
चितवन : गएराति जिल्लाका छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
पूर्वी चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो। रत्ननगर नगरपालिका वडा नम्बर ४ शिवचोकमा ना ७ ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट ५१ वर्षीय पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।
पैदलयात्रीलाई ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ। मृतकको नाम, थर, वर्तन खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतकको शव भरतपुर अस्पतालमा राखिएको छ। दुर्घटना राति ११:४० बजे भएको हो ।
त्यस्तै भरतपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २३ को कुमारीचोकमा ना २२ प ४०३ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ६० वर्षीया हरिकला विकलाई ठक्कर दिएको हो। विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार पर्सा जिल्ला औरही–४ का सरेन्द्र चौधरी गम्भीर घाइते भएका छन्। चौधरीको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए।