PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

आफू बेचिएपछि बिबिरानीको यो डरलाग्दो धन्दा, काठमाडौं बसेर चीनमा दुलही ‘सप्लाई’



सविन ढकाल

आफू बेचिएपछि बिबिरानीको यो डरलाग्दो धन्दा, काठमाडौं बसेर चीनमा दुलही ‘सप्लाई’

काठमाडौं : तिमीलाई केटा कस्तो लाग्यो?

रीना तामाङ (बिबिरानी) सविना(नाम परिवर्तन)लाई सोध्छिन्।

ठीकै लाग्यो।

स्काइपमा देखिएका एक चाइनिज नागरिक क्वान जान पेनलाई हेरेपछि सविना विवाह गर्न तयार हुन्छिन्।

क्वान जान र सविनाको स्काइपमा भर्चुअल भेटमात्र भएको हो। उनले यसअघि न त उनको नाम सुनेकी थिइन् न त चिनेकी नै। सविना बोलेको न पेनले बूझ्छन्। न सविनाले नै पेनको बोल्ने चिनियाँ भाषा। तर दुबैको विवाह गर्ने सहमति हुन्छ।

करिब तीन साताअघि विवाह गर्न पेन नेपाल आउँछन्। दुवैको भाषा मिल्दैन। तर मन मिलिसकेको हुन्छ। स्काइपमा भेटेका उनीहरुले ‘रियल लाइफ’मा भेट्दा पनि विवाह गर्न कुनै असहमति गर्दैनन्।

सविना र पेनको विवाह हुन्छ। कुनै मण्डव र जंगेबिनै। गत भदौ २ गते काठमाडौं जिल्ला अदालत पुगेर उनीहरुले विवाह दर्ता गराउँछन्।

विवाह गरेर १५ दिन विताइसकेपछि पेन आफ्नी दुलही लिएर चीन फर्कने तयारीमा हुन्छन्। गत बुधवार सविनासहित उनी त्रिभुवन विमानस्थल पुग्छन्। तर एकाएक घटनामा ‘टुइस्ट’ आउँछ। सविनाका नव दुलाहा चिनियाँ नागरिक पेन त्रिभुवन विमानस्थलबाट पक्राउ पर्छन्।

मानव बेचविखन अनुसन्धान व्यूरोले उनलाई नियन्त्रणमा लिएको हुन्छ। ‘मानव तस्करी भइरहेको सुचना पाएपछि हामीले उनीहरुलाई नियन्त्रणमा लिएका हौं,’ व्यूरोका एसएसपी इश्वरबाबु कार्कीले भने।

प्रहरीले उनीहरुलाई मात्र होइन, अन्य १० जनालाई नियन्त्रमा लिन्छ।  नुवाकोटका रोज तामाङ, लम्जुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ, उषाकुमारी घिमिरेसहित अन्य चार जना चिनियाँ नागरिक पक्राउ पर्छन्।

प्रहरीको अनुसन्धानमा उनीहरुले विवाहको बहाना बनाएर चीनमा मानव तस्करी गर्ने गरेको अनुसन्धानमा देखिएको छ। उनीहरुले आर्थिक प्रलोभनमा पारी वैधानिक रुपमा नै मानव तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। कानुनी रुपमा विवाह कुनै तरिकाले अवैध देखिदैन। तर विवाह गरेर चीन पुर्‍याएर यौन शोषण तथा श्रम शोषणसमेत गर्ने गरेको देखिन्छ।

सविनाले पनि आफूलाई चीनको नागरिक हुने, पछिपछि बुबाआमा पनि लैजान मिल्ने भन्दै आश्वासनमा पारेपछि विवाह गर्न तयार भएको प्रहरीमा बयान दिएको एसएसपी कार्कीले बताए।

उनीहरुले कम उमेरका तथा मंगोलियन अनुहारका युवती ‘टार्गेट’ गरिएको देखिएको छ। पीडितलाई स्थानीय दलालले आफ्नो साथ काठमाडौं ल्याई काठमाडौंको दलाललाई जिम्मा लगाउने गरेको पाइएको छ। विभिन्न दलालमार्फत आएका युवतीलाई काठमाडौंको दलालले आफुसँग फ्ल्याटमा राखी उनीहरुलाई विदेश नपठाउँदासम्म शारीरिक सम्बन्ध राखेको खुलेको हो।

युवतिलाई विवाह गराए बापत काठमाडौंमा रहेको चिनिया दलालले दश लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन्। जसमा काठमाडौंको नेपाली दलाललाई १ देखि २ लाख, युवतिहरु राख्ने नेपाली दलाललाई ८० हजार, युवतिको अभिभाकले ५० देखि ६० हजार रुपैयाँ दिने गरेको एसएसपी कार्कीले जानकारी दिए।

आफै ठगिएपछि बिबिरानी बनेकी रीना

दुलही बनाएर चीन मानव तस्करी गर्ने मुख्य अभियुक्तमा रुपमा सिन्धुपाल्चोक हेलम्बु २ घर भएकी रीना तामाङ भन्ने बिबिरानी भएको खुलेको छ। रीना पनि चिनियाँ दलालको फन्दामा परेर करिब ६ वर्ष अघि चीन पुगेकी थिइन्।

चिनियाँ नागरिकसँग विवाह गरेर चीन पुगेपछि उनी यौन शोषण र श्रम शोषणको शिकार भइन्। तर विवाह भएका श्रीमानको दुर्घटनामा परेर मृत्यु भयो। श्रीमानको मृत्यु हुनु भन्दा केही महिना अगाडी नै उनी गर्भवती भइसकेकी थिइन्। उनकी छोरी अहिले ६ वर्ष पुगिसेको छ।

रीना आफू पीडित बनेपछि नेपाल आएर यसरी नै गाँउगाँउमा पुगेर युवती खोजी चिनियाँ गिरोहसँग सम्पर्क गरी तस्करी गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको हो। ‘उनी आफै पीडित हुन्। तर पछि उनी आफै तस्करीमा लागिन्,’ एसएसपी कार्कीले भने।

बुधवार प्रहरीले सबिनालगायत अन्य तीन जनालाई उद्धार गरेको छ।

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell