PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

धरहरामा मिचिँदै 'उपाकु मार्ग' : काँचो दियो बाल्दै जाने रुट अब के होला?



सहयोग रञ्जित

धरहरामा मिचिँदै 'उपाकु मार्ग' : काँचो दियो बाल्दै जाने रुट अब के होला?

येंया: (इन्द्रजात्रा) को पहिलो दिन भाद्र शुक्ल द्वादशीमा वर्ष भरी दिवंगतहरुको सम्झनामा दीप बाल्दै नेवार समुदाय उपाकु जाने गर्छन्। लिच्छवी कालमा सुरु भएको 'उपाकु' जाने क्रममा मन्दिर, दोबाटोमा काँचो दियो बालेर राख्दै यात्रा गरिन्छ। यसरी बाटोमा दियो बाल्दै यात्रा गर्नाले पितृमोक्ष हुने जनविश्वास छ। यो वर्ष भदौ २४ गते उपाकु परेको छ।

काठमाडौंमा उपाकुको आफ्नै रुट छ। यसबेला क्षेत्रपाटी, ठँहिटी, ज्याथा, कमलाछी, भोताहिटी, महाबौद्ध, न्यूरोड, टेबहाल, सुन्धारा, बागदरबार, भोटेबहाल, लगन, ह्युमत, भीमसेनस्थान, नरदेवी हुँदै नगर परिक्रमा गर्ने गरिन्छ।

तर, यसपटक भने उपाकु मार्गमा पर्ने महत्वपूर्ण धरहरा - बागदरबार बीचको बाटोमा यात्रा अवरुद्ध हुँदैछ। उपाकुका क्रममा टेबहाल हुँदै सुन्धारा, धरहराबाट बागदरबार निस्कनुपर्ने हुन्छ। तर, धरहरा निर्माणका कारण यो मार्ग बन्द छ। यही बाटोबाट नै स्थानीयले दिवंगतहरुको शव यात्रा समेत गर्दै आएका छन्। धरहरा निर्माणका क्रममा बाटो बन्द भएदेखि नै स्थानीय विरोधमा छन्।

सजिलोका लागि भनेर काठमाडौं मल पछाडिको गल्ली सर्वसाधारणका लागि खुल्ला गरिएको थियो। तर, ऐतिहासिक उपाकु मार्ग खुल्नुपर्ने भन्दै बन्द बाटो खुलाउन प्रयास समेत भयो। उनीहरुले काठमाडौं मलबाट धरहरा जाने बाटोमा लगाएको टहरा नै भत्काएर विरोध जनाएका थिए।

येंया: नजिकिएसँगै स्थानीयहरुले भने उपाकु मार्गमाथि सरकारले अतिक्रमण गरेको भन्दै भदौ २४ गतेका लागि सो मार्ग खुलाउनुपर्ने बताएका छन्। स्थानीय संघ संस्था र सरोकारवालहरुले केही दिनयता येंया: संचालन हुने रुट निरीक्षण गरिरहेको छ। सोही क्रममा धरहरा परिसर पनि निरीक्षण गरिएको थियो। निरीक्षणमा उनीहरुले धरहरा निर्माणका क्रममा सांस्कृतिक महत्व बोकेको उपाकु मार्ग मिचिएको पाए।

निरीक्षण टोलीमा रहेका गणपतिलाल श्रेष्ठका अनुसार पहिला धरहरा संचालनको अनुमति पाएको साइड वर्कर्स पनि सो बाटो बन्द गराउने प्रयत्न गरेको थियो। तर, सर्वोच्च अदालतले सांस्कृतिक बाटो सार्वजनिक नै हुने फैसला सुनाएको बताउँदै उनले भने, 'यहाँ सरकारले नै उपाकु मार्ग अतिक्रमण गरी त्यहीँ नै नयाँ भ्यू टावर बनाउन लागेको छ। हामी अब सबै सरोकारवालासँग छलफल गर्छौं र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँछौं।'

निर्माण पक्षले वैकल्पिक बाटोको व्यवस्था गर्ने त बताएको छ। तर, त्यहाँ कुनै स्थानबाट पनि वैकल्पिक बाटो निर्माण हुने नदेखिएको उनले सुनाए। सरकारले आफ्नो गल्ती नसच्याए जनताले उपाकुका लागि आफै माटो लगेर सांस्कृतिक मार्ग ब्युताउँने उनले चेतावनीसमेत दिए।

मुद्दा हाल्ने तयारी

उपाकु मार्गका बारेमा धरहरा निर्माण भएदेखि नै विवाद हुँदै आएको हो। अभियन्ताहरुले अहिले बनिरहेको धरहरा 'पुनर्निर्माण' नभइ 'नवनिर्माण' भएको तर्क गर्दै आएका छन्।

भीमसेन थापाले बनाएको धरहरा भत्किएपछि सरकारले सोही स्थानमा नभइ क्षति पुगेको धरहराको अगाडि नयाँ धरहरा निर्माण गरिरहेको छ। त्यसैको मिचोमा पर्‍यो उपाकु मार्ग। सरकारले निर्माणका क्रममा सांस्कृतिक महत्वलाई प्राथमिकता नदिएको अभियन्ताहरुले आरोप लगाउँदै आएका छन्। यस प्रकारको 'टावर' बनाएर सम्पदा संरक्षण नहुने भन्दै उनीहरुले सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरिरहेका छन्।

अभियन्ता याद्धवलाल कायस्थ भन्छन्, 'यो पुनर्निर्माण होइन नवनिर्माण हो। यो निर्माणका कारण उपाकु रोकिने खतरा भएको छ। अन्य सांस्कृतिक पर्व रोकिएको छ। त्यसैले हामी यस निर्माण विरुद्ध रिट दायर गर्दैछौं।'

उनले आगामी केही समयमा नै रिट दायर गर्ने तयारी स्वरुप धरहराको ऐतिहसिक प्रमाणहरु संकलन गरिरहेको बताए। यसका लागि केही दिन अघि उनीहरुले गुठी संस्थानमा गएर धरहरामा गुठीको संलग्नताबारेमा बुझ्ने प्रयास गरेका थिए।

अभियन्ताहरुले पुरानै स्थानमा परम्परागत शैलीमा नै धरहरा पुनर्निर्माण हुनुपर्ने माग गर्दैछन्।

कालो सूचीमा परेको ठेकेदार, निर्माण साह्रै सुस्त

प्रधानमन्त्री ओलीको 'ड्रिम प्रोजेक्ट' का रुपमा रहेको धरहरा पहिला भन्दा फरक स्थान र आधुनिक प्रविधिले बनाइँदैछ। भीमसेन थापाले निर्माण गरेको धरहरा ११ तले थियो। सन् १९९० मा गएको भूकम्पले त्यो धरहरामा क्षति पुग्यो। क्षति भएको धरहरा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले पुरानै शैलीमा बनाए। तर, ११ तलेको सट्टा ९ तले। भूकम्प प्रतिरोधात्मक धरहरा लिफ्टसहित २२ तलेको हुनेछ अब भने। पुरानो भत्किएको धरहराको बाँकी संरचना भने त्यहीँ रहनेछ, सम्झनाका लागि।

पढ्नुस: २२ तले बन्दैछ 'नयाँ नेपालको नयाँ धरहरा': साढे तीन अर्बको प्रोजेक्ट

करिब ३ अर्ब ४२ करोडको लागतमा बन्दै गरेको धरहरा अब ४२ रोपनी जमिनमा फैलनेछ। त्यसका लागि हाल गोश्वारा हुलाक कार्यालय रहेको भवन र वाणिज्य बैंक रहेको टक्सार भवन भत्काइने छ। उक्त स्थानमा लिफ्टसहितको अत्याधुनिक तीन तले अन्डरग्राउन्ड पार्किङ बनाइने छ। माथि भने 'वाटर फाउन्टेन'सहितको हरियाली पार्क बनाइनेछ। यसका साथै त्यहाँ संग्राहलय बनाउनेतर्फ पनि प्राधिकरणले काम गरिरहेको छ।

पुनर्निर्माणमा परम्परागत तरिकाले नभइ कंक्रिटको प्रयोग गरी बनाइँदैछ। हाल धरहराको जगको काम भइरहेको छ। धरहरा पुनर्निर्माणको हालसम्म करिब २० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ। यही अवस्थामा दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको धरहराको काम कसरी सकिन्छ। अझै, गोश्वारा हुलाक कार्यालय रहेको भवन र वाणिज्य बैंक रहेको टक्सार भवन भत्काइने भनिए पनि काम सुरु भएको छैन।

ऐतिहासिक धरहराको पुनर्निर्माण ठेक्का जिआइइटिसी-रमन जेभीले पाएको छ। नेपाल सरकारले भने सो कम्पनीलाई यस वर्ष कालो सूचीमा राखेको छ। यद्यपि, कालो सूचीमा पर्नु अघि नै कम्पनीले ठेक्का पाएको हो। त्यसैले धरहरा निर्माणको काममा असर नपर्ने बताइएको छ।

अभियन्ताहरुले भने नयाँ बनिरहेको धरहरालाई 'झिल्के टावर'को संज्ञा दिएका छन्। हरेक भूकम्पमा ढलेको धरहरा फेरि नढल्ने ग्यारेण्टी नभएको भन्दै जनधन धेरै रहेको स्थानमा कंक्रिटले धरहरा निर्माण गर्नु उचित नभएको अभियन्ताहरुको तर्क छ।

कुमारी घर लगायतका सम्पदाहरु जिर्ण अवस्थामा रहेको र तिनीहरुको निर्माणमा सरकारले चासो नदिएको भन्दै कायस्थले ३ अर्बको लगानीमा निर्माण हुँदै गरेको धरहराले पर्यटकलाई आकर्षित गर्न नसक्ने बताए। यसबाट सीमित व्यक्तिको स्वार्थ पूरा हुने र धरहरा व्यापारिक कम्प्लेक्समा रुपान्‍तरित हुने कायस्थले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell