PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

यो वर्षको तीजमा कम चहलपहल, अधिकांश पार्टी प्यालेस सुनसान



मन्दिरा खत्री

यो वर्षको तीजमा कम चहलपहल, अधिकांश पार्टी प्यालेस सुनसान

हरितालिका तीज आउन केही दिन मात्र बाँकी छ। तीजलाई हिन्दु महिलाहरुको विशेष चाडको रुपमा लिइन्छ। पतिको लामो आयुको कामना गर्दै महिलाहरु तीजमा निर्जल ब्रत बस्ने चलन रहि आएको छ। सदाझैँ यो वर्ष पनि तीजका थुप्रै गीतहरु बजारमा आइसकेका छन्।

फिल्म कन्यादानमा समावेश ‘तीजको लहर आयो बरिलै’ बोलको गीत सहरबजारमा गुञ्जिन थालेपछि तीज नजिकिदै गरेको आभाष हुन्छ। त्यसो त केही वर्षयता तीजका अधिकांस गीतहरुको छायांकन पार्टी प्यालेसहरुमा हुँदै आएका छन्। आउटडोर सुटिडको तुलनामा इनडोर सुटिङ गर्न अलि सहज र घाम पानीको कुनै डर नहुने हुँदा पनि काठमाडौंका प्रायजसो पार्टी प्यालेसहरु आकर्षणको केन्द्र बन्दै आएका छन्।

तर पछिल्लो समय तीजमा एक महिना अघिदेखि नै दर खाने प्रचलनले भने विकृति बढेको संस्कृतिकर्मीहरु बताँउछन्। 

केही वर्षयता गृह मन्त्रालयले भड्किलो तीज नमनाउन सूचना जारी गरेसँगै काठमाडौं उपत्यकाको अधिकांश पार्टी प्यालेसहरुमा दर कार्यक्रम कमै आयोजना हुने गरेका छन्। त्यसैको नतिजा हुनुपर्छ, पोहोर सालको तीजमा दर्जनौँ म्युजिक भिडियो छायांकन भएका अधिकांश पार्टी प्यालेसहरु यो वर्ष सुनसान छन्।

गत वर्ष १ दर्जन बढी तीज गीत छायांकन भएको बसुन्धरा स्थित दियालो फुड ल्याण्डमा यो वर्ष एउटा पनि तीज गीतको सुटिङ भएन्। फुड ल्याण्डका व्यवस्थापक जित बहादुर श्रेष्ठका अनुसार सरकारले पार्टी प्यालेसमा भड्किलो दर कार्यक्रम नगर्न सूचना जारी गरेसँगै छायांकन र दर कार्यक्रम दुबै आयोजना हुँदैन्।

त्यस्तै टोखास्थित गोधुली फुड ल्याण्डका व्यवस्थापक तुलसी लामिछानेले पनि यो पटकको तीजमा आफ्नो पार्टी प्यालेसमा म्युजिक भिडियो छायांकन नभएको बताए।

उनी भन्छन्, 'गीतको छायांकन गर्दा पार्टी प्यालेसभित्र उपकरण लैजाने डयाङडाङ डुङडुङ गर्ने भएकोले संरचनाहरु भत्किने, बिग्रने, कुचिने डरले गर्दा हामीले यो वर्ष तीज गीतको छायांकन गर्न दिएनौं।'

दरको कार्यक्रमको लागि पनि हल खासै बुकिङ नभएको उनको गुनासो छ। भन्छन्, ठुलो प्याकेज आँउदैन् २० देखि ३० जनालाई लिएर फाइदा नै हुँदैन्। यो पटक गोधुलीमा त्यही टोखा वरिपरि टोलका दिदिबहिनीको एक समूहले दर कार्यक्रम गरेको उनले बताए।

तीज नजिकिदै गर्दा थुप्रै गायक गायिकाहरु स्टेज कार्यक्रमको लागि विदेश पुगिसकेका छन्। तर गायिका ज्योति मगर भने यो पटक स्वदेशमै स्टेज कार्यक्रम गर्ने बताँउछिन्।

उनले भनिन्, ‘यो पाली म तीजको दिन स्टेज कार्यक्रम गर्न काठमाडौं बाहिर जाने सोचमा छु।’

यो वर्ष उनले चारवटा तीज गीतहरु गाइन्। जसमध्ये दंगै परुन दुनिँया बोलको गीतलाई दर्शकले निकै रुचाए। यो गीतको छायांकन गोठाटार स्थित कृष्ण मन्दिरमा गरिएको हो।

आज भोली तीज गीतहरु पार्टी प्यालेसमा छायांकन भईरहदा ज्योती मगर भने आउटडोर सुटिङमै रमाउने गर्दछिन्।

ज्योति भन्छिन्, ‘बाध्यता हो, पानी पर्ने सिजन भएकोले गर्दा आउटडोर सुटिङ गर्दा गाह्रो हुने भएर पार्टी प्यालेस मानिसको पहिलो रोजाइमा पर्दै आएको छ। तर मलाई चाहि आउटडोर सुटिङ नै मनपर्छ।’

त्यस्तै जोरपाटीमा रहेको पीस बेङ्क्युटका कर्मचारी आर्या सापकोटाका अनुसार पीस बेङ्क्युटमा पनि तीजका कुनै म्युजिक भिडियोहरुका छायांकन र तीजका दर कार्यक्रम आयोजना भएनन्। 

गायिका सिन्धु मल्लले एक दशक अघि गाएको चर्चित तीज गीत ‘चिटिक्कै भा छु रे’ को रिमेक भर्सनमा यो पटक सिन्धु मल्लसँगै नायिका आँचल शर्माले नृत्य गरेकी छिन्। आँचलले पहिलो पटक तीजको गीतमा अभिनय गरेकी हुन्।

आँचल सुनाउछिन्, ‘तीजको गीत हेरेर दर्शकहरुले एकदमै राम्रो प्रतिक्रिया दिइरहनु भएको छ।’

चिटिक्कै भा छु रे को छायांकन नक्सालको अग्रवाल भवनमा गरिएको हो। आँचललाई आउट डोर सुटिङको तुलनामा इनडोर सुटिङ नै मनपर्ने बताउँछिन्।

उनले भनिन्, ‘यो गीतको सुटिङको बेला एकदमै ठुलो पानी परेकोले गर्दा हामीले पार्टी प्यालेस भित्र नै सुटिङ गरेका हौ। भित्रै सुटिङ गरेको हुनाले पाँच छ घण्टामै गीतको छायांकन सकिएको थियो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell