PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

‘हनी ट्र्यापिङ’ गर्ने तविताः आत्महत्याको घुर्कीले गायक राजेश पायलदेखि व्यापारीसम्म ठग्ने दाउ



सविन ढकाल

‘हनी ट्र्यापिङ’ गर्ने तविताः आत्महत्याको घुर्कीले गायक राजेश पायलदेखि व्यापारीसम्म ठग्ने दाउ

काठमाडौः ‘पैसा नदिए मर्दिन्छु।‘

गरिमाले फेसबुकमा म्यासेज पठाएपछि सरोज केही हच्किन्छन्। शुरुमा उनलाई गरिमाले जिस्किएको जस्तो मात्र लाग्छ। त्यसपछि पनि गरिमाले पैसा माग्न छोड्दिनन्। ‘साँची भनेको विष खाएर मर्दिन्छु', सरोजलाई गरिमाले पैसा नदिए विष खानेसम्मको घुर्की लगाइरहन्छिन्।

एकछिनमा सरोजको मोबाइलमा अर्को म्यासेजको घण्टी बज्छ। म्यासेज उनै गरिमाको। एउटा तस्बिर पठाएको हुन्छ। तस्बिर देखेपछि उनको खुट्टा लगलग काँप्न थाल्छ। गरिमाले पैसा नदिएर मर्न तयार भएको र विष पनि किनेको भन्दै विषको फोटो पठाएकी हुन्छिन्।

सरोजले गरिमालाई चिनेको जम्माजम्मी ५ महिना मात्र भएको थियो। दुवैबीच फेसबुकमार्फत चिनजान भएको थियो। गरिमाको धम्की या धुर्कीको अगाडि सरोजको केही चल्दैन। आफ्नी भर्चुअल प्रेमिकाको घुर्की सरोजमाथि हाबी हुन्छ। गरिमाको माग अनुसार सरोजले २ लाख ३० हजार रुपैयाँ पठाउँछन्।

जेट एयरमा एयरहोस्टेसको काम गर्ने गरिमालाई पैसाको त्यस्तो आवश्यकता किन पर्‍यो?  उनी आफैं पनि जागिरे टन्न कमाउने, त्यसमथि बाबुआमा अमेरिकामा बस्ने अनि दाजुभाइ डाक्टर पाइलट। सरोज अनेक सोचविचार गर्छन् तर यही कुराको जवाफ भने पाउँदैनन्।

गरिमाले सरोजसँग चाँडै नै विवाह गर्ने बताउँदै आएकी थिइन्। तर अहिलेसम्म उनीहरूको फेसबुकमा बाहेक भेट भएको छैन। सरोज गरिमाको प्रेममा चुर्लुम्म डुबेका थिए। प्रेमीले पठाएको पैसा पाएपछि गरिमा विष खाने घुर्की पनि घुर्कीमै सीमित।

समय आफ्नै गतिमा अघि बढ्यो। केही महिनापछि फेरि गरिमाले पैसा माग्न थालिन्। अनि फेरि उही आत्महत्याको घुर्की। पैसा नदिए विष खाएर मर्दिने। गरिमासँग भर्चुअल प्रेममा चुर्लुम्म डुबेका सरोजलाई भने अब गरिमामाथि शङ्का लाग्छ। थप पैसा दिन सक्ने अवस्थामा हुँदैनन् सरोज। पैसा नदिए मर्दिने धम्की बारम्बार दोहोर्‍याउँछिन् गरिमाले। आफ्नो कारणले आत्महत्या गरे आफू जेल जाने डर छ सरोजलाई।

केही नलागेर सरोज अन्ततः प्रहरीको शरणमा पुग्छन्। इलाका प्रहरी कार्यालय अनारमनीको टोली सरोजको कुरा सुनेर छक्क पर्छ। युवतीको पहिचान गर्नमा लाग्छ। गरिमाले सरोजलाई आफ्नो घर भारतको सिक्किम भएको बताएकी हुन्छिन्। प्रहरी पनि युवतीले आत्महत्या नै गर्ने हुन् कि भनेर सजग हुन्छ।

केही समय खोजी गरेपछि प्रहरीले एउटा त्यस्तो कुरा पत्तो लगाउँछ, जुन कुराले पूरै घटनालाई 'ट्विस्ट एन्ड टर्न' गराइ दिन्छ। गरिमाले चलाएको फेसबुक नक्कली रहेको प्रहरीको छानबिनले देखाउँछ।

अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बस्ने  २७ वर्षीया तविता राईले फेक फेसबुक आइडी बनाएर 'हनी ट्रापिङ' गरी ठग्ने गरेको प्रहरीले फेला पार्छ। प्रहरीले ती युवतीलाई नियन्त्रणमा लिन्छ। ‘नक्कली फेसबुक खोलेर प्रेम र विवाहको नाटक गरी ठगी गर्ने गरेको देखिएको छ। आफू मर्नेसम्मको घुर्की लगाएर रकम असुल्ने गरेको देखियो‘, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी मोहन थापाले भने।

युवतीले विभिन्न आकस्मिक समस्या देखाएर ठगी गर्ने गरेको पाइएको छ।

गायक राजेश पायलदेखि व्यापारीसम्म !

युवतीले विभिन्न पैसा भएका र सहजै आफ्नो जालमा फस्न सक्ने युवकसँग सम्पर्क बढाउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। गुराँस श्रेष्ठ, गरिमा श्रेष्ठ लगायतको नक्कली फेसबुक आइडी तविताले प्रयोग गर्ने गरेकी थिइन्। उनको नक्कली आइडीमा गायक राजेश पायल राईदेखि व्यापारीसम्म रहेको देखिएको छ।

युवतीले गायक राजेश पायल राईको आइडीमा समेत फेसबुक फ्रेन्ड भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। गायक राजेश पायलसँग पनि उनको म्यासेन्जरमा कुरा भएको देखिएको छ। 'विभिन्न व्यक्तिसँग कुरा भएका छन्। गायक राजेश पायल नामको आइडीमा पनि कुरा भएको छ। अब गायक राईको आइडी सक्कली वा नक्कली के हो बुझ्दै छौँ‘, डिएसपी थापाले भने।

युवतीले फेसबुकमा भ्वाइस कल मात्र गर्ने गरेको देखिएको छ। 'हनी ट्र्यापिङ' गरी ठगीमा मुद्दामा तवितालाई झापा जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell