PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

प्रचण्डको अध्यक्षतामा बसेको ने क पाको बैठकको निर्णय: देवेन्द्र पराजुलीदेखि कल्पना धमलासम्मलाई केन्द्रीय सदस्यको जिम्मेवारी



कुञ्जरमणि भट्टराई

प्रचण्डको अध्यक्षतामा बसेको ने क पाको बैठकको निर्णय: देवेन्द्र पराजुलीदेखि कल्पना धमलासम्मलाई केन्द्रीय सदस्यको जिम्मेवारी

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी(ने क पा)को आज बसेको सचिवालय बैठकले देवेन्द्र पराजुलीसहित चार जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा पार्टीको मुख्यालय धुम्बाराहीमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले समाजवादी पार्टी छाडी आएका देवेन्द्र पराजुली,कल्पना धमला र विप्लव नेतृत्वको पार्टी छाडी आएका पदम राई र किरण राईलाई केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

समाजवादी पार्टी छाडी ने क पामा आएका पराजुली र धमलालाई असार २१ गते अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका थिए।

बैठकले पार्टीको धारणा सार्वजनिक गर्नुअघि तल्लो तहदेखि नै पार्टीमा छलफल गर्नुपर्ने निर्णय गरेको छ। नेता तथा कमिटिहरुकाे विषयमा चित्त नबुझेका कुरा पार्टीमा छलफल नगरी सार्वजनिक गरे स्पस्टिकरणसहित आवश्यक कार्बाही गरिने प्रवक्ता श्रेष्ठले बताए।

यसैगरी बैठकले केही इन्चार्ज र सहइन्चार्जको जिम्मेवारीसमेत हेरफेर गर्ने निर्णय गरेको छ। केही बेरमै हेरफेर गरिएको सूची सार्वजनिक हुने ने क पाले जनाएको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा ने क पाका अर्का अध्यक्ष प्रचण्डले पहिलोपटक बैठक डाकेका हुन्। 

बैठकमा प्रधानमन्त्री ओलीबाहेक ८ जना सचिवालय सदस्य उपस्थित भए। यसअघि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो। पार्टी एकतापछि धुम्बाहाराहीमा गत मंसिरमा एक पटक स्थायी समितिको बैठक बसेको थियो। 

आजको सचिवालय बैठक सांगठनिक एकताका बाँकी काम सम्पन्न गर्न बोलाएको बताइएको थियो।

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि महत्वपूर्ण सांठगनिक संरचनाबारे निर्णय भइसकेको छ। बाँकी काम टुंगो लगाउन प्रचण्डसहितका नेताहरुलाई जिम्मेवारी दिएर ओली बिहीवार सिंगापुर प्रस्थान गरेका हुन्।

ने क पामा अब प्रवास कमिटी, पोलिटब्यूरो गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायतका निर्णय हुन बाँकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell