
नयाँ दिल्ली: मोरङकी चित्ररेखा घिमिरे ६ महिनायता भारतको नयाँ दिल्लीस्थित रोहिणी सेक्टर फाइभमा बस्दै आएकी छिन्।
उनको यो बसाइ क्यान्सरको उपचारका लागि हो। स्तन क्यान्सरको निदानका लागि उपचाररत उनी आइतबार साँझ सोमबजारस्थित नेपाली चोकमा 'तीजको रहर आयो बरि लै' मा छमछमी नाचिन्।
'यसपटक तीज मनाउन नेपाल जान नपाइने भो। यतै मनाउन पाउँदा निकै खुसी लागेको छ,' घिमिरेले नाच्दा नाच्दै भनिन्।
रोग निको हुँदै गर्दा स्वदेशीको बाक्लो उपस्थितिमा नाच्न पाउँदा उत्साहित भएको घिमिरेले सुनाइन्।
चितवनकी उषा सिम्खडा यही समूहमा नाच्दै थिइन्। पाठेघरको क्यान्सरको उपचार गराउन दिल्ली आइपुगेकी उनी भन्छिन्, 'नेपालीसँग तीज मनाउन पाएँ। निकै खुसी लाग्यो। आत्मीयता बढ्यो। के गर्ने यसपाला उता जान नपाइने भइयो।'
पीडामा पनि यसरी रमाइलो गर्न पाएको भन्दै पोखराकी सिन्धु बिजुक्छेले आयोजकलाई धन्यवाद दिइन्।
सोमबजारमा नेपालीको उपस्थिति बाक्लिँदै गएको र उपचार गराउन आइपुगेकाहरुको रोजाइ पनि यही ठाउँ हुने भएकोले यसै ठाउँलाई लक्षित गरी तीजको कार्यक्रम आयोजना गरिएको दिल्ली निवासी साहित्यकार इल्या भट्टराईले बताइन्। उनका अनुसार राजीव गान्धी क्यान्सर रिसर्च इन्टिच्युटमा उपचार गराउन पुगेकाहरुमध्ये अधिकांशले बसाइका लागि सेक्टर फाइभको सोमबजार नै रोज्छन्। आइतबार बिदाका दिन भएकाले पनि तीज कार्यक्रम आयोजना गरिएको उनले बताइन्।
सोमबजारमा तीजको कार्यक्रम पहिलोपटक आयोजना गरिएको साहित्यकार भट्टराईले जानकारी दिइन्। उनले माइती बिर्साउने यस्तो खालको कार्यक्रम सराहनीय र उदाहरणीय भएको उल्लेख गर्दै शुभकामना व्यक्त गरिन्।
तीज कार्यक्रममा सहभागीहरुमा उपचार गराउन दिल्ली पुगेकामध्ये आधाआधी नेपाली दिदीबहिनीको सहभागिता रहेको नेपालबाट पुगेका साहित्यकार/सामाजिक अभियन्ता बिकु लामाले जानकारी दिए। 'धेरैजसो उपचारका लागि आउनुभएको दिदीबहिनी हुनुहुन्थ्यो। नजिक पर्ने भएकाले अस्पताल जान यहीं बस्नुहुँदो रहेछ,' कार्यक्रमको संयोजनसमेत गरेका लामाले पहिलोपोस्टसँग भने।
उपचाररत नेपालीको स्वास्थ्यलाभको कामना गर्दै तीज कार्यक्रम गरिएको र उक्त स्थानको नामसमेत 'नेपाली चोक' राखिएको लामाले बताए।
त्यहाँस्थित एन बी टुर्स एन्ड ट्राभल्सका संस्थापक एवं प्रबन्ध निर्देशक बिष्णु शाही ठकुरीले नेपालीको दु:ख पीडामा साथ दिन पाउँदा खुशी लागेको धारणा राखे। शाहीले आउने दिनमा कार्यक्रमलाई निरन्तरता दिने वचन दिए। कार्यक्रम संयोजक समूहमा अरुणकान्त मैनाली, बिष्णु शाही ठकुरी, गौतम बिजुक्छे, रामप्रसाद अवल, बद्री पलान्चोके, बिनोद उलक, नरेन्द्र शाही, खड्ग राई थिए।