PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

धरहरा बनाउँदा सुन्धाराको सुर्ता : पैसा तिर्नुपर्ने बनाउछौ भने छाड, हामी आफै बनाउँछौं



सहयोग रञ्जित

धरहरा बनाउँदा सुन्धाराको सुर्ता : पैसा तिर्नुपर्ने बनाउछौ भने छाड, हामी आफै बनाउँछौं

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वकांक्षी योजनाका रुपमा रहेको धरहरा निर्माणको विषयसँगै सुन्धाराको भविष्यमाथि पनि स्थानीयले प्रश्न गर्न थालेका छन्। कुनै बेला शहरको पानी भर्न जाने सुन्धाराको अस्तित्व यतिखेर हीन अवस्थामा छ। त्यसैले अब सुन्धारा टिकेट काटेर देखाउनका लागि मात्र बन्ने हो कि भन्ने चिन्तामा छन् स्थानीय।

त्यसैकारण काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले लुँहिटी (सुनधारा) जान चाहनेलाई टिकट लिन नपाउने प्रस्ताव अघि सारेका छन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माणको क्रममा रहेको धरहरासँगै सुनधारामा पानी ल्याउने र व्यवस्थित बनाउने तयारी गरिरहेको छ।

आज धरहरा निर्माणस्थल निरीक्षणपछि महर्जनले निर्माण सम्पन्न भएपछि सुनधारा प्रवेश गर्न रकम लिन नहुने बताएका हुन्। उनले प्राधिकरणले आफ्नो लगानीमा बनाउने भनेको सुनधारा सर्वसाधारणका लागि खुल्ला गर्न अप्ठ्यारो भए अहिले नै जानकारी दिनपर्ने बताए।

'सुनधारा जानेलाई टिकट लिन पाउनुहुन्न। तपाइँहरुले आफ्नो लगानी छ भन्नुहोला। त्यसो हो भने हामीलाई अहिले नै भन्नुस्। वडासँग बजेट छ, जाँगर छ, हामी सुनधारा आफै बनाउँछ,' उनले भने।

भीमसेन थापाले बनाएको धरहरा २०७२ सालको भूकम्पमा ढलेपछि गएको वर्षदेखि यसको निर्माण सुरु भएको हो। तर, सँगै रहेको सुनधाराको काकाकूल दृश्यमा सरकारको आँखा पुगेको थिएन। अलपत्र परेको सुनधारासँग जिवन्त संस्कारहरु जोडिएको भन्दै त्यसलाई सार्वजनिक नै राखिनुपर्ने उनले माग गरेका हुन्।

सुनधारासँगै उनले पित्तृमोक्षका लागि काँचो माटोको दियो बाल्‍दै जाने 'उपाकु' मा नगर परिक्रमा गर्ने मार्ग, खट जात्रा मनाउने बाटो पनि खुल्ला गर्नुपर्ने माग गरे।

'प्राधिकरणले सुनधारा प्रवेश गर्ने र बाहिर निस्किन एउटा मात्रै बाटो देखाएको छ। तर, यहाँ पहिला झै चारै स्थानबाट बाटो बनाउनुपर्छ। सबैका लागि सुलभ हुने गरी,' उनले भने।

प्राधिकरणका सम्पदा विज्ञले भने स्थानीयको माग बमोजिम हाल संचय कोषले संचालन गरिरहेको काठमाडौं मलको १ रोपनी ११ आना जग्गा खाली गराएर वैकल्पिक बाटो बनाउने तयारी भइरहेको जनाएका छन्।

'त्यसका लागि कोषसँगै कुरा भइरहेको छ। उहाँहरुको जग्गा लिएर उनीहरुलाई प्राधिकरण अन्तर्गतको १ रोपनी १ पैसा जग्गा दिने निर्माण भइसकेको छ। त्यो बाटो छिट्टै खुल्छ,' उनले भने।

निर्माण चरणकै क्रममा रहेको धरहराका कारण भाद्र २४ गते हुने उपाकु मार्ग प्रभावित हुने र कंक्रिटको प्रयोग गरेर बनाइँदै गरिएको धरहराले भीमसेन थापाको इतिहास स्थापित नहुने भन्दै विरोध भइरहँदा आज राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, काठमाडौं वडा २२ का जनप्रतिनिधि, स्थानीय, अभियन्ता र ट्रान्सपेरेन्सी इन्टरनेशनलले संयुक्तरुपमा धरहराको स्थलगत निरीक्षण गरेका थिए।

निरीक्षणपछि टुंडिखेलमा रहेको प्राधिकरणको अस्थायी कार्यालयमा छलफल भएको थियो। सो कार्यक्रममा अभियन्ताहरुले आफूहरुको पनि उपस्थिति हुनुपर्ने माग गरेका थिए। तर, उनीहरुलाई छलफलमा सहभागी हुन दिइएन।

अभियन्ताहरुले हाल धरहराको पुनर्निर्माण नभइ नवनिर्माण भएको भन्दै पुरानै तरिकाले धरहरा बन्नुपर्ने माग गर्दै आएका छन्। उनीहरुले भीमसेन थापाले बनाएको धरहरा मासेर नयाँ आधुनिक धरहराले इतिहासमाथि खेलवाड भएको भन्दै विरोध गर्दै आएका हुन्। धरहरालाई सांस्कतिक रुपमा भन्दा पनि व्यवसायिक रुपमा निर्माण भइरहेको आरोप लगाउँदै धरहरा नव निर्माण रोक्न सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी अभियन्ताहरुले गरिरहेका छन्।

वडा अध्यक्ष महर्जनले भने धरहरा वडा २२ मा रहेको र त्यसमा बोल्ने अधिकार २२ वडाका स्थानीयलाई नै धेरै रहने तर्क गर्दै वातावरण बिग्रिन सक्ने हुनाले उनीहरुलाई बाहिरै राखिएको बताएका थिए।

प्राधिकरणले भने पहिला झै माटो र चुनाको प्रयोग गर्दै धरहरा बनाउन नसकिने भन्दै भूकम्प प्रतिरोधात्मक नयाँ धरहरा बनाउने बताएको छ।

अब बन्ने गजुर सहित २२ तल्ल धरहरा बहुप्रयोजनको हुनेछ। पहिला साढे ४ रोपनीमा फैलिएको धरहरा अब ४२ रोपनीमा फैलिँदैछ। त्यसका लागि त्यहाँ रहेको टक्सार र हुलाकको कार्यालय हटाउने काम सुरु भइसकेको छ।

धरहरा क्षेत्रमा वाटर फाउन्टेन पार्क सहित ४०० वटा चार पांग्रे गाडी र हजार वटा दुई पांग्रे गाडीलाई पार्क गर्न मिल्ने गरी पार्किङ स्थल बनाइँदैछ। यससँगै त्यहाँ म्युजियमका साथै नेपालमा उत्पादन हुने सामानहरुको पसलहरु रहने छ। माथि जानलाई दुईवटा लिफ्ट रहनेछन् भने पहिला झै सिँढीको व्यवस्था पनि हुनेछ। अहिले बन्ने धरहरामा भने तल्लैपिच्छे आराम गर्ने व्यवस्था मिलाइने प्राधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell