
जलेश्वर : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश - २ अन्तर्गतका जिल्लाहरुको संगठन बिस्तार र सुदृढीकरण अभियान शुरु गरेको छ।
अभियान अन्तर्गत सर्लाही, महोत्तरीको बिस्तारित बैठक सम्पन्न भैसकेको छ भने आज सिरहा र सप्तरीको बिस्तारित बैठक सम्पन्न हुने पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन्।
महोत्तरीको जलेश्वरमा आयोजित बिस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गरी आएका ब्यक्तिहरु पार्टी प्रवेश गरेको प्रवक्ता सुशील श्रेष्ठले बताए। अभियानमा सबै जिल्लाको बिस्तारित बैठक बस्ने, बैठकमा आगामी महाधिवेशनलाई केन्द्रित गरी स्थानीय तहको संरचनाको अधिबेशनको तयारी शुरु गर्ने, साधारण सदस्यता र सक्रिय सदस्यता वितरणलाई अभियानको रुपमा संचालन गर्ने, जनवर्गीय संगठन निर्माण र क्रियाशीलतालाई उच्च प्राथमिकता दिने, पार्टी प्रवेश कार्यक्रम संचालन गर्ने, तराई-मधेशको विकास र समृद्धिको मुद्दालाई प्राथमिकताका साथ उठान गर्ने, भ्रष्टाचार र बेतिथिको भन्डाफोर गर्ने तथा हिन्दुत्वको एजेन्डालाई जनताको घर दैलोमा पुर्याउने लगायतका विषयमा छलफल भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
पार्टीको उपाध्यक्ष महेशलाल महासेठ्को नेतृत्वमा रहेको टोलीले सबै जिल्लाको वस्तुस्थितिको अध्ययन गरी विश्लेषण सहित केन्द्रमा प्रतिवेदन पेश गर्ने छ। भ्रमण टोलीमा उपाध्यक्ष महासेठ, प्रबक्ता सुशील श्रेष्ठ, प्रदेश अध्यक्ष चन्देश्वर यादव, केन्द्रीय सदस्य नयनबहादुर मोक्तान, सुशीला श्रेष्ठ र प्रदेश कोषाध्यक्ष शत्रुघन महासेठ लगायत छन्।