PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

घरभाडा नदिएको भन्दै घरघनीले वडा कार्यालयमा लगाए ताला



रासस

घरभाडा नदिएको भन्दै घरघनीले वडा कार्यालयमा लगाए ताला

डोटी: जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् ।

उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको र वडा कार्यालयले एक महिनाको भाडाबापतको रकम नदिएर कार्यालय अनेत्रै भवनमा सार्न थालेपछि घरधनी गोविन्दले तालाबन्दी गरेको स्थानीय देवेन्द्र खड्काले बताए।

उनले भने, 'घरभाडाको रकम नदिएर कार्यालय सार्न थालेपछि घरधनीले तालाबन्दी गरेका हुन्, रकम नदिएरै घर सार्नु राम्रो होइन।'

उता सो वडाका वडाध्यक्ष बहादुर खड्काले वडा कार्यालयले प्रत्येक महिना घरभाडाबापतको रकम दिँदै आएको दाबी गरे।

'घर भाडाको रकम प्रत्येक महिना दिएकै छौँ, साउनको बाँकी छ', उनले भने, 'कार्यालय सार्ने कुरो त भएको हो, सारिएको छैन, किन ताला लगाए मैले नि बुझेको छैन।'

वडा कार्यालयमा तालाबन्दी गरिएपछि वडा कार्यालयबाट हुने सबै प्रकारका सरकारी कामकाज प्रभावित भएको स्थानीयवासी बताउँछन्। घरधनी गोविन्द खड्काले घरभाडा नदिएकाले आफूले तालाबन्दी गरेको स्वीकार गरेका छन्।

उनले भने, 'कही घर नपाएको बेला मेरो घरभाडामा लिएर बस्ने अहिले भाडासमेत नदिएर अफिस सारेकाले तालाबन्दी गरेको हुँ, मेरो भाडा आए ताला खोल्छु।' उक्त वडा कार्यालयको भाडाबापतको मासिक रकम कर कट्टीबाहेक पाँच हजार २०० रुपैयाँ सम्झौता भएको बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell