PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

ललितपुरका मेयर महर्जन र्‍याफ्टिङ गर्दै कुपन्डोलबाट पुगे सुन्दरीघाट, भन्छन् , 'काठमाडौं साइडमा बढी फोहोर देखें'

ललितपुरका मेयर महर्जन र्‍याफ्टिङ गर्दै कुपन्डोलबाट पुगे सुन्दरीघाट, भन्छन् , 'काठमाडौं साइडमा बढी फोहोर देखें'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


ललितपुर: शनिबार बिहान ८ बजे कुपन्डोलबाट बाग्मतीमा र्‍याफ्टिङ यात्रा शुरु भयो। शुक्रबार रातिदेखि वर्षा भएपछि बाग्मतीको सतह बढेको थियो।

सोही पानीमा ६ वटा र्‍याफ्टिङ तैरिँदै कीर्तिपुरको सुन्दरीघाटतिर बढ्यो।

नेपाल नदी संरक्षण कोषको आयोजनामा भएको महा जलयात्रामा सहभागी थिए ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि।

ललितपुरमै जन्मिएका मेयर महर्जनको बाग्मतीमा यो पहिलो र्‍याफ्टिङ यात्रा थियो। 'देशविदेशका नदीमा र्‍याफ्टिङ गरियो। तर बाग्मतीमा भने पहिलोचोटि हो,' मेयर महर्जनले पहिलोपोस्टसँग भने, 'आज कुपन्डोलबाट र्‍याफ्टिङ चढेर कीर्तिपुरको सुन्दरीघाटसम्म पुग्यौं। एकदमै मजा भयो।'

आजको जलयात्राले बाग्मतीमा र्‍याफ्टिङको प्रचुर सम्भावना देखेको उनले बताए। महर्जनले भने, 'बाग्मातीमा पानी नहुँदाको अवस्थाले अलि गाह्रो छ। नत्र प्रचुर सम्भावना देखिन्छ।'

शिवपुरीमा पानी कलेक्सन गरी ठाउँठाउँमा ड्याम बनाएमा बाग्मतीमा पानी बग्ने र १२ महिना नै र्‍याफ्टिङ सम्भव हुने उनले बताए। मेलम्चीको पानी आएपछि यसमा थप सुधार हुने मेयर महर्जनले बताए।

आजै बाग्माती सफाईको ३२९ औं हप्ताको परेकोले कार्यक्रममा सहभागीले सरसफाइसमेत गरे। र्‍याफ्टिङ यात्रामा फोहोर कतिको देखियो त?

जवाफमा मेयर महर्जनले भने, 'काठमाडौं साइडमा अलि फोहोर बढी नै देखें। ललितपुर साइडमा सफै देखियो।'

आफूसँगै र्‍याफ्टिङ यात्रामा रहेकाले पनि यही कुरा सुनाएको उनले बताए। भने, 'मसँगै यात्रामा रहेका साथीहरुले पनि ललितपुरमा राम्रो देखियो भन्नुभयो। पानी निर्मल हुनुपर्छ भन्नुभयो। पानीको क्वान्टिटी बढाउन पहल थाल्नुपर्ने सुझाव दिनुभयो।'

 



ट्रेन्डिङ पोस्ट

Ncell