PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

डा. बाबुरामले 'कम्युनिजम स्वर्गजस्तै हो, मरेपछिमात्र पाइन्छ' भनेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाशले दिए बधाई



पहिलोपोस्ट

डा. बाबुरामले 'कम्युनिजम स्वर्गजस्तै हो, मरेपछिमात्र पाइन्छ' भनेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाशले दिए बधाई

काठमाडौं : समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कम्युनिजम मरेपछि मात्र पाइने वस्तु भएको टिप्पणी गरेपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बधाई दिएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता शर्माले कम्युनिजमप्रति भट्टराईले गरेको टिप्पणीलाई लिएर बधाई दिएका हुन्।

उनले भनेका छन्, 'कम्युनिज्म सपनाको खरो आलोचना बाबुरामले पछिल्लो टिप्पणीमा गर्नु भएपछि सोध्न मन लागेन- 'कस्तो बौद्धिकता छ यहाँसँग जो त्यो दर्शनको बाटो गलत बुझ्न ४० वर्ष लाग्यो?

बरु बधाई दिन मन लाग्यो, ताकि व्यक्तिगत रुपमा यी भलामानुसको उदाहरण हेरेर जीवनको उर्वर उमेर अरुले खेर नफालुन्!'

भट्टराईले प्राध्यापक कृष्ण पोखरेलको ट्वीटलाई 'कोट' गर्दै कम्युनिजम स्वर्गजस्तै परिकल्पना भएको बताएका छन्। पोखरेलले शुक्रबार ट्वीट गर्दै 'मैले त हिजो नेताहरूको दन्तबझानबाट पछौटे मुलुकका कम्युनिस्ट पनि पछौटे नै हुँदा रैछन् भन्ने निष्कर्ष निकालें!' लेखेका थिए।

सोही ट्वीटमा सोही दिन बाबुरामले थपेका छन्, 'बिल्कुल सही कुरा, कृष्ण सर! 'कम्युनिज्म’ भनेको ‘स्वर्ग’जस्तै परिकल्पना हो, अर्थात् जीवनमा हैन मरेपछि प्राप्त हुने कुरा हो, जुन आजसम्म कसैले देखेको छैन! तैपनि धार्मिक पण्डाहरूले धर्मभीरू जनतालई स्वर्गको सपना बेच्न नछाडे झैं राजनीतिक पण्डाहरूले पनि कम्युनिज्मको सपना बेचिरहनेछन्!'

कृष्ण पोखरेलले यस्तो ट्वीट गरेका थिएः

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले पछिल्लो समय कम्युनिजमको बारेमा लगातार ट्वीट गर्दै आएका छन्।

ती ट्वीटहरुमा उनले कम्युनिजमको कडा टिप्पणी गर्दै अबको बाटो समुन्नत समाजवादको हुनुपर्ने उल्लेख गरेका छन्।

नेकपा माओवादी पार्टी त्यागेर नयाँ शक्ति पार्टी स्थापना गरेका भट्टराई  पछिल्लोपटक उपेन्द्र यादवको संघीय समाजवादी पार्टीसँग एकता गरी बनेको पार्टीको परिषद्का अध्यक्ष छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell