PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

एउटा यस्तो ठाउँ, जहाँ ज्येष्ठ नागरिकले दिन बितेको पत्तो पाउँदैनन् 



पी बी खड्का

एउटा यस्तो ठाउँ, जहाँ ज्येष्ठ नागरिकले दिन बितेको पत्तो पाउँदैनन् 

सुर्खेतः ‘पहिले घरमा गाई भैँसीलाई घाँसपात गरिन्थ्यो। घरको कामकाज गरिन्थ्यो। दिन वितेको थाहा हुन्थेन। अहिले घरमा केही गर्न पनि सकिन्न। दिन विताउन अलि गाह्रो पर्छ। यहाँ आएपछि एक दम आन्नद आउँछ।’

यसरी आफ्नो बुढेसकालको आनन्दको महशुस सुनाउँदै थिईन्, वीरेन्द्रनगरकी खगीसरा अधिकारी। उनी अहिले घरपरिवारसँग भएपनि दिन विताउँन मुश्किल हुने हुँदा दिवा सेवा केन्द्र धाउँदै आएकी छन्।

‘विहान ९/१० बजे खाना खाएर सबै छोरा छोरी, नाती नतिनाहरु आ–आफ्नो कामकाजमा जान्छन् अनि घरमा के गरेर बस्ने? न कसैसँग कुरा गरम भन्यो साथि छैनन्। एक्लै बस्ने हो। कति बस्ने?’ उनले भनिन्, ‘यता आएपछि त साथीभाई भेट भयो कुराकानी गर्यो। भजन गाउँदा, नाच्दा, रमाइलो गरेर दिन वितेको थाहै हुन्न। आनन्द आउँछ।’

अहिले दिवा सेवा केन्द्रमा उनीजस्तै ५०/६० जना ज्येष्ठ नागरिक दिन कटाउनकै लागि पुग्ने गरेका छन्। काम गर्न नसक्नेभएपछि अहिले वृद्धवृद्धालाई दिवासेवा केन्द्रले निकै उत्साह थपेको छ, ज्येष्ठ नागरिकलाई।

‘यहाँ आउन लागेको वर्षौ भयो। हामीजस्ता बुढाबुढी केही काम गर्न नसक्नेका लागि त स्वर्गै भेटाएजस्तो भाछ।’ ज्येष्ठ नागरिक गंगाराम भट्टराईले भने, ‘घरमा विहानको खाना खाएर के काम गर्ने, हात पाखुरा चल्दैनन् केही काम गर्नलाई, आफ्नो त्यस्तो अनैतिक काम गर्ने बानी छ्रैन्। ठ्क्याक यता पाउँने वित्तिकै स्वर्गै भेटाएजस्तो भयो।’

सुर्खेतमा दिवा सेवा केन्द्रमा दिन बिताउँदै आएका ज्येष्ठ नागरिकहरु उत्साहित बनेका छन्। घरमा दिन विताउन मुश्किल पर्ने भएपछि ज्येष्ठ नागरिकहरु दिवा सेवा केन्द्रमा दिन बिताउँन पुग्ने गरेका छन्।

ज्येष्ठ नागरिकलाई दिन कटाउनकै लागि सजिलो होस् भनेर ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना भएका छन्। अहिले उपत्यकाका अधिकांश ज्येष्ठ नागरिकहरु विहानको खानापछि दिवा सेवा केन्द्रमै भेला हुने गरेका छन्। घरका अन्य सदस्य कामकाजमा जाने र एक्लै हुदाँ दिन विताउन मुश्किल पर्ने भएपछि ज्येष्ठ नागरिकहरु दिवा सेवा केन्द्रमा आउन थालेका हुन्। उनीहरु सेवा केन्द्रमा दुःख सुखका कुरा साट्ने, भजन किर्तन गाउने र रमाइलो गरेर दिन विताउँदै आएका छन्। वृद्धवृद्धा सहभागि हुने सेवा केन्द्र शनिवार बाहेक सधै खुल्ला रहने गर्छ।

अहिले कर्णालीमा ८ वटा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका अधिकृत यशोदा कुमारी शर्माले जानकारी दिईन्। चालु आर्थिक वर्षमा वृद्धाश्रम र ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रका लागि झण्डै एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको उनले बताईन्।

‘ज्येष्ठ नागरिकको संरक्षण र सम्मानका लागि मन्त्रालयले बजेटको व्यवस्था गर्ने गरेको छ। चालु आर्थिक वर्षमा वृद्धाश्रम र दिवा सेवा केन्द्रका लागि गरेर करिव एक करोड २० लाख रुपैयाँ छुटाएका छौँ।’ उनले भनिन्, ‘दिवा सेवा केन्द्रमा आउने ज्येष्ठ नागरिकले हाम्रो नियम, तवला, बादल, बासुरीलगाएतका सामाग्री र दिनमा कम्तीमा पनि एक कप चिया र विष्कुट खानका लागि मन्त्रालयले बजेट दिने गरेको छ।’

ज्येष्ठ नागरिकलाई दिन विताउने छहारी बनेको दिवा सेवा केन्द्र जिल्लाको सुगममा मात्रै केन्द्रित नभएर दुर्गम र ग्रामिण क्षेत्रमा सञ्चालन गर्न सके सबै ज्येष्ठ नागरिकलाई समेट्न सकिने देखिन्छ। ज्येष्ठ नागरिकलाई दिन विताउने मात्रै नभएर मानसिक र शारीरिकरुपमा स्वास्थ्यका लागि समेत लाभ पुग्ने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell