
काठमाडौँः प्रगतिशिल युवा नेपालले घरेलु भलिबलमा सर्वाधिक धनराशीको खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने बताएको छ।
आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्वर्गीय प्रकाश दाहालको स्मृतिमा राजधानीमा भदौ २४ देखि २८ गतेसम्म ‘प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप’ राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता गराउने जानकारी दिएको हो।
प्रगतिशील युवा नेपालका अध्यक्ष दीपक थापाले खेलकुद विकास र समृद्धिको पूर्वाधार रहे पनि उल्लेख्य फड्को मार्न नसकिरहेको अवस्थामा प्रगतिशील युवा नेपाल खेलकुदमा नयाँ उर्जाका साथ जोडिएको बताए।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ। त्यस्तै, दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन्।
स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०-१० हजार रुपैयाँ हात पार्ने महासचिव सुनील थापा मगरले जानकारी गराए।
प्रतियोगितामा तीन विभागीयसहित बढीमा १० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विकास गुरुङले जानकारी दिए। प्रतियोगिताको अनुमानित खर्च ३८ लाख ५० हजार रुपैयाँ रहने आयोजकको अनुमान छ।