हङकङका दुई क्रिकेट खेलाडी इर्फान अहमद र नदिम अहमदलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आजीवन प्रतिबन्ध लगाएको छ। उनीहरुलाई म्याच फिक्सिङ् गरेर आइसिसीको नियम उल्लङ्घन गरेको आरोपमा आइसिसीले प्रतिबन्ध लगाएको हो।
उनीहरुसँगै अर्का खेलाडी हसिब अमजदलाई पनि पाँच वर्षका लागि प्रतिबन्ध लागेको छ। यी तीन खेलाडीहरुलाई एन्टी करप्सन ट्रिब्युनलले म्याच फिक्सिङ गरेको पाइएको थियो।
इरफानलाई २०१४ जनवरी १३ मा हङकङ र स्कटल्यान्ड र २०१४ जनवरी १७ मा भएको हङकङ र क्यानडाबीच भएको म्याच म्याचमा फिक्सिङ तथा म्याच प्रभावित पार्न सक्रिय रहेको पाइएको हो। इरफानले हङकङका लागि ६ वन डे र ८ टी २० खेल खेलेका थिए।
त्यस्तै, स्पिनर नदिमले २५ ओडिआई र २४ टी २० खेल खेलेका थिए। मिडियम पेसर हसिब अमजदले २५ अन्तर्राष्ट्रिय खेल खेलेका थिए, जसमा ७ वटा ओडिआई र १८ वटा टी २० रहेका छन्।
आइसिसीका महाप्रवन्धक एलेक्स मार्सलले भनेका छन, ‘लामो जाँच र अनुसन्धानबाट पत्ता लागेको छ कि अनुभवी अन्तराष्ट्रिय क्रिकेटरहरुले खेल प्रभावित पार्न सुनियोजित प्रयास गरेका छन्। दुई अहमद दाजुभाइले अरुलाई पनि भ्रष्ट बनाउने कोसिस गरेका छन्। मुख्य आरोप स्कटल्याणन्ड र क्यानडासँगको म्याचमा छ, जहाँ केही ओभर फिक्स गरिएको थियो।’
मार्सलका अनुसार ती खेलमा हङकङले नै जित निकालेकाले फिक्सिङले ठूलो प्रभाव पार्न सकेन। यद्यपि खेललाई प्रभावित पार्न खोज्ने क्रियाकलाबहरु सह्य नहुने उनले बताएका छन्। इर्फान अहमद र नदिम अहमद नाताले दाजुभाइ हुन्।