PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

एभिसी सेन्ट्रल जोन भलिबल: अधिकांश खेलमा किन सोझो सेट बन्यो निर्णायक?



मुकुन्द घिमिरे

एभिसी सेन्ट्रल जोन भलिबल: अधिकांश खेलमा किन सोझो सेट बन्यो निर्णायक?

काठमाडौँः एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता शनिबार सम्पन्न भयो। भदौ २ देखि ८ गतेसम्म चलेको प्रतियोगितामा कीर्गिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्‍यो। भलिबल संघले पनि प्रतियोगिता सफल भएको बताइसकेको छ। भव्यताका साथ सम्पन्न भएका अधिकांश खेलको निर्णय भने सोझो सेटमै भयो। 

हरेक खेलमा प्रतिस्पर्धाले रोचकता थप्छ। अझ, सेमिफाइनल तथा फाइनल खेलमा प्रतिस्पर्धाको बढी अपेक्षा गरिएको हुन्छ। तर, प्रतियोगितामा यस्तो देखिएन। अधिकांश खेल सोझो सेटमा सकिँ‌दा टिम कम्बिनेसनमा असन्तुलन भएको हो कि भन्ने देखाएको छ।

आयोजक राष्ट्र नेपाल समूह चरणका २ खेलमा सोझो सेटमा पराजित हुँदै बाहिरियो। नेपाल कीर्गिस्तान र माल्दिभ्ससँग ३–० को सोझो सेटमा पराजित भयो। नेपाल रहेको समूह ‘ए’ मै पनि माल्दिभ्स कीर्गिस्तानसँग सोझो सेटमै पराजित भएको थियो। माल्दिभ्स पनि नेपाललाई सोझो सेटमै हराउन सफल रह्यो।

समूह ‘बी’ मा पनि अधिकांश खेलको निर्णय सोझो सेटबाटै भयो। चाहे त्यो बंगलादेश र उज्वेकिस्तान होस वा तुर्कमेनिस्तान र उज्वेकिस्तानको होस। समूह ‘बी’मा  तुर्कमेनिस्तान र अफगानिस्तान ३-१ को सेटमा तथा बंगलादेश र अफगानिस्तानबीचको खेल ३-२ ले निर्णायक भएको थियो।

समूह चरणपछिका बाँकी सबै खेलमा पनि सोझो सेट निर्णायक बन्यो। कीर्गिस्तानले सेमिफाइनलमा तुर्कमेनिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। कीर्गिस्तानले पहिलो सेट २५-१७, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२२ ले जितेको थियो। यता उज्वेकिस्तानले पनि सेमिफाइनलमा माल्दिभ्सलाई ३-० कै सोझो सेटमा पराजित गरेको थियो। उज्वेकिस्तानले पहिलो सेट २५-२० दोस्रो सेट २५-१९ र तेस्रो सेट २५-२१ ले हात पारेको थियो।

त्यस्तै, तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा पनि तुर्कमेनिस्तानले माल्दिभ्सलाई ३-० को सोझो सेटमै पराजित गरेको थियो। फाइनल खेल पनि सोझो सेटमा जितको निरन्तरताबाट अछुतो रहन सकेन। फाइनल खेलमा उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै कीर्गिस्तानले उपाधि हात पार्‍यो। कीर्गिस्तानले पहिलो सेट २६-२४, दोस्रो सेट २७-२५ र तेस्रो खेल २५-१९ ले हात पारेको हो।

यसरी हेर्दा अधिकांश खेलमा एउटा टिम बढी नै हाबी भएको देखिन्छ। समूह चरणमा अपराजित रहँदै अधिकांश खेल सोझो सेटमा जितेको उज्वेकिस्तान फाइनलमा आएर सोझो सेटमै पराजित भयो। त्यस्तै कीर्गिस्तानले सबै खेल सोझो सेटमा नै जित्यो। माल्दिभ्सले खेलेको सबै खेल या त सोझो सेटमा जित्यो या त सोझो सेटमै हार्‍यो।

नेपाल पुलिस क्लबका प्रशिक्षक भरत शाह खेल सधैँ एकनास नहुने भएकाले यसलाई सामान्य रूपले लिनुपर्ने बताउँछन्। ‘टिम गेममा भरपर्ने कुरा हो। कतिपय बेला प्रेसरले पनि महत्त्व राख्छ’ उनले भने ‘एउटा टिमले लिड गरेपछि दबाब बढिहाल्छ। यसमा खेलाडीको मनोविज्ञानले पनि असर गर्छ।’

अन्तर्राष्ट्रिय भलिबल रेफ्री क्यान्डिडेट समेत रहेका पूर्ण चौलागाईँ रणनीतिक हिसाबले पनि केही टिम चुकेको बताउँछन्। केही टिमले सबै टिमसँग एउटै रणनीतिमा खेल्न खोज्दा सोझो सेटमा पराजित हुन पुगेको उनको विश्लेषण छ। ‘एउटा टिम र अर्को टिमसँग खेल्ने रणनीति फरक हुनुपर्छ। केही टिम रणनीतिक हिसाबले चुक्दा यस्तो नतिजा आएको हो’ उनले पहिलोपोस्टसँग भने।

भलिबल संघका महासचिवसमेत रहेका जितेन्द्र चन्दको विश्लेषण फरक छ। लगानी, तयारी र शारिरीक बनोटको हिसाबले दक्षिण एसियाली देशभन्दा अन्य देश अगाडि रहेको उनको बुझाइ छ। ‘रसियाबाट छुट्टिएर आएका कीर्गिस्तान, उज्वेकिस्तान लगायतका देशहरूको खेलस्तर पनि माथि नै छ। पछिल्लो ४–५ वर्षमा यिनीहरूको भलिबलमा लगानी पनि धेरै छ। २०१५ एसियन सेन्ट्रल जोनको पहिलो प्रतियोगिता बंगलादेशमा आयोजना हुँदा कीर्गिस्तानको टिम नेपालको जस्तै थियो’ महासचिव चन्दले पहिलोपोस्टसँग भने ‘त्यति बेला खेलाडी पनि अग्ला र यतिका फिट थिएनन्। अहिले आएर उनीहरूले राम्रो लगानी गरेर टिमको स्तर धेरै माथि पुगेको छ।’

चन्दका अनुसार उज्वेकिस्तानको खेल राम्रो थियो तर उनीहरूको आपसी तालमेल नमिल्दा फाइनलमा सोझो सेटमा पराजित हुन पुगे। दोस्रो सेट पनि जित्न नसकेपछि उनीहरूको प्रदर्शनको स्तर खस्कियो।

भलिबल नेपालको राष्ट्रिय खेल पनि हो। त्यसैले पनि नेपालमा अन्तर्राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजनाले विशेष अर्थ राख्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell