PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

टीकापुरमा थरुहट थारुवान् राष्ट्रिय सम्मेलन शुरु, 'अप्रिय घटना नहोस भनेर सुरक्षामा उच्च सतर्कता छ'



एम बम

टीकापुरमा थरुहट थारुवान् राष्ट्रिय सम्मेलन शुरु, 'अप्रिय घटना नहोस भनेर सुरक्षामा उच्च सतर्कता छ'

कैलाली: कैलालीको टीकापुरमा थरुहट थारुवान् राष्ट्रिय सम्मेलन सुरु भएको छ। संविधानमा थारुहरूका अधिकार स्थापित गराउने भनेर थारुहरूले टीकापुरमा गरेको आन्दोलन हिंसामा परिणत भएपछि २०७२ साल भदौ सात गते ८ प्रहरी र १ नाबालकको ज्यान जाने गरी टीकापुरमा घटना घटेको थियो। त्यस यता थारुहरूको त्यो सङ्घर्ष अवरुद्ध भयो।

झन्डै ४ वर्ष सामाजिक सद्भावले उकुसमुस बनेको टीकापुरमा थारुहरूको सङ्घर्ष फेरि सुरु भएको छ। देशभरका ८ हजार बढी थारु समुदायका नागरिकको उपस्थिति गराउने गरी तयारी गरिएको थरुहट/थारुवान् राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक मीनराज चौधरीले बताए। उनले सामाजिक सद्भावमा खलबल पुर्‍याउने उद्देश्यले सम्मेलन आयोजना नगरिएको पनि स्पष्ट पारे।

सम्मेलनमा सहभागी हुन टीकापुरमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, किशोर नेपाल, विश्लेषक खगेन्द्र सङ्ग्रौलालगायतका व्यक्तिहरू पुगिसकेको उनले जनकारी दिए।

थरुहट थारुवान् राष्ट्रिय सम्मेलनलाई लक्षित गरी टीकापुरमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले टीकापुरमा फेरि पनि कुनै अप्रिय घटना नहोस् भनेर ४ गतेबाटै सजगता अपनाइएको बताए। कैलालीका प्रहरी प्रमुख सुदीप गिरीको नेतृत्वमा टीकापुरमा प्रहरी परिचालित छन्। जिल्ला सुरक्षा समितिले टीकापुरलाई भदौ ४ गतेबाट मदिरा निषेधित क्षेत्र समेत घोषणा गरिसकेको छ।

सम्मेलनका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले सर्वदलीय बैठक बोलाएर ५ गतेबाटै टीकापुर तथा आसपासका क्षेत्रमा सुरक्षामा कडाइ गर्ने निर्णय गरेको थियो। आज लम्की बजारदेखि नै प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। ठाउँठाउँमा चेकजाँचका साथै सादा पोसाकमा खटिएका प्रहरीको सङ्ख्या पनि उच्च छ।

संविधानमा थारुहरूका माग स्थापित गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको थारु अगुवाहरूको भनाइ छ।

यद्यपि कतिपय थारु अगुवाहरू भने आफै विभाजित छन्। भदौ ४ गते टीकापुरमा पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक थारु सङ्घले थारु सम्मेलनमा आफूहरूको समर्थन र सहभागिता नहुने जनाएका थिए।

आजकै दिन ४ वर्ष अघि २०७२ साल भदौ ७ गते टीकापुरमा ९ जनाको ज्यान जाने गरी घटेको घटनामा कैलाली जिल्ला अदालतले ११ जनालाई जन्मकैद सजाय सुनाएको छ। १३ जनालाई तीन वर्ष कैद र ३ जनालाई घटनाको ४२ महिनापछि अदालतले गत फागुनमा सफाइ दिएको थियो।

घटनामा संलग्न रहेको आरोप लागेका ३० जना अझै फरार सूचीमा छन्। उनीहरूको मुद्दा मुलतबीमा राखिएको छ। अदालतले उक्त घटनालाई नरसंहारको संज्ञा दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell