PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डेंगु सार्न पोथी लामखुट्टे सक्रिय : किन फैलियो महामारीको रुपमा, डेंगु लागेको कसरी थाहा पाउने?



हेम रोकाहा

डेंगु सार्न पोथी लामखुट्टे सक्रिय : किन फैलियो महामारीको रुपमा, डेंगु लागेको कसरी थाहा पाउने?

काठमाडौं: नेपालमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु नामक रोग महामारीको रुपमा फैलिरहेको छ। प्रि-मनसुन (समयभन्दा अघि नै आएको वर्षा) का नेपालमा डेंगु तीब्र रुपमा फैलिएको विज्ञहरु बताउँछन्। अहिलेसम्म देशभर तीन जनाको डेंगुका कारण मृत्यु भएको छ भने एक हजार पाँच सय ३७ बिरामी छन्।

यसअघि कहिल्यै डेंगु नदेखिएका केही जिल्लाहरुमा पनि यो वर्ष महामारी फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका टेकुका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलले जानकारी दिए।

प्याकुरेलले भने, 'यसले केही जिल्लाहरुमा महामारीको रुप लिएकै हो। यसअघि डेंगु नदेखिएका केही जिल्लाहरुमा पनि डेंगुका बिरामीहरु बढिरहेकाले यसलाई ती जिल्लाहरुमा महामारी भन्न सकिन्छ। हाल प्रदेश नम्बर १, ३ र ४ मा डेंगु रोग महामारीको रुपमा फैलिएको छ। यसअघि नै डेंगु रोग देखिएका जिल्लाहरुमा यो रोग केही मात्रामा बढ्दा भने महामारी भन्न मिल्दैन।'

महाशाखाको तथ्यांकअनुसार नेपालमा प्रदेश नम्बर १ मा सबैभन्दा बढी ५६३ र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ६ जनामा डेंगु देखिएको छ। कर्णाली प्रदेशमा भने हालसम्म डेंगु रोगका संक्रमित भेटिएका छैनन्।

डेंगु के हो?

विश्व स्वास्थ्य संगठनका अनुसार डेंगु लामखुट्टेको माध्यमबाट सर्ने एक प्रकारको सरुवा रोग हो। यो रोग फ्लेभिभिरिडेइ परिवारको डेंगु नामक भाइरसको कारणले हुन्छ। यो सबै लामखुट्टेको टोकाइबाट सर्ने नभइ 'एडिज एजिप्टाई' र 'एडिज एल्बोपिक्टस' नामक पोथी जातको लामखुट्टेको टोकाइबाट मात्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग भएको भेक्टर कन्ट्रोल निरीक्षक प्याकुरेलले बताए।

डेंगु लागेको कसरी थाहा पाउने?

डेंगु ज्वरो लाग्दा फ्लु अथवा भाइरल ज्वरोको जस्तै लक्षण देखिन्छ। यसले भर्खर जन्मेको बच्चादेखि वयस्कसम्म सबैलाई संक्रमित बनाउन सक्छ। १०४ डिग्री फरेनहाइट र सोभन्दा माथिको ज्वरो आएमा डेंगु लागेको आशंका गर्न सकिने भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा भोजराज अधिकारीले बताए।

ज्वरो सँगसँगै अत्याधिक टाउको दुख्ने, आखाँको पछाडिको भाग दुख्ने, मांशपेशी तथा जोर्नीहरु दुख्ने, वान्ता हुने, ग्रन्थीहरु सुन्निने समेतका लक्षणहरु देखिएमा डेंगु मान्न सकिने डा अधिकारीले बताए।

'ज्वरोको साथमा शरीरमा नयाँ डाबर अथवा बिबिरा आउने, टाउको वा ज्यान अत्याधिक दुख्ने तथा शरीरमा प्लेट्सलेट्सको मात्रा १ लाखभन्दा कम भएमा डेंगु भएको मान्न सकिन्छ', डा अधिकारीले भने।

यो लक्षण दुईदेखि सात दिनसम्म देखिन्छ। संक्रमित लामखुट्टेले टोकेको चारदेखि १० दिनमा यस्ता लक्षण देखिन्छ।

डेंगु कतिबेला खतराजनक हुन्छ?

सामान्यतया डेंगु त्यति खतराजनक हुँदैन। तर डेंगुको लामो समय उपचार हुन नसकेमा भने प्लेट्सलेट्सको कमी, शरीरमा पानी जम्ने, स्वासप्रस्वासमा समस्या आउने, आन्तरिक रक्तश्राव हुने तथा अंगहरु फेल हुने अवस्थामा भने खतराजनक हुने डा अधिकारीले बताए।

प्रारम्भिक लक्षण देखिएको ३ देखि ७ दिनमा खतराका लक्षणहरु देखिने उनको भनाइ छ। जसमा शरीरको तापक्रम कम हुने, अत्याधिक पेट दुख्ने, लगातार वान्ता हुने, छिटो छिटो स्वासप्रस्वास हुने, गिँजाबाट रगत आउने, थकाइ लाग्ने तथा वान्तामा रगत देखिने लक्षणहरु रहेका छन्। यस्ता लक्षण देखिएको २४ देखि ४८ घण्टामा विरामीले उपचार नपाएमा उसको मृत्युसमेत हुन सक्छ।

डेंगु कसरी सर्छ?

डेंगु सर्ने एक मात्र माध्यम लामखुट्टे भएको बताउँछन्, प्याकुरेल।

'यो रोग विशेषगरी दुई प्रकारले सर्छ। पहिलो डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा यो रोग सर्छ र अर्को संक्रमित व्यक्तिमा भएको भाइरस लामखुट्टे कै माध्यमबाट अर्को स्वस्थ मानिसमा सर्न सक्छ', प्याकुरेलले भने।

नेपालमा डेंगु१, डेंगु२, डेंगु३, डेंगु४ गरी चार किसिमका भाइरसहरु पाइएका छन्। डेंगु नियन्त्रण गर्दा यी सबै भाइरस देखिएका उनले बताए।

उनी भन्छन्, 'डेंगु यतिबेला विश्वभर नै फैलिरहेको अवस्था छ। नेपालमा डेंगु फैलनुमा प्रि-मनसुनले धेरै हदसम्म भूमिका खेलेको छ।'

डेंगु किन तीब्र रुपमा फैलिन्छ?

प्याकुरेलका अनुसार मानिस र लामखुट्टे दुबै समुदायमै हुने भएकाले पनि यो रोग छिट्टै पैलिन्छ र महामारीको रुप लिन्छ।

'हाम्रो समुदायमा डेंगु फैलाउने लामखुट्टे हुर्कने र बृद्धि हुने वातावरण निकै राम्रो भयो। हामीले यसको व्यवस्थापनमा निकै कम ध्यान दियौँ। जसको कारणले डेंगु तीब्र रुपमा फैलिरहेको छ', उनले भने।

डेंगु फैलाउने लामखुट्टेको जीवन अवधि करिव ३० देखि ४५ दिनको हुन्छ। यो अवधिमा यसले हरेक चारदेखि पाँच दिनको अन्तरालमा ९ पटकसम्म फुल पार्छ। एक पटकमा यसले १५० देखि ३०० सम्म फुल पार्छ। यदि फुल पार्ने लामखुट्टे संक्रमित छ भने उसले पार्ने सबै फुल पनि संक्रमित हुन्छ, र त्यसबाट निस्कने बच्चा पनि सबै संक्रमित हुन्छन्। एउटा लामखुट्टे संक्रमित भएपछि उसका सबै सन्तान र त्यसपछिका सबै पुस्ता संक्रमित हुन्छन्। यसरी डेंगु फैलाउने लामखुट्टेको संख्या तीब्र रुपमा बढ्छ। यसलाई ट्रान्स ओभेरीयन ट्रान्समिसन अर्थात एक पुस्ताबाट अर्को पुस्तामा सर्ने रोग भनिने प्याकुरेलले बताए।

'यो लामखुट्टेको जीवनयापन पनि अन्य लामखुट्टेको तुलनामा निकै फरक छ। यसले एकै मानिसबाट मात्रै रगत खाँदैन। एउटा लामखुट्टेले पेटभरी रगत खान ८/९ जनालाई टोक्छ। ५० जनाको मानिसको समूहमा डेंगु फैलाउन ५ वटा लामखुट्टे भए काफी हुन्छ', प्याकुरेलले भने।

उनका अनुसार डेंगुबाट संक्रमित सबै मानिसमा यसको लक्षण देखिदैन। ९० प्रतिशत मानिसहरुमा यसको लक्षण नदेखिने उनले बताए। १० प्रतिशत मानिसमा मात्रै यसको लक्षण देखिने भएकाले उनीहरुमा मात्रै उपचारको लागि आउने गर्छन्। लक्षण नदेखिने मानिसबाट पनि डेंगु रोग अर्को स्वस्थ मानिसमा सर्ने उनको भनाइ छ।

डेंगुबाट कसरी बच्ने?

डेंगुको बारेमा समुदायका मानिसलाई बुझाउन सके डेंगुको महामारी कम हुने उनले बताए।

'यो रोग कुनै एक पक्षको पहलमा मात्रै कम हुने रोग होइन। यसको लागि सर्वसाधारण, राजनीतिककर्मी, नागरिक समाज, बुद्धिजिवि, चिकित्सक तथा स्वास्थ्य मन्त्रालय सबै पक्षको साथ र सहकार्य हुनु जरुरी छ', प्याकुरेलले भने।

डेंगुको नियन्त्रणको लागि लामखुट्टेलाई नै नियन्त्रण गर्नु आवश्यक रहेको उनी बताउँछन्।

'लामखुट्टेको अण्डा, लार्भा र प्युपा पानीमा हुन्छ। वयस्क भएपछि मात्रै यो पानी बाहिर आउने हो। पानीमा हुँदाको चरणमा नै हामीले यसलाई नष्ट गर्न सक्यौँ भने डेंगु सार्ने लामखुट्टे समुदायमा कम हुन्छ', उनले भने।

पानीमा हुने लामखुट्टेको चरणलाई नियन्त्रण गर्न समुदायका मानिसहरुले घर वरपर सफा राख्ने, पानी जम्न नदिने आदि गर्न सक्ने उनले बताए। एकजनाले मात्रै घर सफा गरेर नपुग्ने उनले बताए। लामखुट्टे एक सयदेखि पाँच सय मिटरसम्म उडेर जान सक्छ। यो लामखुट्टेलाई हावाले उडाएर दुई तीन किलोमिटर परसम्म पनि पुर्‍याउन सक्छ।

यसले अझै केही समयसम्म महामारीको रुप लिने उनी बताउँछन्। स्वास्थ्यकर्मीहरुबाट यसको व्यवस्थापन भइरहको उनको भनाइ छ।

'हामीले व्यापक रुपमा चेतनामुलक कार्यक्रम पनि देशभर नै गरिरहेका छौँ। अबको एक महिनाभित्र यसका विरामी बढ्ने होइन घट्ने अवस्थामा आउने हाम्रो आशा छ', उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell