PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

नारायणगढ-मुग्लिन सडकखण्डमा तीन नयाँ पुल बने



रासस

नारायणगढ-मुग्लिन सडकखण्डमा तीन नयाँ पुल बने
फोटो: Google Map ।

चितवन: नारायणगढ-मुग्लिन सडकखण्डमा तीन नयाँ पुलको निर्माण सम्पन्न भएको छ। ती नयाँ पुलमा सवारी साधन गुड्न शुरु गरेका छन्। सँगै निर्माण थालिएको एउटा पुलको भने ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ।

नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख इ रोहितकुमार विसुरालका अनुसार मौरी, खानीखोला र दासढुङ्गा पुलमा सवारी सञ्चालनमा आएका हुन्। ती पुलमा रङरोगन, साइन पोष्टलगायतका सजाउने र सुरक्षा सतर्कताका काम मात्र बाँकी रहेको उनले जानकारी दिए। निर्माणको चरण सकिएकाले सवारीसाधन गुड्न थालेका उनको भनाइ छ।

औपचारिक रुपमा पुल सम्पन्न हुन र उद्घाटन हुन भने केही समय लाग्ने विसुरालले जानकारी दिए। ती पुल लामा कन्स्ट्रक्सनले निर्माण गरेको हो। सँगै सोही सडकको जलवीरेमा रौताहा कन्स्ट्रक्सनले निर्माण थालेको पुल भने ३५ प्रतिशत मात्र सम्पन्न भएको छ।

विसुरालका अनुसार सो पुलको पहिरोलगायतका कारण काममा कठिनाइ भएकाले आउँदो डिसेम्बरसम्म समय थप गरिएको छ। जलविरे पुलको डिजाइन परिवर्तन, अप्ठ्यारो ठाउँ, फरक प्रकृतिको पुल भएका कारण पनि ढिलाइ भएको हो। जलवीरे पुल ८० मिटर लामो छ । मौरीपुल ३०, खानीपुल ३० र दासढुङ्गा पुल २० मिटर लम्बाइ तथा चौडाइ भने सबैको ११ मिटर रहेको छ।

जलवीरे पुल १४ करोड रुपैयाँमा ठेक्का दिइएको हो भने अन्य तीन पुलको कूल निर्माण लागत १३ करोड रुपैयाँ रहेको छ। सो सडक खण्डमा अझै १५ पुल निर्माण गर्नुपर्ने हुन्छ। ती पुल निर्माणका लागि प्रक्रिया अघि बढिरहेको विसुरालले जानकारी दिए। ती पुल २०७४ साल कात्तिकमा २२ महीनाभित्र सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो।

सो सडकखण्डको गत वर्ष विस्तारको काम सम्पन्न भएको हो। सडक ११ मिटरसम्म फराकिलो बनाइएको भए पनि पुल छ मिटर मात्र चौडा रहेकाले सबै पुल नयाँ निर्माण गर्नुपर्ने भएको हो।

पहिलो चरणमा चारवटा पुल निर्माणको ठेक्का लगाइएको थियो। बाँकी पुल डिजाइनसहित ठेकेदारले बनाउने गरी ठेक्का दिइँदै छ। सो सडक हुँदै दैनिक १० हजार सवारीसाधन गुड्ने गर्दछन्। राजधानी प्रवेश गर्ने र बाहिरिने यो मुख्य सडक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell