PahiloPost

Nov 9, 2024 | २४ कात्तिक २०८१

महिला शक्तिको सतही प्रस्तुतिः फिल्म 'जाइरा'



मन्दिरा खत्री

महिला शक्तिको सतही प्रस्तुतिः फिल्म 'जाइरा'

काठमाडौं: जाइरा मार्सल आर्ट खेलाडी हुन्। उनका पति राहो एक इमान्दार प्रहरी इन्स्पेक्टर हुन्। दुवैजना वैवाहिक जीवनमा खुशी छन्। न्याय र जनताको हितमा विश्वास राख्ने राहोको जिम्मेवारी सहज भने छैन। एउटा गम्भीर र अप्ठ्यारो मामिला सुल्झाउन लागि परेका हुन्छन् उनी। उक्त मामिला बलात्कारको हो।

उक्त बलात्कारको आरोपित राजा हो। उसलाई अनुसन्धानका लागि हिरासतमा राखिएको हुन्छ। उ आफूले गरेको गल्ती स्वीकार्न तयार छैन। बरु उल्टै पीडित महिलालाई थर्काउँछ। प्रहरीकै अगाडि शक्ति र नेताको धाक लगाउन, धम्क्याउन पछि पर्दैन। उसको अराजकता असह्य भएपछि बाझाबाझका क्रममा राहोले राजाको औंला काटिदिन्छन्। घटनापछि राजा यसको बदला लिन अघि सर्छ र यसले राजा र राहो मात्र नभएर बलात्कारपीडित युवती र जाइरा सबैको जिन्दगी बिथोलिन्छ।

कथा फिल्म 'जाइरा'को हो।

बढ्दो महिला हिंसा, दुर्व्यवहार र बलात्कारको गम्भीर मुद्दालाई छुस्छ छोएर छोडिदिनुले पहिलो गाँसमै ढुंगा लागे सरह हुन्छ दर्शकलाई फिल्म हेर्दा। महिला शक्तिको कथा भन्ने भनिएको फिल्ममा प्रमुख महिला चरित्रलाई हिम्मतिलो र बलियो देखाउनकै लागि अर्को महिला चरित्रलाई 'बिचरा' भन्नु पर्ने बनाइएको छ। जसका लागि 'बलात्कार' शब्दको हल्ला प्रयोग गरियो।

यसमा चुकेका पटकथा लेखक तथा निर्देशक दुवै नै हुन्। अस्वाभाविक घटनाक्रम र दृश्य फिल्ममा पटकपटक दोहोरिन्छन्। हिरासतमा भएका व्यक्तिको औंला काट्नु जति अस्वाभाविक दृश्य अरु के होला?

पैसा र शक्तिको आडमा प्रहरीदेखि कानुनसम्मलाई हल्लाउन खोज्ने राजाजस्ता पात्रहरु नेपालमा धेरै छन्। उनीहरुलाई प्रहार गर्नुको सट्टा 'ग्लोरिफाई' गर्छ फिल्म 'जाइरा'ले।

जाइराको भूमिकामा देखिएकी नम्रता श्रेष्ठको फरक अभिनयबाहेक दर्शक तान्ने केही पनि छैन फिल्ममा। सधैं लभर गर्लको भूमिकामा देखिएकी नम्रताका फ्यानका लागि 'एक्सन गर्ल' जाइरा बिल्कुलै फरक लाग्छिन्। त्यसैगरी अभिनयकै पाटोमा सबल देखिएका छन् राजा बनेका प्रमोद अग्रहरि र उनकी प्रेमिका बनेकी सिर्जना रेग्मी पनि।

राजाको चरित्रमा बन्दुकको सट्टा रिस, क्रोध र बदलाको भाव अभिव्यक्त गर्न सकेको भए प्रमोद अग्रहरि अझै सशक्त देखिने थिए।

मुख्य कलाकार राहो अर्थात् अनुपविक्रम शाहीको अभिनयमा भने कुनै नौलोपन र परिपक्वता अनुभूति हुँदैन।

द्वन्द्व निर्देशन फिल्मको तारिफयोग्य पक्ष हो। तर, फिल्म द्वन्द्व मात्र होइन, कथा, पटकथा, चरित्र, छायांकन, निर्देशन लगायत सबैको उचित संयोजन हो भन्ने बिर्सेर एउटै पक्ष मात्र दमदार भएर फिल्म सशक्त बन्दैन।

कतै पनि दर्शकको संवेदना नछुने फिल्म आधा र अपुरो नै लाग्छ। एक्सन जनराको भनिए पनि फिल्म हेरिरहँदा दर्शकमा डर, त्रास, प्रतिसोध र उत्सुकता केही पनि उत्पन्न हुँदैन। एउटा दृश्य हेर्दै गर्दा त्यसपछि आउने अर्को दृश्यको सहजै अनुमान लगाउन सक्छन् दर्शकले।

डेब्यु निर्देशक आशुतोषराज श्रेष्ठले फिल्म टुंग्याउन गरेको हतारोले जाइरालाई कमसल बनाउने प्रशस्त ठाउँ दिएको छ। उनले बुझ्न आवश्यक थियो पोस्टर र ट्रेलरको तडकभडकले पहिलो दिन दर्शकलाई आकर्षित गर्ला। पात्रहरुको स्टन्ट र लुक्सले पनि सामाजिक सञ्जाल तताउला तर दर्शक तान्न र टिकाइ राख्न फिल्म नै राम्रो हुनुपर्छ।

गम्भीर विषयको सतही प्रस्तुतिले निर्देशक मात्र नभएर पटकथा लेखकमाथि पनि प्रश्न गर्ने ठाउँ दिएको छ।

फिल्ममा देखाइएको बक्सिङ रिङले समाजलाई प्रतिविम्बित गर्न सक्थ्यो। जहाँ शक्तिको पहुँच भएकासँग नभएकाको, कानुन मान्नेसँग नमान्नेको, पीडितसँग पीडकको लडाइ हुन्छ। तर, निर्देशककले बक्सिङ रिङलाई आकर्षणको केन्द्र मात्र बनाए। उक्त रिङको दृश्यलाई बढी फोकस गर्दा बाहिरी दृश्य ओझेलमा परे। निरन्तर सोही दृश्यले दर्शकलाई पट्यारलाग्दो बनाउँछ।

फिल्मलाई अपूरो छोड्दै जाइराको दोस्रो सिरिज आउने जानकारी दिइएको छ। आशा गरौं दोस्रो सिक्वेलले महिलालाई शक्तिशाली देखाउनुको साथै एउटा गतिलो फिल्मका तत्वहरुलाई समेत ध्यानमा राखी सशक्त प्रस्तुति पस्कने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell