
टोक्योः जापान र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ। विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी ७) को बैठकमा दुवै देशका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै व्यापार सहमति भएको समाचार विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकासँगको व्यापार वार्ताको जिम्मेवारी सम्हालेका जापानी आर्थिक पुनरुद्धार मन्त्री तोशिमिचु मोटेगीले शनिवार वासिङ्टनमा संक्षिप्त प्रतिक्रिया दिँदै भने, 'वार्तामा ठूलो प्रगति भएको छ', मन्त्री मोटेगीको जापानी प्रतिनिधिमण्डल र अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरबीच ३ दिन लामो व्यापार वार्ता भएको थियो।
यसबीच जापानी अखबार निक्केईले सेप्टेम्बरसम्ममा जापान-अमेरिकाबीच ब्यापार सम्झौता भइसक्ने जनाएको छ। अहिले भने जापानले अमेरिकी बिफ र पोर्क आयातमा लगाएको अवरोध हटाउने सहमति भएको अमेरिकी आर्थिक टेलिभिजन च्यानल ब्लुमबर्गले पनि जापानी सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै जनाएको छ।
तर जापानी गाडीमा अमेरिकाले लगाएको करहरुमाथि भने पछि मात्र निर्णय गरिने भएको छ। अमेरिकाले जापानी कारको आयातमा २.५ प्रतिशत र जापानी ट्रकको आयातमा २५ प्रतिशत कर लगाउँदै आएको छ।
'वार्तामा भएका प्रगतिका बारे जापान–अमेरिका सम्मेलनमा सार्वजनिक गरिनेछ,' मोटेगीले भने। जापान–अमेरिका सम्मेलन फ्रान्समा आयोजना हुने जी७ को बैठककै अवसरमा फ्रान्समा नै हुँदैछ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिन्जो आबेबीच निकै सुमधुर सम्बन्ध रहेको छ। उनले दुवै देशबीचको व्यापारिक सम्बन्धलाई बढी समावेशी बनाउनुपर्नेमा जोड दिइरहेका छन्।
लाइटिजर र मोटेगी दुवैबीच जापानले अमेरिकी कृषिजन्य वस्तुमाथि लगाउँदै आएको करलाई ट्रान्स–प्यासिफिक पार्टनरसिप (टिपिपी) सम्झौता बमोजिम अरु देश सरह बनाउन सहमति भएको छ। साथै जापानले अमेरिकाबाट आयात हुने मासुजन्य वस्तुको कर घटाउने र दूधजन्य वस्तुमा लगाएको कोटा नराख्ने सहमति भएको जापानी प्रसारण संस्था एनएचकेले जनाएको छ।
जापानले यसअघि टिपिपी सम्झौता बमोजिम कृषिजन्य वस्तुका सन्दर्भमा अरु मुलुक सरहको व्यवहार गर्ने वचन दिँदै आएको छ।
पछिल्लो सहमतिमा अमेरिकाले जापानी औद्योगिक वस्तुमाथि अतिरिक्त कर नलगाउने जनाएको छ। तर जापानलाई टाउको दुखाइ भएको जापानी सवारीसाधनमा लाग्ने अमेरिकी करहरुका बारेमा भने अहिल्यै कुनै सहमति भएको छैन।
तर दुवै देशबीच अन्तिम सम्झौता आगामी सेप्टेम्बर महिनाको अन्त्यसम्ममा हुने जानकारी जापानी अखबारहरुले दिएका छन्।