
काठमाडौं: विश्वकप तथा एसियन कप छनोट अन्तर्गतको दोस्रो चरणको क्वालिफयर्समा खेल्न जाने खेलाडीहरुलाई आज एक कार्यक्रमबीच एन्फाले विदाइ गरेको छ। राखेप सदस्य सचिव रमेश सिलवालले खेलाडीहरुलाई विदाइ गरेका थिए।
सदस्य सचिव सिलवालले विदाइ कार्यक्रममा बोल्दै सानो देशले पनि खेलकुदमा उल्लेखनिय प्रदर्शन गर्न सक्ने बताए। उनले फुटबलमा बेल्जियम र क्रिकेटमा श्रीलंकाको उदाहरण दिँदै खेलस्तर माथि उठाउनु पर्नेमा जोड दिए।
नेपालले कुवेतसँग सेप्टेम्बर ५ मा कुवेतसँग खेल्ने छ। त्यस्तै, सेप्टेम्बर १० मा चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्ने छ। यसपटक टिमको कप्तानी किरण चेम्जोङले गर्ने भएका छन्।
यस अघिको जोहोर डारुलसँगको मैत्रीपूर्ण खेलमा भने सुजल श्रेष्ठले टिमको कप्तानी गरेका थिए। जोहोर डारुलसँग नखेलेका रोहित चन्द र किरण चेम्जोङ यसपटक टिममा समावेश छन भने विमल राना र एलन न्यौपाने टिममा छैनन्। त्यस्तै नियमित कप्तान विराज महर्जन यसपटक पनि टिममा समावेश छैनन्।
नेपाली टिम
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिपेश राजबंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनिल बल, रवि पासवान, अन्जन विस्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ,विक्रम लामा, तेज तामाङ, सन्तोस तामाङ, विशाल राई, रोहित चन्द
फरवार्ड : विमल घर्तीमगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ