
काठमाडौः प्रदेश नम्बर ३ की प्रदेशसभा सदस्य (सांसद) भावना सुवेदीको नगदसहितको पर्स लुट्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले गौशालाबाट एक युवकलाई नियन्त्रणमा लिएको हो।
सर्लाही बरथहवा नगरपालिका वडा नम्बर २ घर भएका निश्चल थिङलाई नियन्त्रणमा लिएको जनसेवाका डिएसपी वासुदेव खतिवडाले जानकारी दिए।
गत साउन २६ गते इन्द्रचोकमा रहेको लस्सी पसलमा लस्सी खाएर न्यूरोडतर्फ हिँड्दै गर्दा सांसद सुवेदीको साथमा रहेको पर्स चोरी भएको थियो। उनले प्रहरीमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो।
प्रहरीले नियन्त्रणमा लिएका थिङ पटके चोरी भएको खुलेको छ। प्रहरीले घटनास्थल वरपर रहेका सिसि क्यामराको आधारमा थिङलाई नियन्त्रणमा लिन सफल भएको हो।‘ हामीले वरपरका सबै सिसि क्यामरा अध्ययन गर्यौं। सिसी क्यामराको सहायताले नै लुटेरा भेटिएको हो।‘
सुवेदीको साथमा रहेको ७ हजार ३ सय रुपैयाँ र केही महत्त्वपूर्ण काजगपत्र चोरी भएको थियो।