काठमाडौं : ब्रेक थिचेर स्टार्ट बटम दबाएपछि यो गाडी गुड्नका लागि तयार भयो। न्युट्रल मोडमा रहँदा भने पत्तै नहुने, गाडी अन छ कि अफ। किनकि पेट्रोल वा डिजेल गाडी स्टार्ट गर्दा वा गरेपछि थोरै नै सहि भाइब्रेसन चाहिँ आउँछ नै। यो गाडीमा भने रिभर्स मोड या ड्राइभ मोडमा लगेपछि मात्रै गाडी हल्का ‘मुभ’ हुन्छ। अनिमात्र ‘फिल’ हुन्छ – गाडी त अन नै छ, कुद्नका लागि तयार।
पार्किङ मोडमा रहेको गाडीलाई रिभर्स मोडमा लिनासाथ मन्द गतिमा पछाडितिर धकेलिन थालिहाल्यो। देब्रे खुट्टा एकाएक जबलेस भइसकेको छ। रिभर्स टर्न पुगेपछि गाडीको मोड परिवर्तन गर्ने समय भयो। रिभर्सबाट न्युट्रल हुँदै ड्राइभ मोडमा पुगेपछि फेरि गाडीले गति लिन सुरु गर्यो। आकर्षक ककपिट र डिस्प्लेले ड्राइभिङलाई सहजसँगै रोचक पनि बनाएको छ।
हामी निरोको ड्राइभ गरिरहेका छौं। कोरियन कम्पनी कियाको विद्युतीय एसयुभीको टेस्ट ड्राइभमा हो यो, जसमा लैजाँदै छौं तपाईँहरुलाई। विद्युतीय गाडीमा एक्सिलेरेटर र ब्रेकमात्र हुने भएकाले एउटै खुट्टाको मात्र काम हुने, एउटालाई फुर्सद। क्लच दबाइरहनुपर्ने झन्झटबाट एक किसिमले मुक्ति पनि। किनकि काठमाडौंको जाममा एक्सिलेटर भन्दा धेरै ब्रेक र क्लच दबाउनुपर्ने वाध्यता छ।
मुल सडकमा निस्किनै लाग्दा टुँट टुँ…आवाज आयो। सामुन्ने एकजना व्यक्ति बाटो पार गर्दै थिए। तिनै मानिसका कारण निस्केको रहेछ त्यो आवाज। प्रायजसो गाडीको पछाडि सेन्सर हुन्छ। तर, यसमा अगाडि पनि सेन्सर रहेछ।
‘हाम्रो यो गाडीमा अगाडि र पछाडि सेफ्टी सेन्सर छ,’ टेस्ट ड्राइभमा साथै रहेका रोजेन्द्र महर्जनले टुँट… टुँट… किन आयो सुनाउँदै थिए, ‘कुनै अब्जेक्ट अगाडि आयो भने यसले चेतावनी (वार्न) दिन्छ।’
अगाडि कुनै वस्तु छ भनेर ‘वार्न’ गर्नु त गजब हो, सुरक्षाका लागि। भर्खरै त्यसको अनुभव भयो। तर, त्यतिखेरै हाम्रो सडकमा सवारी चलाउने शैलीको याद आइहाल्यो। न लेनको रुल मानेको छ न त नागबेली पारेर कुदाउने बानी नै नियन्त्रणमा। सवारीको शैली नफेरिएसम्म सुरक्षाका यस्ता फिचरले गर्ने भनेको आंशिकमात्र काम हो।
नर्मल मोडमा रहेको गाडीलाई मैले स्पिडमा लिन चाहेँ। नर्मल मोड चाहिँ शहरी बाटोका काफी नै थियो। सडक खाली देखेपछि स्पिड बढाउन कसलाई मन लाग्दैन र?
‘स्पोर्टस् मोडमा ट्राइ गर्नुस् न,’ महर्जनले सुझाए।
ककपिटमा रहेको कन्ट्रोल सिस्टमबाट मैले मोड परिवर्तन गरेँ। एक्सिलेरेटर थोरै दवाउँदा पनि नर्मल मोडको भन्दा बढी गतिमा स्पिड लिइहाल्यो। ह्वात्तै पिकअप हुने रहेछ।
‘गजब रहेछ त,’ मेरो प्रतिक्रिया।
सँगै रहेका रोजेन्द्र गाडीको फिचरबारे व्याख्या गरिरहेका छन्। पछाडिको सिटमा बस्नेका लागि पनि एसी, बिजनेस पर्सनका लागि ल्यापटप चार्जिङको पोर्ट सुविधा, सुरक्षाका लागि सात वटा एयरब्याग… आदि इत्यादि।
यो सन् २०१९ मै बनेको गाडी हो यो। कोरियामा बनेको निरो काठमाडौंका सडकमा अहिले गुड्न थालिसकेको छ। यसपालाको नाडा अटो शोमा धेरैको नजर यसमा अडिने निश्चित छ। तर, प्रश्न यतिमात्र हो : के पेट्रोल र डिजेलका गाडीलाई विद्युतीय यस्ता सवारीले विस्थापित गर्ला त?
पेट्रोल र डिजेल इन्धनबाट चल्ने गाडीको तुलनामा अत्याधिक कर छुट भएकाले मानिसहरुको आकर्षण विद्युत गाडीतिर बढेको छ। त्यो आकर्षणलाई बिक्रेताहरुले कसरी ह्यान्डल गर्छन्, त्यसमा पनि भर पर्छ यस्ता गाडीको भविष्य।
निरोको जति नै सुविधा र क्षमताको पेट्रोल वा डिजेलको कार हुन्थ्यो भने कति पर्थ्यो होला? स्वभाविक रुपमा प्रश्न उठ्ने भइहाल्यो। कियाको नेपाल बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेसले विद्युतीय यो कार नेपाली बजारमा ६५ लाख ५० हजारमा उपलब्ध गराएको छ। यदि यही सुविधाको पेट्रोल वा डिजेल गाडी हुन्थ्यो भने सरकारी करको मारले त्यसको भाउ कम्तिमा १ करोड ५० लाख रुपैयाँभन्दा माथि पुग्थ्यो।
‘बाटो राम्रो हुने हो भने यो गाडी गजब नै छ। तर, भत्काउन हतार गर्ने अनि बनाउन चाहिँ वर्षौ लगाउने ठाउँको बाटोहरुमा चाहिँ कति उपयुक्त होला त? अझ त्यसमाथि बौद्ध-जोरपाटीको सडकमा?’
टेस्ट ड्राइभपछि गोकर्ण गल्फ क्लबका अध्यक्षसमेत रहेका कन्टिनेन्टल ट्रेडिङका संचालक सुहृद घिमिरेलाई मैले सोधेको थिएँ।
‘यो भन्दा कम ग्राउन्ड क्लियरेन्स भएको सोल चढेरै गोकर्ण गल्फ क्लवमा खेल्न जानेहरु धेरै हुनुहुन्छ,’ घिमिरेको जवाफ थियो, ‘अहिलेको भन्दा खराब बाटो हुँदा पनि उहाँहरु सजिलै पुग्नुहुन्थ्यो।’
नर्मल अफ रोडमा यो गाडी चलाउन कठिनाइ छैन। तर, अफरोड नै भनेर मुस्ताङ वा रारा जाने सोच छ भने त्यो गलत हुनसक्छ। किनकि यो शहरी क्षेत्रका लागि तयार भएको गाडी हो।
६४ किलोवाटको ब्याट्री छ यो गाडीमा। फूल चार्ज गरेर काठमाडौंबाट पोखरा पुगेर फेरि काठमाडौं फर्किन पुग्ने कम्पनीको दावी छ। एक पटक पूरा चार्ज गर्दा यसले ४ सय ६० किलोमिटर दुरी तय गर्छ। ६४ किलोवाटको ब्याट्री पूरा चार्ज गर्न ६४ युनिट विद्युत खपत हुन्छ। एक युनिटको मूल्य १५ रुपैयाँ नै तोक्ने हो भने ९ सय ६० रुपैयाँ इन्धनका लागि खर्च हुन्छ पूरा चार्ज गर्दा। ९ सय ६० रुपैयाँ खर्च गर्दा ४ सय ६० किलोमिटर दुरी तय हुन्छ र औशतमा २ रुपैयाँ प्रतिकिलोमिटर इनर्जी यसले लिन्छ। अब यसलाई पेट्रोल र डिजेलसँग तुलना गर्ने हो भने चाहिँ खर्च अन्तर फराकिलो देखिन्छ।
यही क्षमताको पेट्रोल या डिजेलको गाडीले औसतमा ८ देखि १२ किलोमिटर प्रति लिटर क्षमता राख्छ। औसतमा एक लिटरले १० किलोमिटर दुरी तय गर्छ भन्ने हिसाबमा ४ सय ६० किलोमिटर दुरी तय गर्न ४५ लिटर नै इन्धन चाहिन्छ। पेट्रोलियम पदार्थको प्रति लिटर मूल्य १ सय रुपैयाँमात्र राख्दा पनि ४ हजार ६ सय रुपैयाँ इन्धनमा खर्च हुन्छ।
तुलना गर्दा विद्युतीय गाडी सस्तो देखिन्छ नै। तर, तत्कालका लागि भने चार्जिङ स्टेसन समस्या हुनसक्छ। त्यसो त विद्युतीय गाडीको संख्या बढ्दै जाँदा चर्जिङ स्टेसन पनि बन्दै जानेमा शंका छैन।
‘सुरुमा ब्याट्रीबाट चल्ने गाडीको कुरा गर्दा विद्युत आपूर्तिको कुरा उठ्थ्यो,’ घिमिरेले कुराकानीका सन्दर्भमा भनेका थिए, ‘अहिले त विद्युत उत्पादन सरप्लस हुने अवस्थामा पुगिसकेको छ। चार्जिङ स्टेसन बन्न ठूलो कुरा होइन अब।’
यता,टेस्ट ड्राइभ जारी रहँदा यसको विशेषतामाथि पनि कुराकानी चलिरहेकै छ।
‘एसी अन गरेरै चलाउँदा त भनेजति दुरी तय नहोला नि?’
‘मिनिमम ४ सय किलोमिटर त फूल एसीमै चलाउँदा पनि हुन्छ,’ महर्जनले दावी गरे।
थ्री फेज विद्युतसहितको चार्जिङ स्टेसनमा निरोलाई ८० प्रतिशत चार्ज गर्न आधा घन्टा भए पुग्ने रहेछ। त्यसको मतलब हाइवेहरुमा चार्जिङ स्टेसन बन्दै जाने हो भने लामो यात्रा गर्न पनि समस्या रहन्न।
निरोको स्टेरिङको मुनितिर पेडल सिस्टम रहेछ। यो ओरालोका लागि तयार भएको प्रविधि हो। ओरालोमा इनर्जी रि-जेनेरेट गर्नका लागि यसको प्रयोग हुन्छ।
‘हाम्रा कस्टुमरहरुले एक पटक चार्ज गरेर यो गाडी ५ सय किलोमिटरभन्दा बढी चलाइरहनु भएको छ,’ महर्जनले भने, ‘उहाँहरुले ओरालोमा रि-जेन गरेर चलाउनुभएको हो।’
गाडीमा रहेको ब्याट्री ब्याकअपले कति दुरी तय गर्छ भन्ने डिस्प्ले हुन्छ। जस्तो एसी अन गर्दा र नगर्दा तय हुने दुरी डिस्प्लेमा देखिन्छ जसले गर्दा गाडी चलाउनेहरु निर्धक्क हुन सक्छन्।
अनि ब्याट्रीको आयु चाहिँ कतिको हुन्छ त?
कम्पनीले ७ वर्षको वारेन्टी दिएको छ त्यसमा। तर, कम्तिमा पनि १० वर्ष प्लस चल्ने दावी छ बिक्रेताको। यसको ब्याट्रीमा १ सय ८८ वटा सेल छ। त्यसैले पूरै फेर्नुपर्ने होइन, जुन बिग्रिन्छ त्योमात्र फेर्ने हो।
यो कुराकानीसँगै टेस्ट ड्राइभ भने कियाको सोरुममै आइपुगेपछि सकियो। चार्जिङ स्टेशनसहितको पार्किङ लटमा निरोलाई पुर्याउँदा फेरि टुँट… टुँट… सुनियो। यतिखेर चाहिँ सेन्सरले कसरी अलर्ट गराउँदो रहेछ भनेर अगाडिको बार नजिकै गाडीलाई पुर्याइरहेको थिएँ।