PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

बाबुरामले मार्क्सवाद पोलेर खाएको भीम रावलको आरोप, 'थारु समुदाय भड्काउन किन लागिरहेका छन् डा भट्टराई?'



एम बम

बाबुरामले मार्क्सवाद पोलेर खाएको भीम रावलको आरोप, 'थारु समुदाय भड्काउन किन लागिरहेका छन् डा भट्टराई?'

धनगढी: नेपाल कम्युनिष्ट पार्टी(ने क पा)का नेता भीम रावलले समाजवादी नेपालका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई समाज भड्काउन लागेको आरोप लगाएका छन्।

 धनगढीस्थित ने क पाको पार्टी प्रदेश कार्यालयमा आयोजित पत्रकार भेटघाटमा नेता रावलले उक्त आरोप लगाएका हुन्।

 कम्युनिस्ट पार्टी विगतदेखि नै थारु समुदायको हितमा लागेको दाबी गर्दै उनले भने, 'कमैयादेखि कमलरी र थारु समूदायमाथि थोपरिएका शोषणका अनेक रितिथिति हटाउन कम्युनिष्ट पार्टीले पहिले आवाज उठाएको थियो। यसबारेमा हामी हिजो पनि दृढतापूर्वक क्रियाशिल थियौं। आज पनि छौ।'

थारु समुदायसँग सम्बन्ध नै नभएका र सुदुर पश्चिम क्षेत्रको विकासमा कुनै योगदान नदिएका नेताले समाज भड्काउन खोज्नु गम्भीर विषय भएको रावलको आरोप थियो। 'थारु समुदायसँग कुनै सम्बन्ध नभएका यो मुद्दामा कुनै सरोकार नराख्ने। यो क्षेत्रका विकासका लागि योगदान नगरेका। नेपालका संविधान बनिसकेर प्रधानमन्त्रीको पुगेर सुविधा लिएका। अहिले पनि प्रतिनिधि सभामा सांसद भएका व्यक्तिले अब समुदायसमुदायबीच लडाई हुनुपर्छ। घरघरबाट आन्दोलनमा उठ्नुपर्छ भन्नु भड्काउने समाजमा अस्थिरता र द्वन्द्व सिर्जना गर्न खोज्नु,' उनले भने, 'यो बाबुराम भट्टराईजीको विषयमा कुरा गरेको हुँ। उहाँले विगतमा पनि जातीय राज्यको विषयमा कुरा गर्नुभएको थियो।'

यसरी राज्य बढाउँदै लाने हो भने १२४ राज्य बन्नुपर्ने उनले तर्क गरे। भने, 'नेपालमा १२४ राज्य बन्छन्। त्यसो भए राउटेको पनि बनाऔ। सबैभन्दा घुमन्तेको किन राज्य बन्दैन।'

हालै ट्वीटरमा गरेको टिप्पणीप्रति व्यङ्ग्य गर्दै नेता रावलले बाबुरामले मार्क्सवाद पोलेर खाएको आरोप लगाए। भने, 'फेरि उहाँले ट्वीटरमा मार्क्सवादको कुरा गर्नुभएको छ। मार्क्सवाद उहाँले आफैले पोलेर खाइसक्नुभयो।'

मार्क्सवाद छाडिसकेका नेताले अरुलाई पाठ सिकाउन नपाइने रावलको भनाई थियो। 'कुन मार्क्सवादको कुरा गर्नुभएको हो। कुनै बेला जवहारलाल नेहरु विश्वविद्यालयमा पढ्दा मार्क्सवादको कुरा गर्नुहुन्थ्यो। अहिले कम्युनिजम र मार्क्सवाद काम लाग्दैन रे। यस्ताले अरुलाई शिक्षा दिन सुहाउँछ?' रावलले भने, 'मार्क्सवादको खरानी घसेर जातीय राजनीतिमा लाग्नुभएको छ उहाँ।'

रावलले थारु समुदायलाई भड्काउमा नलाग्नसमेत आग्रह गरेका छन्।  'व्यक्तिहरु चार वर्षअघि जेल पर्नुभएको छ। यसरी भड्किएर नै हो। त्यस्तो काम नगरौ। हाम्रो स्पष्ट धारणा यही हो,' उनले भने, ' सुदुर पश्चिम बहुजातीय प्रदेश हो। सबैले एकताबद्ध भएर यो प्रदेशको विकासमा अगाडि बढ्नुपर्छ। एक जातिले अर्कोलाई घृणा गरेर विकास हुन सक्दैन।'

भेटघाटमा रावलले हालै बसेको मन्त्रिपरिषद्को भिडियो कन्फ्रेन्सको बिरोधसमेत गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell