
हेटौँडाः मकवानपुरमा फरक-फरक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मकवानपुरको हटौँडा-५ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री मकवानपुरगढी-४ का ४० वर्षीय सोमलाल घलानको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै बुधबार दिउँसो अटोरिक्साको ठक्करबाट घाइते पैदलयात्री हेटौँडा–११ का ५० वर्षीय नारायण लम्सालको उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। हेटौँडा -११ मा अटोको ठक्करले गम्भीर घाइते भएका उनको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको हो।
हिजो साँझ नै मकवानपुरगढी–२ मा चट्याङका कारण एक जनाको मृत्यु भएको छ। घरनजिक बसिरहेको अवस्थामा साँझ ३० वर्षीय सुन्तली विकलाई चट्याङ लागेको र उनलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा मृत्यु भएको जनाइएको छ।
हेटौँडाका सवारी दुर्घटनामा संलग्न प्रदेश २–०३००१ प ९३९० नंको मोटरसाइकलका चालक रोशन दुलाल तथा ना २ ह १८९० नंको अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।
यस्तै पोखरामा गएराति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन्। पोखरा महानगरपालिका-३२ गगनगौँडामा गएराति ग ७ प ७४२८ नंको मोटरसाइकल र ग ११ प २३५८ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा नदीपुर निवासी १८ वर्षीय जगबिन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।
ठक्करपछि ट्रकको चक्कामुनि परेर गम्भीर घाइते भएका पुनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो। सो दुर्घटनामा लेखनाथ भण्डारढीकका विकल सुनार र रुपा–७ का दीपक विक तथा पोखरा अर्चलबोटका निशान गुरुङ घाइते भएका छन्।
गएराति नै पृथ्वीराजमार्गस्थित लेखनाथको तालचोकमा भएको अर्को दुर्घटनामा काठमाडौँ कीर्तिपुरका २८ वर्षीय थमन पाइजाको मृत्यु भएको छ। ग ३ च १४२२ नंको मिनीभ्यान र बा ९४ प १७०५ नंको मोटरसाइकल राति ९ः४५ बजेको समयमा एकापसमा ठोक्किँदा घाइते भएका पाइजाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।