
काठमाडौँः पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ।
आदेश अनुासर तीनै जना रिहा भइसकेका छन्।
जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले रविलाई पाँच लाख, युवराजलाई तीन लाख र अस्मितालाई साधारण तारिकमा छोड्न आदेश दिएको हो।
आइतवार सरकारी वकिल कार्यालयले अदालतमा मुद्धा दर्ता गराएपछि हिजोबाट नै बयान सुरु भएको थियो। आइतवार अस्मिता कार्कीको बयान लिइएको थियो। आज भने अदालतले संचारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान लिएको हो।
भिडियोमा नै प्रश्न
अदालतले आदेशमा भिडियो रेकर्डिङमा प्रश्न गरेको छ। अदालतले भिडियो स्थिर मोडमा राखेर रेकर्ड गरेको भए पनि प्रहरीको बरामदी मुचुल्कामा त्यस्ता विषय समावेश नभएको आदेशमा उल्लेख गरेको छ। अदालतले उक्त भिडियो रेकर्डको समयमा अन्य कुनै व्यक्तिको सहयोग पुडासैनीले लिएको हुनसक्ने आशंका समेत गरेको छ।
आदेशमा भनिएको छ ‘निजले घटनास्थलको सो कोठामा उपयुक्त उचाइको स्थानमा आफ्नो मोबाइल भिडियो रेकर्ड मोडमा स्थिर राखी भिडियो खिचेको हो भने घटनास्थल मुचुल्का र बरामदी मुचुल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्थामा भेटिएको भन्ने व्यहोरा उल्लेख भएको पनि देखिएन। अतः सो भिडियो रेकर्ड हुँदा निज शालिकराम पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रेकर्ड गरेको अवस्था देखिन्छ।’
अदालतले भिडियो र झुन्डिएको अवस्थामा कपडा फरक फरक परेको विषयलाई पनि आदेशमा उल्लेख गरेको छ।