PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

गौहत्याले विवादमा नेपालगञ्ज उपमहानगर, गृह मन्त्रालयले गठन गर्‍यो छानविन समिति



पी बी खड्का

गौहत्याले विवादमा नेपालगञ्ज उपमहानगर, गृह मन्त्रालयले गठन गर्‍यो छानविन समिति

सुर्खेत : वीरेन्द्रनर – १४ कटकुवामा १६ गाई मृत भेटिएका थिए भने वीरेन्द्रनगरको ब्युरेनी नजिक थप ८ वटा गाई त्यस्तै अवस्थामा फेला परे।

शनिवार बिहान सुब्वाकुनास्थित प्रहरी चेकपोष्ट नजिक पनि ६ वटा गाई फेला परेका छन्। प्रहरीका अनुसार अझै गाईको संख्या यकिन नभएको भन्दै संख्या बढी हुने जनाएको छ।

‘हामी हिजोदेखि नै खटिएका छौँ। भेटिनेक्रम बढेको छ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रवि रावलले भने, ‘मरेका या जिवित जस्तो भेटिन्छन् हामीले मुचुल्का उठाइरहेका छौँ।’

यसरी सरकारी निकायको लापरवाहीले नै गाई जथाभावी छाडेको र मृत्यु भएको विषयको चौतर्फी आलोचना भइरहेको छ। नेपालगञ्जदेखि सुर्खेत ल्याउनेक्रममा बीचबीच बाटोमा गाईलाई गाडीबाट निकालेर फालेको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले भने यो घटना कसरी भयो? किन भयो ? को–को संलग्न छन्? भन्ने बारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

नेपालगञ्जदेखि किन पठाइयो?

नेपालगञ्ज उप–महानगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापन गर्दै आइरहेको छ। तर, खुला सीमानाकाका कारण भारतबाट भित्रिने छाडा पशुचौपायाको संख्या दिनदिनै बढ्दो छ। यसले गर्दा पनि उप–महानगरपालिकालाई छाडा पशु चौपाया व्यवस्थापनमा निकै चुनौती छ। बजार क्षेत्रमा जथाभावी हुन थालेपछि दुर्घटनाको जोखिम र अव्यवस्थित भएपछि उप–महानगरले व्यवस्थापनाको प्रयास थालेको थियो।

उप–महानगरपालिकाले बजार क्षेत्रमा छरिएर रहेका गाईलाई कान्जिहाउसमा राख्ने गरेको थियो। तर, कान्जिहाउसले थेग्न नसक्ने र साँघुरो भएपछि दैलेख पठाउन लागिएको बुझिएको छ। ५० देखि ६० वटा गाई गोरु अट्ने कान्जिहाउसमा झण्डै साढे तीन सयदेखि चार सयसम्म गाई गोरु राखिँदै आएको छ। अहिले पनि नेपालगञ्ज र कोहलपुर क्षेत्रमा झण्डै बाह्र सय बढी छाडा पशु चौपाया छन्।

गाई र गोरु प्रयोगमा ल्याउने अवस्था नरहेपछि छाडा छोड्न चलन छ। दूध दिने बेलासम्म गाई पाल्ने र जोत्न मिल्ने सम्म जोत्ने। जब शारीरिक रुपमा कमजोर हुँदै जान्छन्, त्यसपछि भने पशुहरुलाई छाडा छोड्ने चलन सामान्य छ नेपालगञ्जमा।

कुनै जानकारी छैन

नेपालगञ्ज उपमहानगरपालिकाले मौखिक रुपमा दैलेखका स्थानीय तह र धार्मिक संस्थाले मगाएपछि गाई गोरु पठाएको भने पनि दैलेखस्थित कसैले पनि जानकारी नपाएको बताएका छन्।

प्रसिद्ध धार्मिक स्थल श्रीस्थान मन्दिरमा पठाएको भनेकोमा त्यहाँको मन्दिर व्यवस्थापन समितिले आधिकारीक जानकारी नआएको जनाएको छ।

विज्ञप्ति जारी गर्दै श्रीस्थान मन्दिर व्यवस्थापन समितिले घटनाको घोर भत्सना गर्दै संलग्नलाई कारवाहीको माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालगञ्ज उप–महानगरपालिकाले दैलेखको श्रीस्थान क्षेत्रमा पठाइएको भनेता यहाँको भैरवी गाउँपालिका र मन्दिर व्यवस्थापन समितिलाई यसबारे कुनै पनि आधिकारीक जानकारी नआएको सबैको जानकारीका लागि अनुरोध छ।’

दैलेखस्थित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुले समेत नेपालगञ्जबाट गाई ल्याउनेबारे कुनै समन्वय र जानकारी नरहेको प्रतिक्रिया दिएका छन्।

१४२ गाई फिर्ता

नेपालगञ्जदेखि दैलेख लैजाने बहानामा सुर्खेतको कटकुवामा छोडिएका गाई फेरि नेपालगञ्ज नै पठाइएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रवि रावलकाअनुसार जिवित रहेका एक सय ४२ वटा पशु नेपालगञ्ज नै पठाइएको जानकारी दिए।

‘घाइते र विरामी अवस्थामा रहेका गाई गोरुको उपचार भइरहेको छ,’ उनले भने, ‘शुक्रवार साँझ र आज बिहान गरी एक सय ४२ वटा जिवित पशुलाई नेपालगञ्ज नै पठाइएको हो। घटनाको बारे थप अनुसन्धान भइरहेको छ।’

छानविन समिति गठन

यता, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर, उपमेयर र कार्यकारी अधिकृत जिल्ला बाहिर रहेको बुझिएको छ। तत्काल उपमहानगरपालिकाका मेयर र उपमेयर नेपालगञ्ज पुग्नेबित्तिकै छानविन समिति गठन गरिने उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए। कार्यवाहक मेयर सुनिल हमालको अध्यक्षतामा बसेको बैठकले छानविन समिति गठन गर्ने निर्णय यसअघि नै गरिसकेको छ।

उपमहानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै दैलेखको श्रीस्थानसम्म पुर्‍याउने क्रममा बाटोमा मृत्यु भएको दावी गरिएको छ। कुनै गलत मनसाय नभएर कान्जिहाउसमा रहेका छाडा पशु चौपायालाई सुर्खेतको कटकुवासम्म ट्रकमा र कटकुवादेखि पैदलै श्रीस्थान लैजाने क्रममा केहीको मृत्यु भएको उल्लेख छ।

विरोध प्रदर्शन

नेपालगञ्जको काञ्जिहाउसमा रहेका गाई सुनियोजित तरिकाले सुर्खेतको जंगलमा ल्याएर छोडेको भन्दै विरोध सुरु भएको छ। राष्ट्रिय जनावर गाईलाई वेवारिसे तरिकाले छोडेको र केही मरेको भन्दै विरोध भएको हो। प्रदेशको राजधानी सुर्खेतमा लापरवाही तरिकाले गाईको हत्या हुन गएको भन्दै कारवाहीको माग गर्दै प्रदर्शन गरिएको छ। वीरेन्द्रनगरको मुख्य बजार परिक्रमा पछि वीरेन्द्र चोकमा पुगेर सभा गरिएको छ। रातारात गाई ट्रकमा लोड गरेर ल्याएनु र दर्जन बढी गाई मृत अवस्थामा भेटिनुले घटनाभित्र रहस्य लुकेको भन्दै तथ्यसत्य छानविन गर्न माग गरिएको छ। साथै दैलेख लैजान संलग्न व्यक्तिहरुलाई सार्वजनिक गर्न समेत माग गरिएको छ।

गाई जंगलमा रहस्यमय तरिकाले मरेको भन्दै शहरी विकास मन्त्री मो. इस्तियाक राईले समेत लिखितरुपमै कारवाहीको माग गरेका छन्।

यस्तो छ कानुनी प्रावधान

मुलुकी अपराध संहिता २०७४ परिच्छेद २७ को पशुपक्षी सम्बन्धी कसूर दफा २८९मा गाई, गोरु मार्न वा कुट्न नहुने भन्दै यदि कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्‍याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन। उपदफा (१) बमोजिमको कामबाट पशु मर्न गएमा त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद हुने व्यवस्था छ। उपदफा (३) अनुसार गाई वा गोरुलाई कुटी अंगभंग पारेमा ६ महिनासम्म कैद र अन्य चोट पुर्‍याएमा ५० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान रहेको छ।

 

गृहले गठन गर्‍यो छानविन समिति

गौहत्याको विषय भएको भन्दै देशव्यापी विरोध भएपछि गृह मन्त्रालयले पनि घटनाको अनुसन्धानका लागि समिति गठन गरेको छ।

उप सचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको गृह मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानविन समिति गठन भएको हो। गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम हदैसम्मको कारवाही गरिने रकुनै पनि किसिमको उन्मुक्ति नदिइनेमा गृह प्रतिवद्ध रहेको विज्ञप्तिमा जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell