‘मिडिया! तपाईँहरूले के गर्नुहुन्छ? दिदी बिरामी छे।'
पत्रकार हुँ भन्दै परिचय दिएलगत्तै कानमा बजारिएको चर्को आवाज थियो यो। म केही बोल्न सक्ने अवस्थामा थिइनँ। अँअँअँ भन्दै अकमकाउनुको विकल्प थिएन।
पत्रकार शालिकराम पुडासैनी प्रकरणमा केही कुरा पुष्टि गर्नु थियो। चितवन पुगेर घटनामाथि थप जानकारी संकलन गर्दा पुष्टि गर्नुपर्ने केही सूचना प्राप्त भएका थिए। पुष्टि अन्य व्यक्ति र निकायबाट सम्भव थिएन। शालिकरामकी श्रीमती सम्झना बोलिदिँदा सम्भव थियो।
मनमा अन्तरद्वन्द्व चलिरहेको थियो।
एक मन भन्थ्यो -पीडामा छिन्। फोन गरेर किन थप पीडा दिने। मनमा फेरि कुरा खेल्थ्यो -पत्रकार होस्। आफ्नो धर्म पूरा गर।
के गर्ने के नगर्ने अल्मल्याइरह्यो।
पुष्टि नगरी लेख्न मिलेन। दोमनमै भए पनि औँला मोबाइलतिर पुगिसकेको थियो, नम्बर डायल भयो।
फोन सम्झनाले होइन, उनकी बहिनीले उठाइन्।
सुरुमा मैले आफ्नो परिचय दिइनँ। मैले पाएको नम्बर सम्झनाकै हो कि होइन पुष्टि गर्न लागेँ।
'सम्झनाजी बोल्नुभएको हो?'
उताबाट नरम स्वरमा जवाफ आएको थियो- 'म उहाँको बहिनी। दिदी बिरामी हुनुहुन्छ।'
'उहाँसँग कुरा गर्न मिल्छ?'
'म बाहिर आएको छु। दिदीको मोबाइल केही दिनदेखि मैले नै बोकेको छु। आधा घण्टापछि कल गर्नुहुन्छ?'
'हस्।'
४० मिनेटपछि फेरि मैले फोन गरेँ।
उनैले उठाइन्। तर, उनको नरम स्वर यतिखेर चाहिँ निक्कै गरम भइसेको थियो। कारण अरू केही थिएन। यसपाला मैले आफ्नो पेशागत परिचय दिएको थिएँ।
उनको जवाफ थियो -‘मिडिया मिडिया मिडिया। तपाईँहरूले के गर्नुहुन्छ? दिदी बिरामी छे।'
सम्झनाले पति गुमाएकी थिइन्। पीडा आलै छ। सायदै उनको जस्तो पीडा भोग्ने कमै छन्। तर, सम्झनाकी बहिनी किन मिडियाप्रति त्यति आक्रोशित थिइन्?
धन्न, उनले म पत्रकार भन्ने बित्तिकै फोन चाहिँ काटिनन्। बरु मिडियाले गर्दा पाएको पीडा पोखिन्। केही दिनअघिमात्र केही युट्युबर र केही अनलाइनले सम्झनाले बोल्दै नबोलेको कुरालाई मसलेदार खबरका रूपमा पस्केका रहेछन्। त्यसले सम्झनालाई पीडा त दियो नै मिडियाप्रतिको दृष्टिकोण नै बदल्न भूमिका खेलेको रहेछ।
केही समय उनले गुनासो गरिन्।
पछि उनलाई बुझाएपछि, कुरा गर्न तयार भइन्। अन्ततः मलाई र मिडियालाई गरेको गाली गरेको महसुस भएछ उनलाई।
‘सरी है मैले अरूको रिस तपाईँलाई पोखेँ। भन्दै नभनेको कुरा लेखेर मिडियादेखि दिक्क लागेको हो।'
मलाई उनको रिसले न चोट पुग्यो न त अन्त्यमा देखाएको सहानुभूतिले नै छोयो। छोयो त एउटै कुराले -किन माडियाप्रति यति सशंकित? किन आक्रोश? किन यति धेरै अविश्वास?
मैले उनको कुराबाट बुझिसकेको थिएँ -उनलाई जथाभाबी सोध्ने र नभनेको कुरा नै लेख्ने पत्रकारले गर्दा तनाव भएको रहेछ।
जे भने त्यही लेख्नु ...
दुई सातादेखि पत्रकार पुडासैनीको मृत्यु चर्चामा छ। सञ्चारकर्मी रवि लामिछाने पक्राउसँगै देशमा मात्र होइन विदेशमा रहेका नेपालीका लागि यो चासोको विषय बन्यो। रवि पीडित हुन् वा पीडक, मुद्दा अदालतमा विचाराधीन छ। तर, पुडासैनी परिवारमा छोरो, श्रीमान्, भाइ गुमाउनुको पीडा कम छैन।
त्यत्तिकै पीडा मिडियामा आउने 'हावादारी समाचार'ले दिएको छ। शालिकरामका दाइ विष्णु भन्छन्, 'म मिडिया र पत्रकारलाई सम्मान नै गर्छु। तर हावामा हुँदै नभएका र बोल्दै नबोलेका समाचारले चित्त दुखाउँछ।'
विभिन्न युट्युब र केही अनलाइनमा आएका समाचारले उनी पनि आजित भएका रहेछन्। उनी मसँगको कुराकानीपछि मिडियाप्रति विश्वास गर्ने अवस्थामा पुगिसकेका थिएनन्। अनलाइनको पूरा विवरण लिएपछि उनले अन्त्यमा भने, 'जे भनेको छु त्यही लेख्नुहोला। नभनेको कुरा नलेख्नु होला। तपाईँको समाचार हेर्छु नि म।'
मलाई उनले बोलेको कुरालाई न ट्विस्ट गर्नु थियो न त नभनेको कुरा बढाइचढाइ गरेर लेख्नु। समाचार अपलोड भएपछि भने उनको फोन आएन। जे बोले त्यही लेखेको देखेर हो या समाचार नै नपढेर। फोन गरेनन्।
राम्रो कुरा त कहाँ समाचारमा आउँछ?
‘शालिकरामकी श्रीमतीले २१ गते बिहानै मेरो श्रीमानको मोटरसाइकल दुर्घटनामा चोट लागेको भन्नुभएको थियो। खै समाचार आएन त,' कंगारु होटेलका सञ्चालक यज्ञबहादुर कार्कीकी श्रीमतीले भन्दै थिइन्। समाचार पनि बिक्ने मात्र आउने गरेको उनको गुनासो थियो।
हामीले बुझ्दा पनि सम्झनाले पत्रकारलाई दुर्घटना भएको बताएकी रहिछिन्। तर, उनको यो भनाइले त्यति स्थान पाएन। बरु शालिकरामका दाजुले भाइको हत्या नै भएको दाबी गरेको समाचार ट्रेन्डिङमा थिए। होटेल सञ्चालक कार्की अहिले अफवाह रूपमा आएका समाचारले आजित रहेछन्। ‘म घटनादेखि नै होटेलमा थिएँ। तर यहाँ सञ्चालक नै फरार र कहाँ गएसम्मका समाचार आए,' कार्कीले सुनाए।
उनी पनि सुरुमा पत्रकार भएको थाहा पाएपछि बोल्न चाहेका थिएनन्। पुडासैनी मृत अवस्थामा फेला परेको कोठा प्रहरीले सिल गरेको भन्दै देखाउन तर्किएका थिए। तर, पछि कुरा गर्दै जाँदा के बुझे कुन्नी, आफैँ देखाउन लगेका थिए। तर, यति चाहिँ पक्का हो -जति मानिस भेटिए सबै मिडियासँग तर्सिएका। कारण थियो -एटेन्सन सिकर समाचारबाट।