PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

प्रधानमन्त्री सिंगापुरबाटै सहभागी भर्चुअल क्याबिनेट : हात्ती आयो, हात्ती आयो, फुस्सा!



नेत्र तामाङ

प्रधानमन्त्री सिंगापुरबाटै सहभागी भर्चुअल क्याबिनेट : हात्ती आयो, हात्ती आयो, फुस्सा!

काठमाडौं : स्वास्थ्यमा समस्या देखिएपछि १० दिन सिंगापुर बसेर फर्केको दश दिनमै दोस्रो पटक सिंगापुर नै पुगेका प्रधानमन्त्री केपी शर्मा ओली गत आइतबार अभौतिक रुपमा मन्त्रिपरिषद्को बैठकको सहभागी भए। मन्त्रिपरिषदको अध्यक्षता नै गरे। स्मार्ट सरकारको छवि कायम गर्न, कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई दिएको भए पनि उनैले अध्यक्षता गरे मन्त्रिपरिषदको।

उपचार गर्न गएका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत् सरकार चलाउन सक्रिय रहिरहे। त्यसको तामझाम सहित प्रचार गरियो। सिंगापुर र काठमाडौं दुवैतिरको भिडियो कन्फ्रेन्सका तस्बिरहरु मिडियामा भाइरल भए।

त्यसो त, ओली सिंगापुर उडेकै दिन सरकारका प्रवक्ता सञ्चार मन्त्री गोकुल बास्कोटाले नियमित पत्रकार सम्मेलनमा प्रविधिको उच्चतम प्रयोग गरेर भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद्को बैठक गर्न मिल्ने व्यवस्था गरिएको जनाएका थिए।

नभन्दै आइतबार बैठक डाकियो। प्रधानमन्त्री ओलीकै अध्यक्षतमा र भनियो : पहिलोपटक मन्त्रिपरिषद्को बैठक भिडियो कन्फ्रेन्सबाट।

सत्तासीन पार्टीका नेता कार्याकर्ताले यो समाचारलाई एकैछिनमा भाइरल पनि बनाइदिए। भाइरल हुनु स्वभाविक पनि थियो। पहिलो पटक देशबाहिरबाटै भर्चुअल रुपमा प्रधानमन्त्रीले जिम्मेवारी सम्हाले।

सरकारले आग्रगामी छलाङ मारेको अभिव्यक्ति सत्तारुढ दलका नेताहरुले दिए। सिंगापुर बसेका प्रधानमन्त्रीले उच्चतम प्रविधिको गरेर पनि देशका लागि मेहनत गरे। धेरैलाई लाग्यो अब केही हुन्छ कि?

तर, केहीबेरमै सामाजिक सञ्जालमा भिडियो कन्फ्रेन्स कुनै नयाँ कुरा नभएको प्रतिक्रिया पनि आउन थाल्यो। किनकि दशक अघि नै अमेरिकामा भएका दाजुलाई नेपालमा भएको बहिनीले निधारमा भर्चुअल टीका लगाइसकेका थिए। अष्ट्रेलियामा भएका छोरासँग नेपालमा रहेकी आमाले स्काइपबाट कुराकानी गरिसकेका थिए। श्राद्ध देखि न्वारनसम्म भिडियोकै माध्यममा जनताको तहमा भइसकेको थियो।

मन्त्रिपरिषद्को बैठक पहिलोपटक भिडियोमार्फत हुँदा तरंग फैलिनु चाहिँ स्वभाविक थियो। विरामी भएका प्रधानमन्त्री सकुशल बैठकमा सक्रिय देख्दा जनता दंग पनि परे। तर, मन्त्रिपरिषद्को गोपनीयता र प्रधानमन्त्रीको अध्यक्षतामाथि चाहि प्रश्न भने उठ्यो जुन स्वभाविक थियो नै।

मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका सचेतक बालकृष्ण खाणले भिडियो कन्फ्रेन्सको विरोध गरे।

'उच्च र आधुनिक प्रविधिको प्रयोग गर्नु राम्रो पक्ष हो, तर, पछिल्लो कार्यविधि संशोधनबाट अधिकारको दुरुपयोग भएको छ,' खाणले भने, 'प्रधानमन्त्री स्वदेशमा नभए पनि उहाँकै अध्यक्षतामा बैठक सञ्चालन गर्नु ठीक होइन। भिडियो कन्फ्रेन्सबाट बैठक गर्दा सूचना चुहिनेमात्र होइन, लिएको शपथ विपरीत हुन जान्छ।'

उनले यस्ता गम्भीर गल्ती नगर्न समेत सचेत गराए।

खाणले सभामुख नभई प्रतिनिधि सभाको बैठक बस्न नमिल्ने तर्क गर्दै भने, 'राष्ट्रिय सभाका अध्यक्ष अमेरिका जाँदा त्यहाँबाट भिडियो कन्फ्रेन्सबाट गर्न मिल्छ?'

उनले यो जग हास्ने कुरा भएको आरोपसमेत लगाए।

प्रमुख सचेतक खाणले प्रधानमन्त्री बाहिर जाँदा ओलीको कार्यभार सम्हाल्ने व्यवस्थाअनुसार कार्यभार तोकिएको जानकारी सभामुखले संसद्लाई गराइसकेको बताउँदै प्रधानमन्त्री अध्यक्षतामा भिडियो कन्फ्रेन्सबाट बैठक बस्दा कार्यभार तोकिनुको अर्थ के रह्यो भनी प्रश्न गरेका थिए।

कुरा यतिमै टुंगिएन। पत्रकार सम्मेलन गरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडियो कन्फ्रेन्स बैठकको विरोध गरे। देशमा कार्यवाहक प्रधानमन्त्री हुँदाहुँदै प्रधानमन्त्री ओलीले सिंगापुरबाट बैठकको नेतृत्व गर्नु हरेक किसिमले अनुचित भएको दाबी गरे।

बैठक चार कारणले अनुचित भएको उल्लेख गर्दै प्रवक्ता शर्माले भनेका थिए, 'कार्यवाहक प्रधानमन्त्री हुँदाहुँदै दुई जना प्रधानमन्त्री देखिए। यो कस्तो अभ्यास हो? टेलिकन्फ्रेन्सको गोपनीयताको बारेमा किन ख्याल गरिएन? गोपनीयता सार्वजनिक हुन सक्छ। यो त सर्वभौम राष्ट्रको गोपनीयता कायम राख्नुपर्ने हो। अर्को यसलाई नजिर मानेर सभामुखले दक्षिण अफ्रिका पुगेर माननीय सदस्यज्यु भनेर लाइभबाट कार्यक्रम थाले के होला? प्रधानन्यायाधीश ब्राजिल पुगेर इजलास हेर्न थाले के होला? कार्यसम्पादनमा सम्झौता गरेर सचिवको सरुवा गरेर के गर्न खोजेको ठीक देखिएन।'

राष्ट्रिय सभाको आजको बैठकमा पनि विशेष समयमा कांग्रेसले विरोध जनायो। सांसद राधेश्याम अधिकारीले भिडियो कन्फ्रेन्स तीन कारणले गलत रहेको औंल्याए।

सांसद अधिकारीले भने, 'भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद्को बैठक तीन कारणले आपत्तिजनक छ। पहिलो त कार्यवाहक प्रधानमन्त्री हुँदाहुँदै आफूले अध्यक्षता किन गरेको? यो मुलुकमा कार्यवाहक प्रधानमन्त्री छ कि छैन? औपचारिक रुपमा विदेशमा बसेर यसरी अध्यक्षता गर्न मिल्छ? मन्त्रिपरिषद्को गोपनीय कुराबारे जान्न आइटीकै विज्ञ हुनुपर्दैन। यसमा सरकारले सोचोस्।'

प्रतिपक्षीको विरोध चर्किएपछि वा लाजले हो, सरकारले उक्त मन्त्रिपरिषदमा कुनै निर्णय नगरेको जनाएको छ।

आजै सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले उक्त दिन कुनै पनि निर्णय नभएको बताए पछि मन्त्रिपरिषदको बैठक हात्ती आयो हात्ती आयो फुस्सा भए झै भयो। मिडिया काउन्सिल विधेयक पेश गर्न राष्ट्रिय सभामा रहेका मन्त्री बास्कोटा कांग्रेसको विरोध सुनेर मुसुमुसु हाँसे। तर, उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत् आजको नियमित पत्रकार सम्मेलनसमेत नहुने जानकारी दिइसकेका छन्।

मन्त्री बास्कोटाले भनेका छन्, 'गत साताको पत्रकार सम्मेलन यता मन्त्रिपरिषद् बैठकले कुनै निर्णय नगरेकोले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको सबैमा जानकारी गराउँदछु।'

तामझाम र ढोल बजाएर गरिएको मन्त्रिपरिषद्को बैठकबाट कुनै निर्णय हुन नसक्नु आफै लज्जास्पद भएन र?

देशमा के के न हुन लाग्या छ र मन्त्रिपरिषद्को बैठक नबसी नहुने भएको छ भनेजसरी सिंगापुरमा स्वास्थ्य लाभ लिइरहेकै बेला हंगामा मच्चाएर बसेको बैठकले कुनै निर्णय नगर्नु त्यही उखान जस्तै भएन र? त्यसमाथि विरामी प्रधानमन्त्रीलाई जबरजस्ती के के न बितेजस्तो गरेर मन्त्रिपरिषदमा राखेर फोटो सेसन मात्रै गर्नुको औचित्य कसले प्रमाणित गर्ने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell