कट्कुवा जंगल : सुर्खेतको वीरेन्द्र नगरस्थित कट्कुवा जंगलमा गाई मृत भेटएपछि यस क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक जितेन्द्रकुमार सिंहको नेतृत्वमा प्रहरी परिचालन गरेको हो।
'जंगलमा गाई मृत भेटिएको खबरपछि हामी यस क्षेत्रमा खटिएका हौं,' प्रहरी निरीक्षक सिंहले भने, 'अहिलेसम्म १६ वटा गाई मृत अवस्थामा फेला परेको छ।'
नेपालगन्जको कान्जी हाउसबाट दैलेखका पठाएको गाईको संख्या २९१ भएको खुलेको छ।
तर, गाई कसले लैजान लागेको हो भन्ने खुलेको छैन।
पाँच वटा टिपरमा ल्याएका गाई जंगलमा यत्रतत्र छरिएका छन्। गाई खोज्न वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि प्रहरीसँग खटिएका छन्।
पाँचमध्ये चार वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको र एक टिपरसहित गाई ल्याउने व्यक्तिहरु फरार रहेको प्रहरीले जनाएको छ।
उनीहरुबारे अनुसन्धान शुरु भएको र नेपालगन्जको कान्जी हाउसबाट गाई पठाउने व्यक्ति सुर्खेत आउँदै गरेको प्रहरी निरीक्षक सिंहले बताए।
सडकबाट तल खसेको देखिए पनि गाई मारिएकै हो भनेर अहिले नै भन्न नसकिने प्रहरीले जनाएको छ। यसबारे थप अनुसन्धान जारी रहेको सिंहले बताए।