PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

कर्णालीकै सुविधासम्पन्न सभा हल निर्माणको अन्तिम चरणतिर, होटलमा कार्यक्रम गर्ने वाध्यता हट्ने



पी बी खड्का

कर्णालीकै सुविधासम्पन्न सभा हल निर्माणको अन्तिम चरणतिर, होटलमा कार्यक्रम गर्ने वाध्यता हट्ने

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

केही आयोजना कछुवाको गतिमा निर्माण भइरहँदा सभाहल भने तोकिएकै मितिमा सकिने सम्भावना बढेको छ। कर्णालीको एक मात्र नमुना सभाहलका रुपमा लिइएकाले काम पनि तीब्र गतिमा भइरहेको छ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतसँग २०७३ चैत २४ गते समानान्तर–चक्रेश्वरी–शिवशक्ति जेभीले निर्माण कार्यका लागि सम्झौता गरेको थियो। भ्याट बाहेक २० करोड ५४ लाख ८६ हजार रुपैयाँमा सम्झौता गरी काम थालेको निर्माण कम्पनीले आगामी चैत २३ गते सभाहल हस्तान्तरण गर्नुपर्ने छ। राजधानीमा अहिले सभाहल अभावकै कारणले ठूला होटल धाउनुपर्ने बाध्यता छ। निर्माण कम्पनीका साइड सुपरभाइजर भरत सुवेदीले सम्झौता मिति अगावै सक्ने गरी काम भइरहेको बताए।

‘सुरुको समयमा बजेटका कारणले ढिला भयो। अहिले तीब्र गतिमा काम भइरहेको छ। हामीले सानातिना समस्यामा नअल्झेर काम गरिरहेका छौँ,’ उनले भने, ‘आगामी दिनमा कुनै वाधा अवरोध नआए हामीले तोकिएकै समयमा सक्छौँ।’

सम्झौता भएको मितिदेखि निरन्तर काम चलिरहेको भन्दै अब कुनै समस्या नआए सम्झौता मिति अगावै सक्ने लक्ष्य रहेको उनले बताए।

‘अहिले भवनको सम्पूर्ण स्ट्रक्चरको ९० प्रतिशत काम सकिएको छ। अब फिनिसिङ्को काम बाँकी छ,’ उनले भने।

झण्डै साढे तीन विगाहा क्षेत्रफलमा फैलिएको नमुना सभाहलको क्षमता ७ सय ६८ जनाको छ। यसमा सात वटा बैठक कक्ष हुनेछ। सभाहल परिसरमा चार सय मोटरसाइकल र दुई सय वटा गाडी पार्किङ गर्न मिल्ने छ। भवनको चार वटा ब्लक वाइजमा काम भइरहेको संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतका सव–इन्जिनियर नरेन्द्र बुढाले जानकारी दिए।

‘चार ब्ल्कमा काम भइरहेको छ। तीन वटा ब्ल्कको काम सकिसकेको छ भने एउटा अन्तिम चरणमा रहेको छ,’ उनले भने, ‘अहिलेसम्म भवनको ८० प्रतिशत भौतिक प्रगति भएको छ भने, झण्डै ६५ प्रतिशत बित्तीय प्रगति भएको छ।’ निर्माण कम्पनीले धमाधम काम गरे सम्झौता मिति अगावै सकिने उनले बताए।

सरोकारवाला पक्षले समेत सभाहल निर्माणको कामलाई तीब्रता दिन ताकेता गर्दै आइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell