PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

आज नगर परिक्रमा गर्न निस्कँदै भिंद्य:, भारतको सहयोग छाडेर आफ्नै बुतामा पुन: निर्माण

आज नगर परिक्रमा गर्न निस्कँदै भिंद्य:, भारतको सहयोग छाडेर आफ्नै बुतामा पुन: निर्माण

सहयोग रञ्जित/पहिलोपोस्ट


आज साँझ पाटन दरबार क्षेत्रमा रहेका 'भिंद्य:' नगर परिक्रमा गर्न बाहिरिँदैछन्।

भिंद्य: रहेको पाटनको सो ऐतिहासिक मन्दिरमा वि सं २०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको थियो। बाहिरबाट मन्दिर ठडिएको देखिए पनि भित्रबाट भने जिर्ण भइसकेको थियो। जिर्ण मन्दिर ढल्न सक्ने सम्भावना पनि थियो। पाटनमै अरु ठाउँमा पुनर्निर्माणको काम सुरु भए पनि सो मन्दिरको काम भने चार वर्ष सम्म सुरु हुन सकेको थिएन।

कारण थियो – सरकारको नीति।

नेपाल सरकारले मन्दिर पुनर्निर्माणको काम भारत सरकारलाई दिएको थियो। दुई देशबीच मन्दिर पुनर्निर्माण गर्ने सम्झौता समेत भइसकेको थियो। तर, जहाँ मन्दिर छ त्यहाँ कहाँ स्थानीयलाई सो सम्झौताका बारेमा पछि मात्रै थाहा भयो।

समय बित्दै गयो। पाटनमा कृष्ण मन्दिर बन्यो, मणिमण्डप बने अरु मन्दिरका काम पनि सुरु भयो। तर पाटनका स्थानीय र नेवार व्यापारीका आराध्य पाटनका भिंद्य: भने ओझेलमा परे। स्थानीयहरु मन्दिर पुनर्निर्माणको माग गर्दै दूतावास देखि प्रधानमन्त्री कहाँ सम्म पुगे। भारत सरकारले भने दिने भनेको आर्थिक सहयोग निकासा हुन समय लाग्ने बतायो।

मन्दिर नबन्दा स्थानीयहरु आक्रोशित थिए। उनीहरुले भारत सरकारले नसके आफूहरुले नै मन्दिर बनाउँछौं भनेर ललितपुर महानगरपालिकादेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण धाए। पछि, स्थानीय र प्राधिकरणको प्रयासमा मन्दिरको पुनर्निर्माणको बारेमा भारतीय दूतावासमा छलफल भयो। भारत पछि हट्यो। मन्दिरको पुनर्निर्माणका लागि श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति गठन भयो।

भिंद्य: कि भीमसेन ?

मन्दिर भिंद्य: को। पुनर्निर्माण समिति चाहिँ भीमसेनको नाममा। भिंद्य: र भीमसेनबीचको अन्तर थाहा हुनेलाई यो प्रश्न उठ्नु स्वभाविक हो।

तर, कालान्तरमा भिंद्य: भीमसेन बने। नेवारी समुदायमा भिंद्य: नै भीमसेनका रुपमा पुजिन सुरु भए। पाटनको भीमसेन पनि यसैको उदाहरण हो।

नेपाल भाषामा 'भिं' भनेको राम्रो हो भने 'द्य:' भनेको देवता।

हाल धेरैले भने महाभारतका पाँच पाण्डव मध्ये एक भीमसेनलाई नै भिंद्य: ठान्छन्। तर, त्यसो होइन। भीमसेन र भिंद्य: फरक पात्र हुन्।

भिंद्य: असल गुण भएको देवता हुन्, महाभारतका बलवान पात्र भीमसेन भन्दा फरक। नेवार समुदायमा भिंद्य:लाई शुभ र यौनको देवका रुपमा पुजिन्छ। भिंद्य:लाई विशेष गरी व्यापारमा असल गर्ने देवताका रुपमा व्यापारीहरूले पुज्ने गर्छन्। व्यापारीहरुका लागि त भिंद्य: आराध्य देव हुन्। नेवार समुदायको उपस्थिति रहेको हरेक टोलमा भिंद्य: रहेका हुन्छन्।

तर, कालान्तरमा महाभारतको प्रभावसँगै भिंद्य: लाई भीमसेनका रुपमा प्रस्तुत गरियो।

संस्कृतिविद् ओम धौभडेल नेवार समुदायले पूजा गर्ने देवता ‘भीमसेन’ नभइ ‘भिंद्य:’ रहेको दाबी गर्दै भन्छन्, ‘नेवारहरुले पुज्ने भिंद्य: हो। मल्लहरुले नेपालमा भारतमा पुज्ने भीमसेनको मूर्ति भित्राए। नेवारहरुले पुज्ने ढुंगा हो, जसमा आकृति हुँदैन। जस्तै दोलखा भीमसेन।'

धौभडेलले भिंद्य: को आकृति हुँदैन भन्दै गर्दा अहिले भने महाभारतको मिथकको परिणाम नै भनौं भिंद्य: लाई भीमसेनको आकृति दिएर टोलटोलमा विराजमान गराइएको छ।

आज पाटन नगर परिक्रमा गर्न बाहिर निकालिने पनि 'भिंद्य' नै हुन्। पछिमात्रै त्यहाँ भीमसेनको मूर्ति स्थापना गरिएको उनी बताउँछन्। अहिले सो मन्दिर भीमसेन मन्दिरका रुपमा परिचित छ। मन्दिर भित्र भीमसेनका मूर्ति छ। त्यसलाई नै हामी भिंद्य: मान्दै पुजा गर्दैछौं।

धौभडेल पाटनमा रहेको मन्दिर मा पहिला भिंद्य: कै मन्दिर रहेको बताउँदै भन्छन्, 'पहिला त्यहाँ मूर्ति नै थिएन। पछि योग नरेन्द्र मल्लको पालामा कलाकारहरुलाई भीमसेनको मूर्ति बनाउन लगाइयो। कलाकालहरुले भीमसेनको मूर्ति बनाउन धेरै प्रयास गरे। तर, सकेनन्। यो देखेर राजा क्रुद्ध भए। कलाकारहरुले राजा रिसाएको रौद्र रुप देखेर पछि उनीको रौद्र रुपलाई नै सम्झेर भीमसेनको मूर्ति बनाए। पछि मूर्तिलाई मन्दिरमा स्थापना गरियो भन्ने किम्बदन्ती छ। यसबाट पनि त्यहाँ पछि मात्रै भीमसेन स्थापित भएको पुष्टि हुन आउँछ।'

उनको भनाईलाई टेवा दिन्छ भीमसेन मन्दिरकै शीलालेखले।

श्री भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका अनुसार पाटनमा भिंद्य: लाई चपा: बनाइ स्थापना गर्ने चलन रहेको छ। पाटन दरबार क्षेत्रमा रहेको यस मन्दिर साविकमा चपा: मा नै स्थापित भएको नेपाल संवत ७४७ को सिद्धिनरसिंह मल्लको पालाको शीलालेखमा उल्लेख छ।

पछि चपा: मा आगलागी भएपछि नेपाल संवत ८०१ मा श्री निवास मल्लका पालामा मन्दिर निर्माण भएको थियो। त्यस बेलासम्म त्यहाँ भीमसेनको मूर्ति थिएन। त्यहाँ भिंद्यको शान्तिरुपी आकृतिविहीन मूर्ति रहेको थियो। नेपाल सम्बत ८२१ मा योगनरेन्द्र मल्लको पालामा मात्रै त्यहाँ भीमसेनको रौद्र रुपमा मूर्ति स्थापना भएको स्थानीय बताउँछन्।

कृष्ण जन्माष्टमीको भोलिपल्ट प्रत्येक भाद्र कृष्ण त्रयोदशीका दिन (आज) मन्दिरमा रहेका भीमसेनको मन्दिरलाई नगर परिक्रम गराउने चलन पनि योगनरेन्द्रकै पालामा सुरु भएको मानिन्छ।

मन्दिरको पहिलो तल्लामा करिब ६ फिट उचाई भएको रौद्र रुपका भीमसेनको मूर्ति छ। त्यस्तै त्यहाँ दुशासन, भैरव, महाकाली र द्रौपढीको मूर्ति रहेको स्थानीय बताउँछन्।

धेरैलाई लाग्ला आज पाटनमा जात्रा गर्ने मूर्ति यही भीमसेनको नै हो। तर, त्यसो होइन। यो रौद्र रुपी भीमसेनको मूर्तिलाई निकाल्न मिल्दैछ।

आज मन्दिरमै रहेको भीमसेनको प्रतिमूर्तिलाई खटमा राखेर जात्रा गरिन्छ। सो मूर्ति भने पहिलो तल्लाकै पछिल्लो भागमा सानो काठको दराजमा रहेको हुन्छ। जात्राका दिनमात्रै सो मूर्तिलाई निकालिन्छ। मन्दिरको दोस्रो तल्लामा भने भीमसेनका पुराना मूर्ति र केही सन्दुक छन्। ती मूर्ति भने माटो र भूसले बनेको बताइन्छ। पुनर्निर्माण भइरहेका कारण माथि जान सर्वसाधरणलाई निषेध गरिएको छ।

भीमसेनको मूर्ति भएता पनि स्थानीय त्यसलाई भिंद्य: का रुपमा नै पुज्दै आएका छन्।

तर, शताब्दी पुरुष सत्यमोहन जोशीको अर्कै तर्क छ। उनी त्यसलाई भिंद्य: नभइ महाभारतका बलिया भीमसेन नै हुन् भन्छन्।

जोशी मछिन्द्रनाथले पाटनमा भीमसेनको पूजा सुरु गराएको बताउँछन्। भीमसेन मन्दिरको छानो निकालेर क्षमा पूजा गरेका दिन जोशीले भीमसेन पूजा गर्ने प्रथा नेपालबाहेक कत्तै नभएको बताएका थिए।

'पाटनमा कृष्ण मन्दिर र भीमसेन मन्दिर त्यही छ। त्यहाँ हेर्दा हामी पाँच हजार वर्ष पुरानो महाभारत सम्झन्छौं। नेवार रहेकै ठाउँमा भीमसेनको मन्दिर हुन्छ। भीमसेनको पूजा गर्ने संस्कृति यो नेपालको मौलिक संस्कृति हो। भीमसेनसँगै महाभारतको कुरा आउँछ तर अरुको पूजा भने हुँदैछ,' जोशीले भने।

जोशी भीमसेनको पूजा मछिन्द्रनाथले सुरु गरेको कथा रहेको समेत बताउँछन्। भन्छन्, 'मछिन्द्रनाथले पाटनलाई समृद्ध बनाउने जिम्मे पाएका हुन्छन्। लोकनाथ र करुणामयका रुपमा रहेका मछिन्द्रनाथले मानिसहरुलाई पाटन समृद्ध बनाउने काम बाँडफाँट गर्छन्। यो कुरा भीमसेनले थाहा पाएछन्। आफूलाई वस्ता नगरेको भन्दै भीमसेन क्रद्ध भए। त्यसपछि भीमसेन मछिन्द्रनाथलाई भेटेर आफूले एकको तीन गर्न सक्ने शक्ति छ भनेर भने। मच्छिन्द्रनाथले यो कुरा सुने पछि भीमसेनलाई पनि पाटन समृद्ध बनाउन मा सहभागी गराए।'

यसरी एकको तीन बनाउने भीमसेनको पूजा आराधना गर्न राम्रो हुँदै गएको व्यापार फस्टाएकोले व्यापारीहरुले भीमसेनलाई आराध्य देव मान थालेको उनले कथन सुनाएका थिए।

तर, जोशी आफैले भनेका कुरामा आश्वास्त सुनिएनन्। कथा सुनाउँदा सुनाउँदै जोशीले भनेका थिए, 'यसलाई कथा मात्रै हो भन्दै विश्वास गर्ने वा नगर्ने बारेमा आ- आफ्नो कुरा हो।'

केभीपीटी र प्राधिकरणको भूमिका

नेवार समुदायमा भिंद्य: र भीमसेनको बीचको अन्तरलाई लिएर वर्षौंदेखि बहस जारी छ। बहसबीच मन्दिर पुनर्निर्माणका बारेमा उब्जेका आशंका र अवरोधहरुकै बीच अहिले भीमसेन मन्दिर पुनर्निर्माणको काम सुरु भइसकेको छ। कामको नृतृत्व पाटनकै साहुहरुले गर्दैछन्। अर्थात् ललितपुर उद्योग वाणिज्य महासंघ। उसलाई साथ दिइरहेको छ मंगलटोल सुधार समिति, ललितपुर महानगरपालिका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरात्तत्व विभाग।

पाटनका अधिकांश मन्दिरहरुको पुनर्निर्माणको काम पुरातत्व विभागसँग मिलेर काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी)को प्राविधिक सहयोगमा भइरहेको छ। सबैजसो मन्दिरहरुको पुनर्निर्माण दाताहरुको सहयोगबाट नै सुनिश्चित भएका छन्। भीमसेन मन्दिर पुनर्निर्माणको कामपनि केभीपीटीकै प्राविधिक सहयोगमा सुरु भएको हो। मन्दिर पुनर्निर्माणका लागि आर्थिक सहयोगबाटै गर्ने योजना छ।

मन्दिर पुनर्निर्माणमा सुन लेपन खर्चबाहेक चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएको छ। मन्दिर पुनर्निर्माणका लागि हालसम्म करिब तीन करोड भन्दा बढी रकम संकलन भइसकेको समितिले जनाएको छ।

मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले एक करोड र प्रदेश ३ सरकारले ५० लाख सहयोग गर्ने घोषणा गरिसकेका छन्। यस्तै आफ्नो पिता गणेशलाल श्रेष्ठको सम्झनामा एभरेष्ट बैकका अध्यक्ष बिके श्रेष्ठले मन्दिर पुनर्निर्माणका लागि भनेर एक करोड दान दिइसकेका छन्। यस्तै तदर्थ समितिका सदस्य र ललितपुर उद्योग वाणिज्य महासंघ लगायतका संघसंस्थाले समेत आर्थिक सहयोग गरिरहेका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि मन्दिर पुनर्निर्माणका लागि भारतीय पक्षसँग धेरै छलफल गरेको थियो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली भन्छन्, 'यसलाई नकारात्मक रुपमा लिनु हुँदैछ। पुरातत्व विभागले जसरी स्थानीयहरुको भावना नबुझी यत्तिकै सम्झौता भयो। समयमा काम भएको भए केही फरक हुँदैन थियो। तर काम नहुँदा भारतसँग भइसकेको सम्झौता तोड्ने कुरा निके गाह्रो हुरा हो। स्थानीय समुदाय धेरै पटक डलिगेशन आउनुभयो। म आफै उहाँहरुसँग धेरै छलफलमा बसेँ। स्थानीय पछि हामीले भारतीय पक्ष र दूतावाससँग धेरै छलफलमा बस्यौं।'

ज्ञवालीले भारतीय पक्षलाई अरु मठ मन्दिरमा भारतले गर्ने आर्थिक सहयोग जहिलै स्वीकार गर्ने तर स्थानीयहरु आफै उठेर मन्दिर निर्माण गर्छु भनेर आउँदा प्राधिकरणर महानगरले पनि सहयोग गर्ने भनेर 'वास्तविक' कुरा बताएको बताउँछन्। यसरी प्राधिकरणले आश्वास्त पारिसकेपछि भारतीय पक्षले भीमसेन मन्दिरको जिम्मा जनतामा आयो।

केभीपीटीका नेपाल निर्देशक रोहित रंजितकारका अनुसार मन्दिर पुनर्निर्माणका क्रममा पहिलो चरण मन्दिरको माथिल्लो तल्लाहरु भत्काउने काम भइरहेको छ। मन्दिर पूरै भत्काउनुपर्ने अवस्था छैन। अहिले मन्दिरको दोस्रो र तेस्रो तल्ल मात्रै भत्काउने योजना रहेको छ। पछि आवश्यक परे त्यसभन्दा तल पनि जान सकिन्छ।

उनी भन्छन्, 'मन्दिर बाहिरबाट राम्रो देखिए पनि भित्रबाट जिर्ण रहेको छ। इट्टाहरु वालभन्दा बाहिर निस्किएको छ। भित्ताहरु चर्किएका छन्। काठहरु समेत पुराना भइसके।'

अब भने पुरानै शैलीमा माटोको प्रयोग गर्दै मन्दिर पुनर्निर्माण हुनेछ। तर, आवश्यकता अनुरुप काठ नहुँदा काममा केही समस्या आएको उनी बताउँछन्। सबै कुरा राम्ररी भए तीन वर्षभित्र मन्दिर पुनर्निर्माणको काम समापन हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell