
काठमाडौं : फिल्म 'पानी फोटो' को शुभ मुहुर्त गरिएको छ। ललितपुरको बगलामुखी मन्दिरमा आइतबार बिहान शुभ मुहुर्त गर्दै निर्माण टिमले फिल्मको छायांकन समेत शुरु गरेको छ।
'पानी फोटो' मा खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहने छ। यही फिल्मबाट खगेन्द्रले निर्देशनमा डेब्यु गर्दैछन्। रविन्द्र बज्राचार्य र रोजिना सिटौलाको लगानीमा निर्माण हुने यस फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, आशान्त शर्मा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहनेछ ।
टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्म 'पानी फोटो'को कथा पनि खगेन्द्र आफैंले लेखेका हुन्। खगेन्द्रकै निर्देशनमा यसअघि 'पानी फोटो' नाटक गुरुकुलमा मञ्चन भइसकेको छ। फिल्मको छायांकन काठमाडौं, बर्दिया, स्याङजा र रोल्पा लगायतका स्थानमा हुने निर्माण टिमले बताएको छ।