PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

भिडियो खिचेको निहुँमा प्रहरीको कुटाइ : सोसल मिडियामा भाइरल घटनाको यस्तो छ अन्तर्कथा



पहिलोपोस्ट

भिडियो खिचेको निहुँमा प्रहरीको कुटाइ : सोसल मिडियामा भाइरल घटनाको यस्तो छ अन्तर्कथा
फोटोः सुशील कर्णको फेसबुकबाट

काठमाडौं : गत असार ६ गते जानकी मन्दिर परिसरमा एउटा भेला बस्यो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रदेशसभा सांसद, मेयर र स्थानीय नेताहरु बैठकमा सहभागी थिए। बैठकले एउटा निर्णय गर्‍यो- जानकी मन्दिर परिसरलाई सफा र स्वच्छ राख्ने, वरपरको फुटपाथ हटाउने।

असारमा बसेको भेलाले गरेको निर्णयको कार्यान्वन भने हिजोमात्र भयो। जसै निर्णय कार्यान्वयनमा गयो, विवादको एउटा नसोचिएको भिडियो सामाजिक सञ्जालमा फैलियो।

बिहीवार एउटा भिडियो भाइरल भयो जसले नेपाल प्रहरीको सेवा र व्यवहार कति तुच्छ छ भन्ने देखायो। भिडियोमा प्रहरीका असइदेखि जवानसम्म क्रूरतापूर्वक प्रस्तुत भएको देखियो। भिडियोमा तीन जना प्रहरीले मिलेर एक युवकलाई लछारपछार गरी गरेको दुर्व्यवहार प्रहरीलाई बदनाम गर्न पर्याप्त थियो।

भिडियोमा जनकपुर मन्दिर परिसरमा पर्यटन प्रहरीको कमान्डमा पुगेका असइ वीरेन्द्र यादव र प्रहरी जवान उमाशंकर यादवले युवकलाई लछारपछार गरेका थिए। त्यति मात्र होइन युवकले लगाएको लुगा समेत प्रहरीले च्यातेको देखिन्छ। युवकको के गल्ति गरे?

के थियो घटना ?

बुधवार बिहान बैठकले गरेको निर्णय अनुसार जनकपुर मन्दिर परिसर वरपर राखेको फुटपाथ हटाउन असइ वीरेन्द्र यादवको नेतृत्वमा टोली पुगेको थियो। प्रहरीले दिउँसो करिब २ बजेतिर मन्दिर वरिपरि नरिबल, फूलपाती लगायतका सामाग्री बिक्री गर्दै आएकालाई हटाएको थियो।

फुटपाथमा हटाउँदै गरेको प्रहरीसँग व्यापारी रोशनकुमार चौधरीको विवाद पर्‍यो। उनी सहजै फुटपाथबाट हट्न तयार भएनन्। सहजै नमानेपछि प्रहरीले पनि काममा अवरोध गरेको भन्दै नियन्त्रणमा लिन सकेन। जसको परिणामा दुई जनाबीच विवाद भयो।

‘प्रहरीले पनि केही दुर्व्यवहार गरेको देखिन्छ,' एक प्रहरी अधिकृतले भने।

प्रहरीले र चौधरीबीच भएको विवादको दृष्य स्थानीय युवक सुशील कर्णले खिचिरहेका थिए। उनले आफ्नो मोबाइलमा कैद गरेको भिडियो आफै‌ंसँग मात्र सीमित राखेनन्। केही समयमा उनले खिचेको भिडियो फेसबुक लगायत सामाजिक सञ्जालमा अपलोड गरे। त्यससँगै प्रहरीले पैसा नदिएपछि फुटपाथबाट हटाएको भन्दै लेखे पनि।

सामाजिक सञ्जालमा भिडियो आएपछि प्रहरीलाई तनाव भयो। जानकी प्रहरी चौकीले तत्काल युवक कर्णलाई फोन गर्‍यो। त्यसपछि उनीहरु चौकीमा पुगेका थिए। दिउँसोको साढे ४ बजिसकेको थियो। चौकीमा पुगेपछि उनीहरुबीच विवाद भएपछि हात हालाहाल भएको थियो। सामाजिक सञ्जालमा भाइरल भएको भिडियो त्यही समयको हो।

‘दोस्रो पटकको भिडियो हो। कुरा गर्न बोलाएका प्रहरी र उनीहरुबीच घटना भएको देखियो,' धनुषा जिल्ला प्रहरी कार्यालयका एसपी शेखर खनालले भने।

प्रहरीसँग हात हालाहाल भएका युवक सुशील विभिन्न विवादमा आएका व्यक्ति हुन्। उनको एउटा मुद्दा अदालतमा विचाराधीन रहेको छ।

 

छानबिन थालिसकेका छौं : प्रदेश प्रहरी प्रमुख डिआइजी कार्की

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीमाथि प्रश्न उठ्नु स्वाभाविक पनि थियो। प्रहरीले के पैसा नदिएपछि दुर्व्यवहार गरेको हो? के प्रहरीको सेवाभाव यस्तै हुन्छ?

प्रश्नहरु खडा भए। त्यसैको असर हो प्रहरीले बिहीवारको घटनालाई लिएर अनुसन्धान थालेको छ। प्रदेश नम्बर २ को प्रहरी कार्यालयले डिएसपीको नेतृत्वमा छानबिन समिति गठन गरिसकेको प्रदेश नम्बर २ प्रहरी प्रमुख प्रधुम्न कार्कीले बताए।

‘हामीले भिडियो हेरेका छौं। छानबिन समिति गठन भइसकेको छ। दोषी देखिए कारबाही गर्छौं,' कार्कीले भने।

डिएसपी सुमन तिमल्सिनाको नेतृत्वमा आज नै छानबिन समिति गठन भएको हो।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा प्रहरीले पैसा खाएको भन्ने नदेखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए। धनुषा जिल्ला प्रहरी कार्यालयले पनि डिएसपी सन्तुलाल जैसयरको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको छ। समितिले विवादित प्रहरीसँग बयान लिएको छ। विवादबारे बुझ्न सुशीलसँग मोबाइलमा सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell