![[अपडेट] सुर्खेत बस दुर्घटना : मृत दुई जनाको सनाखत, ब्रेक नलागेर दुर्घटना भएको चालकको दाबी](https://pahilopost.com/assets/upload/contentthumb/69518553_2373372522990530_3373014615582572544_n.jpg)
सुर्खेतः सुर्खेतमा बस दुर्घटना हुँदा मृत्यु भएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ।
जाजरकोटबाट नेपालगन्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बस आज बिहान भेरीगंगा नगरपालिका-५ एमाले मोडमा दुर्घटना भएको हो। दुर्घटनास्थलमा एक जना महिलाको मृत्यु भएको थियो भने उपचारको क्रममा थप दुई जनाको मृत्यु भएको थियो।
उपचारको क्रममा मृत्यु हुने जाजरकोट बारेकोट गाउँपालिका– ७ की २५ वर्षीय लक्ष्मी बस्नेत र जाजरकोटकै नलगाड नगरपालिका–७ की ५१ वर्षीय हजारी वादीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रवि रावलले जानकारी दिए।
घटनास्थलमै मृत्यु भएको एक महिलाको सनाखत अझै हुन नसकेको रावलले जानकारी दिए।
दुर्घटनास्थलबाट उद्धार गरी २९ जनालाई उपचारका लागि मेडिकल कलेज कोहलपुर पठाइएकोमा ४ जना उपचार पछि डिस्चार्ज भइसकेको र दुई जनालाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। बसमा ३० जना यात्रु सवार रहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको मुख्य कारण मोड र बसको ब्रेक फेल भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ‘दुर्घटनास्थलमा हेर्दा मोड र ब्रेक नलागेको देखिन्छ’ डिएसपी रावलले भने,‘चालक र सहचालक लाई नियन्त्रणमा लिएका छौँ। उनीहरूका अनुसार पनि बसको ब्रेक नलागेको बुझिन्छ।’