रीका निजी चिकित्सक सिंहले जनाएका छन्। 

प्रधानमन्त्री ओली थाइ एअरको टिजी-३२० नम्बर फ्लाइटबाट बैंकक हुँदै सिंगापुर जानेछन्। प्रधानमन्त्रीलाई बिदाई गर्न विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादल, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटा लगायतका मन्त्री तथा नेताहरुको उपस्थिति थियो।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, केही सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मी सामेल छन्। 

चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell