
लोकन्थली : मध्यपुरथिमि नगरपालिकाको वडा नं १ लोकन्थलीमा आज बिहान पुनःसडक भासिँदा ६ घर उच्च जोखिममा परेको छ।
मध्यपुरथिमि १, २ र ३ मा रहेको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गर्ने क्रममा गत ३ गते राति सडक भासिएपछि रोकथामका प्रयास भएपनि वर्षाक कारण फेरि सडक अवरुद्ध भएको हो।
पानीट्याङ्की निर्माणका लागि खाडल खन्दा ३ गते राति सडक भासिंदा १६ फिट चौडाइ रहेको करीब ४० मिटर कालोपत्र सडक अवरुद्ध भएको थियो। अहिले थप सडकमा क्षति पुग्ने जोखिममा रहेको छ।
सडक भासिँदा स्थानीय लक्ष्मणप्रसाद पौडेल, प्रेमबहादुर तामाङ, सन्तोष तामाङ, भरत पौडेल, कृष्णबहादुर थापा, मुकुन्द सापकोटा र कैलाश न्यौपानेको घर उच्च जोखिममा पारेको हो।
दुई वटा घरको जगसम्म सडक भासिंदा ती घरमा रहेका मानिस र सामान्यहरुलाई स्थान्तरण गरिएको छ।
खानेपानी समस्या समाधान गर्न सरकारको रु एक करोड ३२ लाखको लागतमा वडा नं १ को भिरालो सार्वजनिक जग्गामा पाँच लाख लिटर क्षमताको ट्याङ्की बनाउने क्रममा सो घटना भएको वडाध्यक्ष सुरज खड्काले जानकारी बताए। ३ गतेको सडक चर्काएको ठाउँमा रोकथामको प्रयास भइरहँदा त्यससँगै पश्चिमतर्फ पनि आज पुनः सडक भासिएको उनले बताए। उनले तत्कालै संरक्षणमा नलागे ठूलो जोखिम व्यहोर्नुपर्ने बताए।