PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

'ब्लु हेल्मेट' फिर्ता लैजान राष्ट्र संघसमक्ष  सुडानको माग, कति छन् त्यहाँ नेपाली ब्लु हेल्मेट?



विधुर ढकाल

'ब्लु हेल्मेट' फिर्ता लैजान राष्ट्र संघसमक्ष  सुडानको माग, कति छन् त्यहाँ नेपाली ब्लु हेल्मेट?

काठमाडौं: युद्धग्रस्त मुलुक सुडानले आफ्नो देशमा परिचालित राष्ट्र संघीय शान्ति सेना फिर्ता लैजान संयुक्त राष्ट्र संघलाई आग्रह गरेको छ।

उसले जुन २०२० सम्म राष्ट्र संघबाट शान्ति स्थापनार्थ खटिएका सेनाहरुलाई फिर्ता गर्न अल्टिमेटमसहित माग गरेको अल जजिराले जनाएको छ। तर, अफ्रिकन युनियनले भने पश्चिमी क्षेत्रमा अझै सुरक्षा अवस्था हिंसात्मक रहेको जनाएको छ।

राष्ट्र संघका लागि सुडानी राजदूत ओमर मोहमद सिद्दिगले सोमवार राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा यस्तो माग राखेका हुन्। उनले डार्फरबाट शान्ति सेनालाई हटाउने बेला भएको तर्क राखे। त्यस्तै उनले सरकारको सैन्य गतिविधि तथा फौजमाथि लगाइएको प्रतिवन्ध खुलाउने बेला आएको बताए।

गत वर्षको जुनको अन्तिममा सुरक्षा परिषदमा अफ्रिकन युनियनमा रहेका शान्ति स्थापनार्थ खटिएका सेनालाई फिर्ता पठाउने निर्णयलाई रोक्न मतदान भएको थियो। सुरक्षा परिषद्ले राजनीतिक संक्रमण कायम रहेको भन्दै शान्ति मिसनलाई निरन्तरता दिने बाटो खोलेको थियो। अक्टोबर ३१ सम्मलाई राष्ट्र संघ र अफ्रिकन युनियनको संयुक्त शान्ति सेना (अनअमिड)लाई कायम राख्दै थप कदमका लागि राष्ट्र संघ र अफ्रिकन युनियनलाई सेप्टेम्बर ३० भित्र सुझाव दिन भनेको थियो।

हाल डार्फरमा राष्ट्र संघका पाँच हजार ६०० ब्लु हेल्मेट परिचालित छन्। यो संख्यालाई ४ हजार ५० मा झार्ने योजना बनिरहेको छ।

सुडानको डार्फरमा खटिएकी नेपाली सेनाकी क्याप्टेन पुनम खड्का। फाइल फोटो: UN Photo

सन् २००३ मा डार्फरमा युद्ध भड्किएको थियो। जातीय अफ्रिकी विद्रोही समूहले अरब नियन्त्रित सुडानी सरकारले विभेद गरेको भन्दै संघर्ष सुरु गरेपछि हिंसा बढ्दै गएको थियो।

खार्तुममा रहेको सरकारमाथि त्यहाँको स्थानीय नोमाडिक अरबी समूहलाई हतियार उपलब्ध गराई सर्वसाधारणमाथि दमन गरेको आरोप लागेको थियो। तर यो आरोपलाई सरकारले अस्विकार गर्दै आएको थियो।

पछिल्ला वर्षहरुमा सरकारको सैन्य गतिविधि बढ्दै जाँदा विद्रोहीहरु घट्दै गएका छन्। त्यस्तै यो समूहमा पनि विभाजन भएको थियो।

सन् २०१८ को जुलाईमा सुरक्षा परिषद्मा शान्ति सेनाको फौज घटाउँदै लैजाने विषयमा मतदान भएको थियो। त्यसका लागि जुन ३०, २०२० लाई लक्ष्य निर्धारण गरिएको थियो।

अफ्रिकी युनियनका शान्ति तथा सुरक्षा आयुक्त स्माइली चेरगोइले अझै डार्फरले सैन्य भिडन्त झेलीरहेको बताएका छन्। 'अब्दुल वाहिद इलन्युर नेतृत्वको विद्रोही सेना र सरकारी सेनाबीच भिडन्त भइरहेका छन्। जसले सर्वसाधारण प्रताडित भएका छन् भने गैर सरकारी संस्थाका प्रतिनिधिहरुलाई चन्दाका लागि धम्की तथा व्यापारिक ट्रकहरुमा लुटपाट भइरहेको छ। स्थानीय मिडिया तथा मानवीय संगठनका सम्पत्तिहरु लुटिरहेका छन्', उनले भने।

कति छन् सुडानमा नेपाली सेना?

सुडानमा शान्ति स्थापनार्थ नेपाली सेना सन् २००४ देखि परिचालित हुँदै आएका छन्। सन् २००४ देखि युनाइटेड नेशन मिसन इन सुडान (अनमिस)मा फोर्स कमाण्डर सहित नेपाली सेना खटिएको थियो। त्यस्तै सन् २००८ देखि राष्ट्र संघ र अफ्रिकन युनियनको संयुक्त टोली अनअमिड सुडान अन्तर्गत सैन्य पर्यवेक्षक र शान्ति स्थापना फौजमा नेपाली सेना कार्यरत रहेको थियो।

त्यस्तै २०११ मा अनमिस अन्तर्गत सैन्य प्रयवेक्षक र सैन्य टोली परिचालित भएको थियो।

हाल अगस्ट २५ सम्मको तथ्यांकमा नेपाली सेना विश्वका १२ मिसनमा खटिँदै छ। शान्ति सेना पठाउने देशमध्ये विश्वको पाँचौँ स्थानमा रहेको नेपालबाट १२ मिसनमा ५ हजार ७४ सेना खटिएका छन्। जसमध्ये २०४ जना महिला छन्। नेपालले राष्ट्र संघको आग्रहमा ५ हजारसम्म सैनिक उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।

हाल सुडानमा युनाइटेड नेसन इन्तरिम सेक्युरिटी फोर्स फर अवियेइमा सैन्य पर्यवेक्षकको रुपमा ३ र स्टाफ ५ गरी ८ जना परिचालित छन्। यो फोर्स सुडान र हालै सुडानबाट अलग भएको दक्षिणी सुडानको बीचमा रहेको क्षेत्र अवेइमा शान्ति स्थापनाका लागि स्थापना गरिएको थियो।

त्यस्तै त्यस्तै अनअमिड अन्तर्गत सात स्टाफ परिचालित छन्।

२०११ को जनवरीमा सुडानबाट अलग भई बनेको दक्षिण सुडान अनमिस अन्तर्गत पर्यवेक्षक ८ स्टाफ ४१ र सैनिक जवान एक हजार ५४६ गरी १ हजार ५९५ सैनिक परिचालित छन् भने मानव अधिकार परिषद् मातहत १४९ सैनिक परिचालित छन्।   

सन् १९५५ मा राष्ट्र संघको सदस्य बनेको नेपालले १९५८ देखि नेपालले राष्ट्र संघ मातहत शान्ति सेना पठाउन थालेको थियो पहिलोपटक लेबनानमा सैन्य पर्यवेक्षकको रुपमा सैनिक पठाएको थियो। त्यतिबेला ५ जना पर्यवेक्षक नेपालबाट खटिएका थिए। सन् १९७४ मा पहिलो पटक इजिप्टमा नेपाली सेनाको सैन्य टुकडी परिचालित भएको थियो। यहाँ पुरानो गोरखा बटालियन परिचालित भएको थियो। हालसम्म राष्ट्र संघका ४३ मिसनमा एक लाख २७ हजार २२० सेनाका जवान तथा अधिकृतहरुले सहभागिता जनाएका छन्। यस क्रममा ६५ जनाले ज्यान गुमाउनुका साथै ६६ जना अपांग भएको नेपाली सेनाको तथ्यांकमा उल्लेख छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell