PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्रधानमन्त्री ओलीले झुट बोले कि सञ्चारमन्त्री बास्कोटाले? जनता ढाँट्ने को?



नेत्र तामाङ

प्रधानमन्त्री ओलीले झुट बोले कि सञ्चारमन्त्री बास्कोटाले? जनता ढाँट्ने को?

काठमाडौं : केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि भएको पहिलो काम हो - मन्त्रिपरिषद बैठकका निर्णय लुकाउने काम। 'निर्णय परिपक्व' बनाउने नाममा मन्त्रिपरिषदका निर्णयहरुलाई सरकारका प्रवक्ताले सातामा एक दिनमात्रै सार्वजनिक गर्ने थालनी सूचना लुकाउने रणनितिअनुसार नै सुरु भयो। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद्को निर्णय यसअघिका सरकारले बैठक सकिनसाथ सार्वजनिक गर्थे मिडिया मार्फत्।

प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा गएको केही दिनपछि नै बैठकको निर्णय बासी राख्न थालियो। अनि बालुवाटारमा बस्ने बैठकको निर्णय बिहीवारमात्र सिंहदरबारबाट सार्वजनिक गर्न थालियो।

जनताले पाउनुपर्ने ताजा निर्णयहरु ढिलो गरी दिन थालेको सरकारले गरेको पछिल्लो तमासा बनेको छ - पछिल्लो मन्त्रिपरिषद बैठक।

प्रसंग हो, भिडियो कन्फ्रेन्सबाट भएको क्याबिनेट मिटिङको।

स्वास्थ्यमा समस्या देखिएपछि दोस्रो पटक गत साताको बिहीवार सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरे। उक्त बैठकको फोटो राखेर प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् सोही दिन भने, 'प्रविधि र प्राविधिकलाई धन्यवाद दिन चाहन्छु। आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फ़त् मन्त्रिपरिषदको बैठक बस्न सकियो। मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद! प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई धन्यवाद।'

यो खबर सत्तासीन पार्टीका नेता कार्याकर्ताले एकैछिनमा भाइरल गराइहाले। भाइरल हुनु स्वभाविक पनि थियो। पहिलो पटक देशबाहिरबाटै भर्चुअल रुपमा प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेका थिए भलै उनले कार्यबहाक प्रधानमन्त्री सुम्पेरै गएका हुन्।

सरकारले आग्रगामी छलाङ मारेको अभिव्यक्ति सत्तारुढ दलका नेताहरुले दिए, प्रविधिको सहयोगमा भएको मन्त्रिपरिषद बैठक भन्दै। सिंगापुर बसेका प्रधानमन्त्रीले उच्चतम प्रविधि प्रयोग गरेर पनि देशका लागि मेहनत गरेको देखेपछि धेरैलाई लाग्यो, अब केही हुन्छ कि?

तर, केहीबेरमै सामाजिक सञ्जालमा भिडियो कन्फ्रेन्स कुनै नयाँ कुरा नभएको प्रतिक्रिया पनि आउन थाल्यो।

धेरैलाई लागेको थियो : सरकारले आग्रगामी छलाङ मार्‍यो।

त्यसो त प्रतिपक्षी दल र सत्तापक्षकै केही सांसदले यस बैठकको विरोध गर्‍यो। कांग्रेसले सदन र पार्टीबाट गोपनियताको प्रश्न उठाउँदै विरोध गर्‍यो। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमाथि प्रश्न गर्‍यो। ने क पाकै नेता भीम रावलले सुर्खेत पुगेर भिडियो कन्फ्रेन्सको विरोध गरे।

त्यसपछि आज राष्ट्रिय सभामा मिडिया काउन्सिल विधेयक पेश गर्न पुगेका बेला कांग्रेस सांसदको विरोध सुनेर सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मुसुमुसु हाँसे।

लगत्तै प्रतिनिधिसभा पुगेर बास्कोटा बम्किए। त्यहाँ उनले सदनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अध्यक्षता गरेको भर्चुअल बैठक क्याबिनेट बैठक नै नभएको दाबी गरे।

त्यतिमात्र होइन बास्कोटाले उक्त बैठकबारे भ्रम फैलाइएको आरोपसम्म लगाउन भ्याए। प्रतिनिधिसभाको सार्वजनिक महत्वको विषयमा वक्तव्य राख्दै उनले 'कहाँबाट क्याबिनेट आयो?' सोधे।

बास्कोटाको शब्द यस्तो थियो, 'क्याबिनेटको वैठक हामीले भनेका थिएनौं। मैले त्यसै दिन मिडियालाई बताएको थिएँ, सम्माननीय प्रधानमन्त्रीज्यूले हेलो भन्नुभयो। हामीले नमस्कार गर्‍यौं। उहाँले फर्काउनुभयो। कतिपय विषयमा सोध्नुभयो। केही निर्देशन दिनुभयो।'

हेलो र नमस्कारपछि के निर्देशन भयो? ती कुरा सञ्चारमन्त्रीले खुलाएनन्। तर, उनले मन्त्रिपरिषद्को बचाउ गर्दै बैठक केवल अनौपचारिक भएको र रिहर्सल मात्र भएकोतर्फ इंगित गरे।

यसो त उनले आफ्नो अभिव्यक्ति राख्नुअघि सार्वजनिक गरेको ट्वीटले भने मन्त्रिपरिषद् बैठक नै भएको पुष्टि गर्छ।

आजको नियमित पत्रकार सम्मेलन नहुने सुचनामा उनले ट्वीटरमा लेखेका थिए, 'गत साताको पत्रकार सम्मेलनयता मन्त्रीपरिषद् बैठकले कुनै निर्णय नगरेकोले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको सबैमा जानकारी गराउँदछु।'

यस ट्वीटमा प्रवक्ता बास्कोटाले मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेकोले नियमित पत्रकार सम्मेलन नहुने बताएका थिए। आफ्नै कुरालाई काटेका प्रवक्ता बास्कोटाले प्रधानमन्त्रीको ट्वीटलाई पनि सोझै काटिदिएका छन्।

प्रधानमन्त्रीले त्यत्रो शब्द खर्चिएर प्रविधिकलाई दिएको धन्यवाद त्यसै खेर गयो। अनि सिंगापुरबाट टेलिप्रिजेन्स मार्फ़त मन्त्रिपरिषदको बैठक बस्न सकियो भन्ने वाक्यमाथि प्रहार गरियो।

लोकतन्त्रमा सत्य बक्नुपर्छ भनेर पाठ सिकाउन भ्याएका मन्त्री बास्कोटाले थप प्रष्टाए, 'हामीले क्याबिनेट बैठक भनेका पनि छैनौँ। एजेन्डा पनि थिएन। पास पनि भएन। हामीले पहिलो अभ्यास हो भनेका थियौँ। टेक्नोलीजीको प्रयोग भयो भनेका हौँ।'

एजेन्डाबिना किन बसियो त बैठक? के नाटक मञ्चन गर्नका लागि थियो? जनता अन्योलमा।

जनताले सर्वभौम सम्पन्न देशको गोपनीयतामाथि प्रश्न उठाउँदा प्रवक्ता बास्कोटाले भिडियो कन्फ्रेन्स कुनै कोणबाट असुरक्षित नभएको दाबी पनि गर्न भ्याए।

आग्रह गर्दै बहकाउ र भ्रममा समाज जान नहुने पाठ सिकाउने मन्त्रीले आफूले भने दिनदहाडै जनताको सर्वोच्च निकाय सदनमा झुट बोलेर के गर्न खोजेका हुन्, बुझिएन।

प्रवक्ता बास्कोटाले झुट् बोलेका हैनन् भने प्रधानमन्त्रीले झुट् बोलेका हुन् भन्न सक्नुपर्छ। नभए दुई मध्ये कसले एक जनाले चाहिँ सत्य र एकले झुट बोलेकै हुन्। एउटै क्याबिनेटका दुई हस्तीका कुराले सरकारको शैलीलाई कुरीकुरी भन्नबाहेक के गर्न सकिन्छ र?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell