PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

साफ यू १५ : फाइनलमा नेपालको भारतसँग लज्जास्पद हार



पहिलोपोस्ट

साफ यू १५ : फाइनलमा नेपालको भारतसँग लज्जास्पद हार
तस्बिरः इण्डियन फुटबल टिम/ट्वीटर

दक्षिण एसियाली खेलकुद अन्तर्गत भारतको कल्याणीमा सम्पन्न यू १५ फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पराजित भएको छ।

पहिलो खेलमा भारतसँगै पराजित भएर सुरु गरेको नेपाल अन्तिम खेलमा पनि भारतसँगै लज्जास्पद हार ब्यहोर्न पुग्यो। यता भारतले भने अपराजित रहँदै उपाधि हात पारेको छ।

आज भारतको कल्याणीमा भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० को गोल अन्तरले पराजित गरेको हो। भारतका लागि खेलको १५ मिनेटमै भारतका महेश्वनसिंह टोङब्रमले गोल गर्दै भारतलाई अग्रता दिलाए। खेलमा दबाब बनाएको भारतका लागि अमनदीपले दोस्रो गोल गरे। त्यसको ३ मिनेट पनि बित्न नपाउँदै सिवाजित सिंह लेइमापोकपामले गोल गर्दै खेलको मध्यान्तर अघि नै भारतलाई ३ गोलको अग्रता दिलाए।

दोस्रो हाफ पनि नेपालका लागि सुखद रहन सकेन। खेलको ५२ औं मिनेटमा भारतका टाइसन सिंह लोइटोङबमले हानेको लामो सर्ट नेपाली गोल किपरले रोके पनि सिद्धार्थ नोङमेइकपामले त्यसलाई गोलमा परिणत गरे। त्यस्तै, ६५ औं मिनेटमा फेरि हिमान्सु जाङ्ग्राले गोल गर्दै भारतलाई ५–० गोलको अवस्थामा पुर्‍याए। त्यस्तै खेलको ७६ औं मिनेटमा सिद्धार्थ नोङमेइकपामले गोल गरे।  त्यसको २ मिनेट पनि बित्न नपाउँदै सिद्धार्थले नै ह्याट्रिक बनाउदै भारतलाई ७–० को अवस्थामा पुर्‍याए।   

नेपालले पहिलो खेलमा आयोजक भारतसँग ५–० को लज्जास्पद हार बेहोरेको थियो। दोस्रो खेलबाट भने नेपालले पुनरागमन गर्दै खेलमा श्रीलंकामाथि २–० को जित निकालेको थियो। तेस्रो खेलमा  बलियो मानिएको डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै, बिहीवार भएको खेलमा भुटानलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell