PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

कश्मीर मामिलामा नेपालको भूमिका खोज्दै पाकिस्तान: भारतलाई दबाब दिन आग्रह



विधुर ढकाल

कश्मीर मामिलामा नेपालको भूमिका खोज्दै पाकिस्तान: भारतलाई दबाब दिन आग्रह

काठमाडौं: कश्मीर मामिलामा पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै अन्तर्राष्ट्रिय समुदायसँग संवादलाई अगाडि बढाएको छ। उसले दक्षिण एसियाको शान्ति र स्थायित्वका लागि सार्कलाई गति दिँदै यस क्षेत्रमा तनाव कम गर्नका लागि पहल गर्न नेपाललाई आग्रह गरेको छ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्ष नेपाल हो। उसले सार्कलाई गति दिनका लागि अध्यक्षको नाताले पहल गर्न नेपाललाई आग्रह गरेको हो।

गत विहीवार पाकिस्तानी परराष्ट्र मन्त्री शाह महमुद कुरेसीले नेपाली समकक्षी प्रदीप कुमार ज्ञवालीलाई टेलिफोन गरी भारत नियन्त्रित जम्मु कश्मीरको पछिल्लो अवस्थाका बारेमा कुरा गरेका हुन्। पाकिस्तानी परराष्ट्रमन्त्री कुरेसीले नेपाली समकक्षीलाई भारतले एकलौटी ढंगले अवैध तरिकाबाट जम्मु र कश्मीरको अवस्था परिवर्तन गर्न खोजेको र यसले अन्तर्राष्ट्रिय कानुन तथा राष्ट्र संघको सुरक्षा परिषद्ले अनुमोदन गरेको प्रस्तावलाई समेत उल्लंघन गरेको भन्दै कश्मीरको विषयमा ब्रिफिङ गरेको पाकिस्तानी परराष्ट्र मन्त्रालयले जनाएको छ।

कश्मीरमा मानव अधिकारको उल्लंघन भइरहेको भन्दै यहाँ खाद्यन्नको अभवा तथा अत्यावश्यक औषधीको समेत अभाव भइरहेको बताएका पाकिस्तानी परराष्ट्रमन्त्री कुरेसीले बताएका थिए। उनले भारतले जातिय नरसंहार मच्चाउन लागेको भन्दै अवस्था खतरापूर्ण रहेको ब्रिफ गरेका थिए।

जेनोसाइड वाच नामक अन्तर्राष्ट्रिय संस्थाले पछिल्लो पटक भारत नियन्त्रित कश्मीरमा जातिय नरसंहार हुन सक्ने भन्दै 'जेनोसााइड अलर्ट' जारी गरेको छ। 

जेनोसाइड वाचले भारतले अगस्ट ५ मा चालेको कदमसँगै ६ लाख बढी भारतीय सुरक्षाकर्मीहरु कश्मीरमा परिचालन गरिएको र जनताको आन्दोलन तथा वाक स्वतन्त्रताबाट वञ्चित गरिएको भन्दै नरसंहार मच्चिन सक्ने भन्दै अन्तर्राष्ट्रिय समुदायहरुलाई सचेत हुन आग्रह गरेको छ। उसले राष्ट्र संघलाई यस विषयमा भारत सरकारलाई सचेत गराउनका लागि आग्रहसमेत गरेको छ। यसबीच जम्मु कश्मीरमा ७० हजार बढीको भारतीय फौजले हत्या गरेको तथा कश्मीरको मानव अधिकार परिषदले २ हजार ७३० जनाको ४० वटा सामुहिक चिहान भएको प्रमाण फेला परेको भन्दै पुन त्यस्तै नरसंहार मच्चिन सक्ने चिन्ता जाहर गरेको छ।

उसले जातीय नरसंहार हुन सक्ने भन्दै ७ आधार र १० अवस्थाको रहेको उल्लेख गरेको छ। भारतीय सत्तारुढ दल भाजपाको 'हिन्दुत्व'को सिद्धान्तलाई मुख्य कारक मानिएको छ। त्यस्तै अल्पसंख्यक सैनिक फोर्स (हिन्दु र शिख)हरुको बहुसंख्यक मुस्लिम समुदाय माथिको शासनलाई पनि जातिय नरसंहारको आधार जेनोसाइड वाचले जनाएको छ।

यहाँका मुस्लिम समुदायमाथि आतंकवादी, पृथकतावादी, हिंश्रक र अपराधीको रुपमा संज्ञा दिँदै नरसंहार हुन सक्ने उसले जनाएको हो। त्यस्तै कश्मीरमा हिन्दु र शिख समुदायका भारतीय सैनिक 'हामी' र कश्मिर मुसलिम नागरिक 'उनी'हरुबीचको हिंशा भड्किने अवस्था देखिएको जनाएको छ। भारतमा मोदी सरकार र भाजपाको नेतृत्वमा मुस्लिम विरुद्ध द्वेश पूर्ण सन्देशहरु सामाजिक सञ्जालमा फैलिरहेको र यसले नरसंहारको अवस्था सिर्जना गर्न सक्ने बताएका छ। भारत र पाकिस्तान विभाजनपछि १५ वटा नरसंहार भइसकेको र यसैको निरन्तरता हुन सक्ने जेनोसाइड वाचले जनाएको छ।

पाकिस्तानी प्रधानमन्त्री तथा राष्ट्रपतिसहितका नेताहरुले पटक पटक मुस्लिमहरुको नरसंहार गर्न भारत लागेको आरोप लगाउँदै आएका छन्।

पाकिस्तानी परराष्ट्रमन्त्री कुरेशीले पनि नेपाली परराष्ट्र मन्त्री ज्ञवालीसँगको टेलिफोन सम्बादमा यसलाई जोड दिएका थिए। उनले सार्कको अध्यक्षका हैसियतमा रहेको नेपालले यस क्षेत्रको शान्ति स्थायित्वका लागि आफ्नो भूमिका खेल्न आग्रह गरेका थिए। उनले भारतलाई कश्मीरका जनताको दु:ख कष्टका कम गर्न दबाब दिनसमेत आग्रह गरेका थिए।

सो टेलिफोन वार्ताका क्रममा नेपाली परराष्ट्र मन्त्री ज्ञवालीले कश्मीर अवस्थाको नजिकबाट नियाली रहेको र सबै विवादहरुको समाधान शान्तिपूर्ण तरिकाले होस भन्ने विषयमा दुबै पक्षलाई आग्रह गरेका थिए।

त्यस्तै पाकिस्तानी परराष्ट्रमन्त्री कुरेशीले सार्कको अर्को सदस्य राष्ट्र मालदिभ्सका परराष्ट्रमन्त्री अब्दुल्ला शाहीदलाई टेलिफोन गरी यस क्षेत्रको शान्ति र स्थायित्वको पक्षमा आवाज उठाउन आग्रह गरेका थिए। कुरेशीले मालदिभ्सका समकक्षीसँगको टेलिफोन वार्ताका क्रममा पनि भारतले जम्मु र कश्मीरमा जातिय नरसंहार मच्चाउन सक्ने भन्दै यसलाई रोक्न पहल गर्न आग्रह गरेका थिए।

यता पाकिस्तानी परराष्ट्र मन्त्री कुरेसीले राष्ट्र संघिय मानव अधिकार उच्च आयुक्तलाई टेलिफोन गरी कश्मीरमा मानव अधिकारको अवस्थाका विषयमा ब्रिफिङ गरेका छन्। शुक्रवार पत्राचार गर्दै उनले कश्मिरी जनताको पीडाको विषयमा पाकिस्तानी चासो व्यक्त गरेका छ। 

कश्मीरमा मानव अधिकारको उल्लंघन भइरहेको र भारतको कदमले राष्ट्र संघको बडापत्र, सुरक्षा परिषदले पारित गरेको प्रस्ताव, अन्तर्राष्ट्रिय कानुन तथा भारत आफैले व्यक्त गरेको प्रतिवद्धताको उल्लंघन गरेको कुरेशीले लेखेको पत्रमा उल्लेख रहेको पाकिस्तानी परराष्ट्र मन्त्रालयले जनाएको छ।

यसअघि कुरेशीले उच्च आयुक्तलाई ४ अगस्टमा पत्र पठाएका थिए। त्यस्तै ८ अगस्टमा टेलिफोन सम्वाद गरेका थिए। 

त्यस्तै पछिल्लो साता मात्र पाकिस्तानी परराष्ट्र मन्त्री कुरेशीले स्वीट्जरल्याण्डका परराष्ट्र मन्त्री इग्नाजियो कासिस, स्विडेनका विदेशमन्त्री कार्गोट वालस्ट्रोम, नर्वेका विदेशमन्त्री इन मारिय इरिक्सन, डेनमार्कका विदेशमन्त्री जेपे सेवेस्टिन र फ्रान्सका विदेशमन्त्री जिन यीभेस ले ड्रियनसँग कश्मीर मामिलाको विषयमा टेलिफोन वार्ता गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell