म सानो छँदा तीजमा मेरी हजुरामाको हात समाएर उहाँको माइती पूर्वी चितवनको भण्डारा जाने गर्थेँ। दर खाने दिन मेरी हजुरामाकी ९० वर्ष पार गरिसकेकी बुढी हजुर आमाले चुलोमा आफैं पसेर सबैका लागि खाना पकाउनुहुन्थ्यो। फलामको सानो ढुंग्रोले फु फु गर्दै चुलोमा आगो बाल्नुहुन्थ्यो। भान्छा घ्यू हालेको भात र चिचिन्डाको तरकारीले मगमगाउँथ्यो। बाक्लो दही मालभोग केरा मध्यरातमा सबैलाई दिनुहुन्थ्यो, बुढी हजुरामाले। भोलिपल्ट ब्रत बस्दा प्यास लाग्दैन भन्दै दही थपीथपी खुवाउनुहुन्थ्यो।
रातभर मेरी हजुरामा आफ्नी आमा दिदी बहिनी, र छोरी बुहारीहरुसँग रमाइला गफ गरेर बस्नुहुन्थ्यो। गीत गाउँदै नाच्नुहुन्थ्यो। सानी थिएँ, त्यो रमाइलो र त्यो रात नसकियोस् हुन्थ्यो मलाई। हजुरामाहरुको त्यस्तो जमघट, रातो सारी लगाएर हातभरी राता चुरा बजाउँदै पड्काएको ताली, निधारमा खोटोले टाँसेका कसैका राता त कसैका सुनका टीका, माथि सिउँदोमा रातो सिन्दुर, रातो धागो लर्काएर नाचिरहेका मेरी हजुरामाहरु मेरा तीजका कहिल्यै नमेटिने सम्झना हुन्।
मेरी हजुरामा भन्नुहुन्थ्यो कृष्ण अष्टमीकै दिनदेखि तीज सुरु हुन्छ। भरतपुरको त्यो हाम्रो घरमा पनि कृष्ण अष्टमीकै रातदेखि तीज लाग्थ्यो। वल्लो पल्लोघरका सबैजना हरेक रात कहिले कसको आँगन त कहिले कुन चोकमा भेला भएर मादल ठोक्न थाल्थे। गाउँका सबै आमाहरु, दिदीबहिनीहरु, भाउजुहरु गीत गाउँदै नाच्नुहुन्थ्यो। सबै बुवाहरु, दाजुभाइहरु खुशीसाथ त्यो रमाइलोमा सरिक हुनुहुथ्यो। खाना खाइसकेपछि आज कसको घरमा नाचगान हुने भन्ने तय हुन्थ्यो। अनि गाउँभरका सबै त्यहीँ जम्मा भएर सुरु हुन्थ्यो मादलको ठटाई र कम्मर मर्काई।
भित्रबाहिर नन्द देवर बिरालाका छाउरा झैं
खानु खुट्नु छैन आमा सुकेँ दाउरा झैं...
हाँसोको फोहरा छुट्थ्यो यस्ता गीतहरुमा। हामी फुच्चाफुच्ची पनि जमेर ताली पड्काउँथ्यौं।
घरमा हजुरबुवाकी आमा पनि हुनुहुन्थ्यो। १०३ वर्षको उमेरमा वहाँ स्वर्गे हुँदा म ९ वर्षकी मात्र थिएँ। बुढी हजुरआमा बाँच्नुभएको त्यो अन्तिम सालको तीजमा सबैलाई वरिपरि राखेर उहाँले आफ्नो जमानाको तीज गीत गाएर सुनाउनुभयो। बुढी हजुरआमा बिते पनि मलाई घरमा हजुरामाले हरेक साल त्यो गीत सम्झाएर गाउन लाउनुहुन्थ्यो। सानो उमेरमा सुनेको त्यो गीत मेरो दिमागमात्र नभई मनमुटुमा नमेटिने गरी बसेको छ।
सुन सुन स्वामी मेरा तीजको ब्रत भोलि
मकन किनी ल्याइदेउ धुप छँया की चोली
मलमलकी तनैया गउनकी फरिया
असल बिसल रंगकी चुरी ल्याइदेउ हरिया...
जीवनको अन्तिम समयसम्म पनि उहाँलाई याद रहेको यो चार लाइन मैले हरेक तीजमा मेरी हजुरामा बाँचुन्जेल सुनाइरहेँ। आज हजुरामा हुनुहुन्न तर म एक्लै एक्लै भए पनि हरेक तीजमा यी हरफहरु गाउँछु। एक सय वर्ष अघिको त्यो समयमा तीजलाई कति महत्वका साथ मनाइने रहेछ भनेर मनमनै गुन्छु पनि। कति श्रद्धा र भावयुक्त छन् ती हरफहरु!
तीजको दिन नारायणगढ बजार र नारायणी नदी किनारमा नाच्ने गाउनेको ठूलो मेला नै लाग्थ्यो। रातो सारी लगाएका आमा र हजुरामाको हात समाउँदै बजार घुम्नु र त्यो नाचगान हेर्नुको मज्जा नै बेग्लै। असिन पसिन भएर तीजको बजार घुम्दा मलाई पनि आमा र हजुरामालाई जस्तै भोक प्यास लाग्थेन।
एक साता अघिमात्रै मेरा बुवाआमा लामो बिदेश बसाईबाट फर्कनुभयो। तीजका गीत घन्किन सुरु नहुँदै बुवाआमा आएर माइतीघरको ढोका खोल्नुभन्दा ठूलो खुशी अरु के नै थियो र! लगातार तीन वर्ष भैसकेको थियो मैले मेरी आमासँग तीज नमनाएको। दिदीबहिनी छैनन्। दाजु र भाइ दुवै बिदेशमा। माइती जानुपर्ने चाडमा माइती पर हुँदा कस्तो हुन्छ भन्नै परेन। टाढा भएपछि भाउजु बुहारीसँग न रमाइलो गर्न पाइयो न रिसाउनै। बेलाबेला भिडियो कलमा भाउजुलाई घुर्क्यायो। बिदेशी बुहारीले त बिचरा के बुझोस् मैले देखेभोगेको तीजको महत्व। बिदेशमै सेटल भएको भाइले जिस्क्याउँदै भन्यो, 'तलाईं यसपाली तीजमा आमा उपहार पठाइदिएको छु।'
मेरो आँखा धमिलिएको उसले देख्यो देखेन तर मुटु भित्रभित्रै कोक्किएर हिक्क हिक्क भयो। माइतीप्रति उतिकै श्रद्धा र माया भरिएर आयो। खासमा चाडबाडमा लिनेदिने भन्दा पनि चेली र माइतीबीचको समर्पण र स्नेह मेरा लागि सँधै विशेष छ। तर, पनि भाइले सबैभन्दा सुन्दर उपहार पठाइदियो 'मेरी आमा।' यसपाली त आमासँग छमछमी नाच्छु बुवाले रमाएर ताली बजाएको पनि हेर्न पाइन्छ भन्ने सम्झेरै रमाइलो मान्दै थिए। आजै सामाजिक संजालमा कतै पढेँ - 'सारी र सुनको अति महंगो पहिरनमा मासुभात खाएर उत्ताउलो नाच नाचेर नथाक्ने पर्वलाई तीज भनिँदो रहेछ।'
अनि बिस्तारै रिलजस्तै मेरो बाल्यकालदेखिका तीज सम्झिँए। बडो चित्त दुख्यो जब तीजलाई 'आइमाई उफ्रिने' चाडका रुपमा ब्याख्या गरियो। के साँच्चै त्यस्तै हो त तीज?
होस् नखुल्दैदेखि हरेक वर्ष सरिक हुने गरेको त्यो उत्सवलाई 'ग्ल्यामरस इभेन्ट' जसरी चर्चा गरिन्छ जुन पटक्कै पाच्य छैन। मैले सानैदेखि देखेभोगेको तीजका ती सबै उल्लास र उमंग के केवल आइमाईका उश्रृंखल क्रियाकलाप मात्रै थिए त? मेरी हजुरामाकी हजुरामाले त्यति सास्तीले भान्छामा पकाएको खाना र त्यसपछि मेरी हजुरामाहरुले छन् छन् चुरा बजाउँदै नाचेका नाचहरु उत्ताउला गतिविधि थिए त?
म ठोकुवा गरेर भन्न सक्छु थिएनन्। ती त हाम्रा पुराना पुस्ताले हामीमा सार्दै गएको साँस्कृतिक विरासत पो थियो। र, तीज सारी र सुनको होडबाजी वा उत्ताउलो नाचको पर्व पनि होइन र थिएन पनि।
तीजको सांस्कृतिक महत्वलाई बिर्सेर नकारात्मक टिप्पणीमात्र गर्नेहरुलाई दशैंमा देखिन थालेको बिकृतिबारे थाहा छैन होला त? मान्यजनको हातबाट टिका जमरा थापेर पिंङमा चचहुइ गर्नुपर्ने चाडमा हप्तौंसम्म जुवातास र रक्सी सामान्य भइरहेको छैन? त्यसो हो भनेर हामीले अब दशैं नै मनाउन छोड्ने? तिहारमा महिनादिन अघि देउसी भैलो गर्दै टोलटोलमा माइक बजाउँदै हिँड्नेहरुकै कारण विकृती भयो भन्दै तिहार नमान्ने? हो तीजका केही पक्षहरुमा सुधार आवश्यक छ। सुधार कसरी गर्ने भन्नेबारे छलफल र बहसमा जाने कि होच्याउने र अपमानजनक टिप्पणीलाई प्रोत्साहन गर्ने?
दशैं तिहार जस्तै सांस्कृतिक महत्वको रुपमा नमनाउने हो भने 'तीज' ले हरेक वर्ष यसरी नै महिलाहरुमाथि भद्दा मजाक गरिरहन्छ। सबैले चिर्नुपर्ने भ्रम के हो भने तीज महिलाहरुले मात्रै मनाउने चाड हुँदै होइन। दाजुभाइले दिदी बहिनीप्रति देखाउने श्रद्धा र ममताको चाड पनि हो। बाबुले छोरीलाई दिने स्नेह र श्रीमानले श्रीमतीको समर्पण 'बोध' गर्ने चाड पनि त हो। के परिवारका पुरुषहरुकै अपमानपूर्ण व्यवहार र गलत मानसिकताबीच हाम्रो चाडमा उल्लास भरिएला?
यसैपाली तीजमा एउटा रमाइलो गीत आएको छ- 'हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा...।'
सुन्दा फन्नी लागे पनि यो गीतले तीजमा पुरुषहरुको सहभागिता र सकारात्मक सोचलाई गहिरोसँग बोकेको छ। बीच्च बीच्चमा नाच्न आउनुस्। मासु भात खोजेकै होइन; घिरौला, चिचिण्डा, गाभा र भात उल्लासले खुवाउनुस्। हामी पनि नयाँ लुगा र गरगहनाले होइन खुशीले अनुहार उज्यालो बनाउँछौं। तीजको सांस्कृतिक महत्व र यसको मौलिकता जोगाइराख्न अझै पनि ढिला भैसकेको छैन है।