PahiloPost

May 15, 2024 | २ जेठ २०८१

यू १५ फुटबल: शनिबारकाे फाइनल ‘प्रतिस्पर्धात्मक हुन्छ, जित्ने सम्भावना छ’



मुकुन्द घिमिरे

यू १५ फुटबल: शनिबारकाे फाइनल ‘प्रतिस्पर्धात्मक हुन्छ, जित्ने सम्भावना छ’

काठमाडौंः दक्षिण एसियाली खेलकुद अन्तर्गत भारतको कल्याणीमा जारी यू १५ फुटबलको फाइनलमा भाेलि नेपाल आयोजक भारतसँग खेल्दै छ।
समूह चरणमा भारतसँग पराजित भएको नेपालले बाँकी सबै टिममाथि सहज जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो। यता, भारत भने प्रतियोगितामा अपराजित छ।

नेपालले पहिलो खेलमा आयोजक भारतसँग ५–० को लज्जास्पद हार बेहोरेको थियो। दोस्रो खेलबाट भने नेपालले पुनरागमन गर्दै खेलमा श्रीलंकामाथि २–० को जित निकालेको थियो। तेस्रो खेलमा  बलियो मानिएको डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै, बिहीवार भएको खेलमा भुटानलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको थियो।

प्रतियोगितामा भारतको खेल पनि उच्च रहेको छ। भारतले जारी प्रतियोगितामा एक पछि अर्को खेलहरुमा सहज जित निकाल्दै आएको छ।
जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा भारतले नेपालमाथि ५–० को फराकिलो जित हात पारेको थियो। त्यस्तै, दोस्रो खेलमा प्रतियोगिताको कमजोर मानिएको भुटानमाथि ७–० को जित निकालेको थियो। आफ्नो तेस्रो खेलमा श्रीलंकामाथि ४–० को सहज जित निकालेको भारतले पछिल्लो खेलमा बंगलादेशको टोलीलाई पनि ४–० ले नै पराजित गर्दै रवाफिलो जित हात पार्‍यो।

यसरी प्रतियोगितामा अहिलेसम्मको खेल हेर्दा नेपालले १२ गोल गरेको छ भने नेपालको पोस्टमा ६ गोल लागेको छ। अर्कोतर्फ भारतले प्रतियोगितामा २० गोल गरेको छ। तर, भारतको पोस्टमा गोल लागेको छैन।

खेल प्रतिस्पर्धात्मक बन्छ, नेपालको सम्भावना छ– भोला सिलवाल
नेपाल पुलिसको यू १८ टिमका प्रशिक्षकसमेत रहिसकेका पुलिसका खेलाडी भोला सिलवाल फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताउँछ। ‘पहिलो खेल भएर पनि भारतसँग गाह्रो भएको हुनसक्छ। टिम सेट हुँदै गएको छ,’ पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका सिलवालले पहिलोपोस्टसँग भने, ‘खेल प्रतिस्पर्धात्मक पक्कै हुन्छ। नेपाल पहिलाको कमजोरी केलाउँदै नयाँ रणनीति बनाएर अघि बढ्नु पर्छ।’

त्यसो त प्रतियोगितामा आफ्नो पोस्टमा गोल पस्न नदिएको टिम राम्रो नै छ। तर, नेपालले पनि पहिलो खेलमा भोगेको पराजयलाई उल्टाउने गरी खेल्न पर्ने उनको बुझाइ छ। भारतले अन्डरइस्टिमेट त गर्दैन नै तर गरेको खण्डमा नेपाललाई नै फाइदा हुने उनले बताए। 

नेपाल र भारतबीचकाे फाइनल खेल शनिबार दिउँसाे ३:१५ मा भारतकाे कल्याणीमा हुनेछ।(सबै फोटो एन्फा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell