PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

यो महिना 'आर' शालामा 'पलेँटी' कस्दै लेकालीका गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ



पहिलोपोस्ट

यो महिना 'आर' शालामा 'पलेँटी' कस्दै लेकालीका गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ

काठमाडौं: यो महिनाको ‘पलेँटी शृंखला’मा सांगीतिक समूह लेकाली-परिवारले आफ्ना सांगीतिक प्रस्तुति घन्काउने भएको छ। लामो समय सामूहिक सांगीतिक प्रस्तुति नगरेका लेकालीका ३ सदस्यहरू यतिबेला पलेंटीका निम्ति नेपालयको ‘आर’शालामा अभ्यासमा जुटेका छन्। झन्डै ५० वर्षपछि गणेश रसिक, हिरण्य भोजपुरे र उर्मिला श्रेष्ठ फेरि लेकालीलाई लिएर स्टेजमा उत्रन लागेका हुन्।

विसं २०२४ सालमा स्थापना भएको सांगीतिक समूह हो लेकाली। शुरुमा ‘राल्फा’मा रहेका गणेश रसिक ‘राल्फा’ छाडेर काठमाण्डौ त्यौड टोलकी उर्मिला श्रेष्ठ र अर्का भोजपुरे युवा हिरण्य भोजपुरेसँगको भेटघाट बाक्लिन्छ। उर्मिलाको पुर्ख्यौली घरमा नै उनीहरूको जमघट थलो बन्छ र त्यहीँ जन्मन्छ ‘लेकाली-परिवार’। त्यसपछि बिस्तारै लेकाली समूहमा निर्मला श्रेष्ठ, शशी भण्डारी, इन्द्रनारायण मानन्धर, कमला श्रेष्ठ, नवीन किशोरहरू पनि सामेल हुन्छन्।

त्यसबेला लेकालीका ‘लहरा पहरा’, ‘ट्याम्के डाँडा’, ‘ए है है’, ‘काफल पाक्यो’ जस्ता गीतहरूले देशभरि नै चर्चा कमाएका थिए। लेकालीले नेपालको पूर्वी पहाडको लोक शैलीलाई आधार बनाएर तयार पारेका गीतहरू झण्डै लोकगीत सरह नै स्थापित भए। गणेश रसिकले तयार पारेको ‘रातो भाले क्वाएँ क्वाएँ’ र हिरण्य भोजपुरेले धामी बसेको शैलीमा तयार पारेको ‘झाँक्री गीत’लाई अधिकांशले अझै पनि लोकगीत नै ठाने पनि त्यस्ता गीतहरू लोकशैलीमा सिर्जना गरिएका मौलिक गीत रचना थिए।

आफूले तयार पारेका गीतका हरफ यतिबेला बुढ्यौलीमा पलेँटीमा गाउने बेलामा बिर्ने पो हो कि भन्ने चिन्तामा छन्- हिरण्य भोजपुरे। 'कागज नै हेरेर गाउनु पर्ने अवस्थामा पुगिसक्यो हाम्रो सम्झना शक्ति', भोजुपुरे भन्छन्, 'तर जे भए पनि हामीलाई नाम र पहिचान भने यिनै गीतले दिएका हुन्।’

त्यसबेला लेकालीमा रहेकामध्ये कति जना कलाकारको निधन भइसकेको छ भने केही विदेशमा छन्। कति त अशक्त नै भइसके। जे भए पनि लेकालीका त्रिमूर्ती भोजपुरे, रसिक र उर्मिलाले विगतका तिनै सहयात्रीहरू सँगको संगतलाई सम्झना गर्दै गीत गुञ्जाउने छन् यस महिनाको पलेँटीमा।

‘हामी सामूहिक गायनमा अभ्यस्त भए पनि यति लामो अन्तरालमा स्टेजमा आउँदैछौं। कस्तो होला भन्ने डर पनि छ,' उर्मिलाको टिप्पणी थियो, 'पलेँटीले माया गरेर राखेको प्रस्तावले राम्रै हुन्छ भन्ने पनि लाग्छ।‘ पलेँटीमा लेकालीलाई गायिका मीना निरौलाले पनि गायनमा साथ दिनेछिन्। मीना पलेँटीसँग लामो समयदेखि संलग्न छिन्।

‘पलेँटीमा यसपाली लेकालीलाई सुन्न पाउनु भनेको संगीतको माध्यमबाट नेपाली समाजको अध्ययन गर्न पाउनु पनि हो भन्ने लाग्छ मलाई’, पलेँटी संयोजक आभासले भने। शुरुवातदेखि नै पलेँटीको सञ्चालन गर्दै आएका संगीतकर्मी आभासले लेकालीको सांगीतिक यात्राको सेरोफेरोमा लेकालीसँग संवाद पनि गर्नेछन्।

कालिकास्थानस्थित ‘आर’शालामा हुने पलेँटीमा लेकालीलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गिटारमा सुरज प्रधान, पर्कुसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिनेछन्।

यही महिनाको १३ गते शुरु हुने लेकालीसँगको पलेँटी ३ दिनसम्म चल्ने छ (तदनुसार अगस्ट ३०, ३१ र सेप्टेम्बरको १ तारिखसम्म)। शुरुमा अंग्रेजी महिनाको अन्तिम शुक्रवार एक दिन मात्र हुने गरेको पलेँटी केही महिनायता महिनाको अन्तिम साताको शुक्रवार, शनिवार र आइतवार गरी तीन दिन सञ्चालन हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell