PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सेती नदीमा डुबेर पाँच महिनामा सात जनाको मृत्यु



रासस

सेती नदीमा डुबेर पाँच महिनामा सात जनाको मृत्यु
प्रतिकात्मक फोटो: odishabytes.com ।

डोटी: डोटीमा बग्ने सेती नदीले गएको वैशाख महिनायता स्थानीयवासी सात जनाको ज्यान लिएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै सेती नदीमा नुहाउने क्रममा सात जनाले अकालमै ज्यान गुमाइसकेका छन्। करिब ३९ वर्षअघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको डोटीको सेती नदीले वर्षेनी यहाँका स्थानीयवासीको अकालमै ज्यान लिने गरेको छ।

पाँच महिनामा सात जनाको सेती नदीकै कारण ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी लालबहादुर धामीका अनुसार जेठ ३ गते जिल्लाको केआइसिंह गाउँपालिका–५ का ३८ वर्षीय लोकेन्द्रबहादुर रावलको यो वर्षकै पहिलो व्यक्तिका रूपमा सेती नदीमा डुबेर मृत्यु भयो। शिखर नगरपालिका–२ कालागाडमा रहेको धार्मिक तीर्थस्थल सालमुनिमा पूजा गर्ने क्रममा नुहाउँदै गर्दा नदीमा बेपत्ता भएको उनको शव नौ दिनपछि फेला परेको थियो।

त्यस्तै शिखर नगरपालिका–४ की १६ वर्षीया धर्माकुमारी महरा जेठ ५ गते सेती नदीमै नुहाउने क्रममा डुबेर बेपत्ता भइन्। फुपूदिदीको घरमा आएकी धर्मा दिपायल सिलगढी नगरपालिका–५ घोल्तडा गाउँ नजिक सेती नदीमा बेपत्ता भएकी थिइन्। प्रहरीका अनुसार उनको शव हालसम्म पनि फेला परेको छैन। यस्तै आदर्श गाउँपालिका–५ लामिखालका ४५ वर्षीय पुस्कर सिंह सेती नदीमा नुहाउने क्रममा जेठ १३ गते डुबेर बेपत्ता भए। गाउँलेको मलामी आएका सिंह शिखर नगरपालिका–११ गोपघाट नजिकबाट नुहाउँदै गर्दा डुबेर बेपत्ता भएका थिए। उनको शव पनि १३ दिनपछि फेला परेको थियो।

आदर्श गाउँपालिका–६ गिरीचौकाकी अन्दाजी ३५ वर्षीया बसु अधिकारी असार ६ गते सेती नदीमा बेपत्ता भइन्। मानसिक स्वास्थ्य समस्या भएकी अधिकारीले सेती नदीमा हाम फालेकी थिइन्। उनको शव पनि अहिलेसम्म फेला परेको छैन। शिखर नगरपालिका–१० का अन्दाजी पाँच वर्षीय गोविन्द बलायर असार ६ गते सेती नदीमा डुबे। उनको शव डुबेको ठाउँबाट करिब ३ किलोमिटर तल फेला पर्‍यो। त्यस्तै आदर्श गाउँपालिका–४ का ५२ वर्षीया मनी पार्कीले दिपायल सिलगढी नगरपालिका–८ को नारी दाङमा हाम फालिन्। उनको शव हालसम्म फेला परेको छैन।

त्यसैगरी यही भदौ १ गते दिपायल सिलगढी नगरपालिका–४ राजपुर घर भएकी आठ वर्षीया बालिका करिश्मा नेपालीको सोही नगरपालिका–३ दिपायल बासुधारा नजिक नुहाउने क्रममा डुबेर मृत्यु भयो । मामाको घर गएकी करिश्मा १ गते आइतबार बिहान करीब १० बजे सेतीमा डुबेकी हुन् । उनको शव बगेको ठाउँबाट करिब १ किलोमिटर तल मटेलामा फेलापरेको थियो। 

सेती नदीमा पानीको प्रवाह तीव्र भएका कारण नुहाउन जाँदा सामान्य लापरवाहीले डुब्ने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी धामीले बताए।

उनले भने, 'सेती नदीको पानी अन्य नदीहरुको तुलनामा बढी चिसो र तीव्र छ, जसले गर्दा अन्य नदीमा पौडी खेलेका व्यक्ति सेती नदीमा छिट्टै डुब्ने गर्छन्।'

चिसो पानीमा पौडी खेल्दा रक्तसञ्चार कम हुने र मान्छे छिट्टै थाक्ने भएका कारण पौडी खेल्न नसकी डुब्ने गरेको उनको भनाइ छ।

नदीमा डुब्नेहरुमा अधिकांश नुहाउने क्रममा डुबेका छन्। सेती नदीमा वर्षेनी स्थानीयवासीको अकालमै ज्यान जान थालेकाले नदी किनाराका बस्तीमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको शिखर नगरपालिका–१ का वडाध्यक्ष खड्कबहादुर शाहीले बताए।

उनले भने, 'नदी छेउछाउका स्थानीयवासी बढी जोखिममा छन्, सबै मिलेर जनचेतनामूलक कार्यक्रम गर्न जरुरी भएको छ।' रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell